परम्परागत संगीत विद्या नयाँ पुस्तामा हस्तान्तरण गरिँदै 

दोलखा — प्रत्येक साँझ केटाकेटीदेखि वृद्धहरु कला, संस्कृति र मठमन्दिरहरुले भरिएको दोलखा बजारको मध्ये भागमा अवस्थित एउटा पुरानो घरमा भेला हुन्छन् । कुमारीघरले परिचित त्यहाँ जम्मा भएकाहरु कसैले बाँसुरी र सनाही फुक्न थाल्छन, कसैले हार्मोनियम त कसैले तबला बजाउन थाल्छन् ।

परम्परागत संगीत विद्या नयाँ पुस्तामा हस्तान्तरण गरिँदै 

नेवारी संस्कृती र परम्परासँग सम्बन्ध राख्ने थरीथरीका बाजा बजाउने र सिक्नेहरुको जमघटका कारण कुमारीघरले नेवारी संगीत पाठशालाको पहिचान पनि पाउन थालेको छ ।


प्रत्येक वर्षको एकसाता भैरव—कुमारी जात्रा निकालिने उक्त घरमा २०७४ साल भदौ १० गतेदेखि बाजा बजाउन सिक्नेहरु साँझपख डेढघण्टा जम्मा हुन्छन् । दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी मन्दिरले प्रख्यात उक्त बजारमा वर्षभरी नेवारी संस्कृतीका जात्रा पर्वहरु भैरहन्छन् । जात्रापर्वहरुमा थरीथरी भाकाका बाजाहरु बजाउनुपर्छ । बाजा बजाउनेहरु पाउन छाडेकाले कतिपय मौलिक परम्पराहरु निरन्तर हुन छाडेपछि स्थानीयहरुले सांगितिक प्रशिक्षण दिनु पर्ने महशुस गरी छ महिने अभियान थालेका हुन् ।


दोलखाका नेवारी परम्पराअनुसार १३ थरीका धुनमा बाजा बजेको जीवित पुस्ताले सम्झेका छन् । जात्रापर्वमा बजाइने र भजनकिर्तनमा अलग राग र धुन बजाउन सक्ने संगीतकारहरुका मृत्यू भएपछि ।तीन किसिमका संगीतका धुनहरु त वर्तमान पुस्ताले थाहा पाउँदै लोप भएर गएका छन् । अहिले १० किसिमको बाजाका ताललाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षण सुरु गरिएको नेवा देय दबुका सचिव शान्त श्रेष्ठले बताए ।


दोलखामा देखाइने मौलिक जात्रा भैरव–कुमारीमा रातभर एकै व्यक्तिले ढोलकको ताललाई नरोकीकन बाजाउन सक्ने अद्भूत क्षेमता राख्नुपर्छ । खड्गजात्राको क्रममा बजाइने एकथरी बाजा बजाउन जान्नेहरु सीमित छन् । मन्दिर, टोल र डबलीहरुमा बिहान र साँझ १२ महिना हुने भजनकिर्तनहरु दोलखा बजारको नेवारी भाषा र परम्परा गाँसिएको अलग साहित्य र संगीत छन् । उक्त संस्कृतिक साहित्य र संगीतलाई पछ्याउनेहरु पनि कमी हुँदै गएको छ ।


दोलखाका अगुवा समाजसेवी आत्मकृष्ण श्रेष्ठले संस्कृति लोप हुनु भनेको दोलखा बजारको इतिहास र अस्तित्व लोप हुनु जस्तै भएकाले परम्परागत संगीतहरुको प्रशिक्षण कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । संस्कृतिक संगति पाठशालासहितको संग्राहलय निर्माण गर्न पहल थालिएको पनि उनले जानकारी दिए ।


प्रशिक्षर्थीहरुले सोमबार सीप प्रदर्शन गर्दै कार्यक्रममा बाजागाजामा निर्भर संस्कृति र परम्परा धान्नका लागि संगीतलाई निकै रुचीपूर्वक सिकिरहेको बताए । किशोर र युवा उमरेका सुप्रिम जोशी, मनिल श्रेष्ठ र दुर्गाबहादुर थामीले प्रशिक्षणबाट सांस्कृतिक परमम्परासँग आधरित बाजागाजा र सिर्जनाहरुको भित्री पक्षसम्म पुग्ने इच्छा जागेको बताए ।


नेवारी वाहुल्यता भएको दोलखा बजारमा थालिएको अभियानले महिलाले बाजा बजाउन हुन्न भन्ने स्थानीय परम्परागत मान्यता पनि तोडिएको छ । प्रशिक्षर्थीहरु बढिजसो केटी र वृद्धाहरु छन् । आयोजकका अनुसार अभिभावकहरुका बलजफतीमा सात जना केटीहरुले बीचैमा सिक्न छाडेका तीतो पक्ष पनि सीप प्रदर्शन कार्यक्रममा उजागर गरियो ।


काठमाडौंस्थित संस्था नेवा देय दबुको प्रयत्नमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा करिब ३० जना विभिन्न उमेर समुहका प्रशिक्षार्थी भने दिनहुँ सहभागी छन् । तालिमका लागि संगीत सामाग्री दोलखा बजारवासीहरुले सहयोग गरेका हुन् । हाल स्थानीय परम्परागत संगीतकर्मीहरु प्रेमबहादुर श्रेष्ठ र पूर्णनारायण श्रेष्ठले तालिम दिइरहेका छन् । थप प्रशिक्षणका लागि काठमाडौंबाट तीन जना संगीत प्रशिक्षक झिकाउने तयारी गरिएको छ ।


प्रकाशित : पुस ११, २०७४ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?