२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बर्दिया निकुञ्ज प्रमुखको विषयमा सचिव–महानिर्देशक विवाद 

काठमाडौँ — वन सचिव डा.युवकध्वज जीसीले उपसचिवमा बढुवा भएका प्रमोद भट्टराईलाई बर्दिया निकुञ्जको प्रमुख (चिफ वार्डेन)मा पदस्थापन गरेको झण्डै दुई महिना भयो । 

बर्दिया निकुञ्ज प्रमुखको विषयमा सचिव–महानिर्देशक विवाद 

पदस्थापनपछि पत्र लिएर भट्टराई निकुञ्ज व्यवस्थापन गर्ने मुख्य निकाय निकुञ्ज तथा वन्यजन्तु विभाग हाजिर भए । भट्टराई बर्दिया निकुञ्जको चिफ वार्डेनमा पदस्थापन भएकोबारे विभागका महानिर्देशक मनबहादुर खड्कालाई पत्तो थिएन । ‘जनरल फरेस्ट्री समूह’बाट सहायक वन अधिकृत रहेका भट्टराईले ‘वाईल्डलाईफ तथा नेशनलपार्क समूह’अन्तर्गत उपसचिवमा नाम निकालेका थिए । उपसचिवको दरबन्दी रहेको बर्दियामा लामो समयदेखि प्रमुख रिक्त रहेको र तलबै खान नपाएको भट्टराईको गुनासोपछि आफूले उनको पदस्थापन गरेको सचिव जीसीले कान्तिपुरलाई बताए ।


आफूलाई सुईको नदिई मन्त्रालयले नयाँ उपसचिव भट्टराईलाई बर्दियामा पदस्थापन गरेकोप्रति महानिर्देशक खड्काको चित्त बुझेन । किनभने विभागअन्तर्गत् अनुभवी र अवसर नपाएका वरिष्ठ उपसचिव अरु थुप्रै थिए । विभागका वरिष्ठ उपसचिवहरु गणेश पन्त, मनोज साहलगायत वर्षौदेखि दुर्गमको हिमाली निकुञ्जहरुमा खटिएका छन् । चोरी सिकार, वन्यजन्तु-मानव द्वन्द्व र अन्य व्यवस्थापनमा बर्दिया निकुञ्ज संवेदनशील भएकाले विगतमा पनि त्यहाँ वरिष्ठ उपसचिवमध्येबाट वार्डेन बनाइने गरिन्थ्यो । भट्टराईसँग निकुञ्ज/आरक्षको व्यवस्थापनको अनुभव शून्य छ । पहाड, हिमाल र तराईका निकुञ्जको व्यवस्थापनमा अनुभवी वेद ढकाल, हरीभद्र आचार्य र कमलजंग कुँवर पनि बर्दियाका लागि आकांक्षी थिए ।


हिमाली निकुञ्जमा रहेका पन्त र साहसहित अन्य उपसचिवहरुले न्याय नपाएको विषयमा विभाग-मन्त्रालयमा पटक-पटक आवाज पनि उठै आएको हो । त्यसैले महानिर्देशक खड्काले बर्दिया निकुञ्जमा उपसचिव मनोज साहलाई सरुवा गर्न चाहेका थिए । किनभने यसअघि पनि साहको नाम बर्दियाका लागि सिफारिस भएर पनि अन्तिममा काटिने गरेको थियो । उनी तीन वर्षदेखि दुर्गम मानिने मकालु-बरुण निकुञ्जको वार्डेनमा कार्यरत छन् । साहजस्तै पन्त पनि दुर्गम सूचीको सगरमाथा निकुञ्जमा कार्यरत छन् ।


मन्त्रालयले गरेको सरुवा न्यायोचित नभएको भन्दै महानिर्देशक खडकाले सचिव जीसीसमक्ष गुनासो मात्रै गरेनन्, आफूखुसी गरिएको सरुवा कार्यान्वयन नगर्ने अडान लिए । त्यसैले पदस्थापन पत्र हातमा लिएका भट्टराई दुई महिनासम्म बर्दिया निकुञ्जमा हाजिर हुन सकेका छैनन् । त्यहाँ सहायक वार्डेन अशोक भण्डारीले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका छन् । ‘पदस्थापन विवाद लम्बिएपछि’ भट्टराई भने बिदा लिएर भरतपुरस्थित घर बसेका छन् । सचिव जीसीले भट्टराईलाई अन्यत्रै पदस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । विभागबाट असहयोग हुने भएपछि भट्टराईले आफू जहाँसुकै काम गर्न तयार भएको सचिवलाई जनाउ दिएका छन् ।


मकालु बरुण निकुञ्जका वार्डेन साह भने यो पटक न्याय पाइएला भनेर ढुक्कसँग बसेका छन् । बर्दियामा सरुवा भएको खबर यसअघि धेरै पटक सुनेर पनि कार्यान्वयन नभएकाले उनले आफ्नो सरुवाबारे वास्ता गर्न छाडेको । ‘सरुवाको पत्र पाएको पनि छैन, मलाई विश्वास पनि लाग्दैन,’ उनले कान्तिपुरसित भने । सचिव जीसीले बर्दियामा अनुभवी र वरिष्ठ उपसचिवमध्येबाट पदस्थापन गरिने प्रक्रिया पनि अघि बढाइएको बताए । ‘अनुभवीलाई पठाउनुपर्छ भन्नेमा मेरो सहमति छ,’ उनले भने, ‘पहिला मैले छलफल गर्न खोजे पनि महानिर्देशक बाहिर भएकाले सम्भव भएको थिएन ।’ सचिव जीसी र महानिर्देशक खड्कासहित अन्य सहसचिव एउटै समयमा अलग-अलग कार्यक्रममा अमेरिका भ्रमणमा थिए ।


प्रकाशित : पुस १२, २०७४ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?