सरुवा रोग अस्पताल अझै ‘आइसोलेसन वार्ड’ विहीन

अतुल मिश्र

काठमाडौँ — सरुवा रोग हेर्ने मुलुककै एक मात्र केन्द्रीय स्तरको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अत्यन्त संक्रामक रोगका बिरामीलाई छुट्टै राखेर उपचार गरिने ‘आइसोलेसन वार्ड’ विहीन छ । 

सरुवा रोग अस्पताल अझै ‘आइसोलेसन वार्ड’ विहीन

अस्पतालमा करिब ६ वर्षयता आइसोलेसन वार्ड बनाउने चर्चा चलिरहे पनि सरकारले सञ्चालनमा ल्याउन सकेको छैन ।


‘इबोला संक्रमणको चर्चा–परिचर्चापछि आइसोलेसन वार्ड बनाउने प्रक्रिया चले पनि हालसम्म पूर्णता पाएन,’ अस्पतालका प्रमुख डा. शेरबहादुर पुन भन्छन्, ‘बाहिरी मुलुकबाट द्रुत गतिमा सर्ने प्राणघातक रोग आउन सक्ने जोखिम कायमै छ ।’


वर्षौंदेखि आइसोलेसन वार्डको अभाव खटकए पनि स्वास्थ्यमन्त्रीलगायत पदाधिकारीले चासो नदेखाउँदा मूर्त रुप लिन नसकेको अस्पतालका कर्मचारीहरूको गुनासो छ ।


विश्वमा देखिन थालेका विभिन्न संक्रामक रोग जैविक हतियारजस्तै रहेको औँल्याउँदै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पुर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘यस्ता संक्रामक रोग नेपालमा आए रोक्ने, अनुगमन र नियन्त्रण गर्ने प्रभावकारी संरचना छैन, यसबारे सरकारले समयमै सोच्नुपर्छ ।’


आइसोलेसन वार्ड हावा, शरीरका तरल पदार्थ, स्पर्श, ब्याक्टेरिया, भाइरस आदि माध्यमले बिरामीबाट स्वस्थ व्यक्तिमा रोग संक्रमण हुन नदिने उपयुक्त संरचना र उपकरणले सुसज्जित हुनुपर्छ ।


यस्तो वार्डमा बिरामीको ज्यान जोगाउन उपयुक्त चिकित्सकीय उपकरण, औषधिसहित २४ घन्टे विशेषज्ञ सेवासमेत हुनुपर्छ ।


विदेशमा कुनै नयाँ संक्रामक रोग फैलिँदा यहाँ आइसोलेसन वार्ड बनाउने चर्चा चल्दै आए पनि कागजमै सीमित हुने गरेको डा. पुनको गुनासो छ ।


‘कथंकदाचित् कुनै कडा प्रकारको सरुवा रोग आए कहाँ राखेर उपचार गर्ने र कसरी अन्य व्यक्तिमा संक्रमण हुन नदिने भन्नेमा जटिल समस्या छ,’ उनले भने ।


प्रकाशित : पुस ११, २०७४ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?