कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रानीपोखरी पुनर्निर्माण कार्य स्थगित

दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानरपालिकाले रानीपोखरीको पुनर्निर्माणको काम रोकेको छ ।  महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव, पुरातत्व विभागका महानिर्देशक र पुरातत्व विज्ञहरुसहितको बैठकले रानीपोखरी निर्माण कार्य रोक्ने सहमति गरेको हो । 

रानीपोखरी पुनर्निर्माण कार्य स्थगित

विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो ।

मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि बिहीबार बसेको बैठकले पोखरी पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।


समितिले १५ दिनभित्र कसरी, कुन स्वरुप, शैलीमा रानीपोखरी निर्माण गर्ने भन्ने सुझाव दिने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनले भने, 'आजदेखि रानीपोखरीको निर्माण कार्य स्थगित गरिएको छ । समितिले प्रतिवेदन दिएपछि प्रतिवेदनकै आधारमा पछि काम सुरु हुनेछ ।'


पछिल्लो समय काठमाडौं महानगरपालिकाले कंक्रिट हालेर काम अघि बढाएपछि पुरातात्विक सम्पदा विनाश भएको भन्दै चौतर्फी आलोचना भएको थियो । दुईदिन अघि मात्रै उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा काम रोक्न रानीपोखरीको गेटमा ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद झन् चर्किएको थियो ।

इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।

प्रकाशित : पुस १३, २०७४ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?