२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गाउँपालिकामा पराजित, समानुपातिकबाट सांसद

हरि गौतम

रुकुम (पूर्व) — भूमे गाउँपालिका–७, गुनामकी ढाँटी सुनार भनिने आशा स्वर्णकार नेकपा एमालेका तर्फबाट ५ नम्बर प्रदेशसभा सदस्य बन्दै छिन् । एमालेले समानुपातिक सूचीबाट उनलाई प्रदेशसभा सदस्य बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले केही दिनपछि उनलाई प्रदेशसभा सदस्य घोषणा गर्नेछ ।

गाउँपालिकामा पराजित, समानुपातिकबाट सांसद

पार्टीले निर्णय गरिसकेपछि उनी सांसद हुनेमा ढुक्क छिन् । उनै स्वर्णकार गत असार १४ गते भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पराजित भएकी थिइन् । भूमे गाउँपालिकामा नेकपा एमालका तर्फबाट उम्मेदवारी दिएकी उनी तेस्रो मात्र भइनन्, जमानत नै जफत भयो । स्वर्णकारको पक्षमा ४ सय ४२ मत मात्रै आएको थियो ।

उक्त गाउँपालिकामा खसेको ६ हजार १ सय ६९ मतको १० प्रतिशत मत उनको पक्षमा आएन । ६ सय १६ मत नपुगेपछि उनको जमानत जफत भएको थियो । माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकामा कांग्रेस दोस्रो बनेको थियो ।


गाउँपालिका अध्यक्षमा पराजित भए पनि प्रदेशसभा सदस्य पाएकी उनले राजनीतिको ठेगान नहुने प्रतिक्रिया दिइन् । ‘हो, मलाई पार्टीले जे गर भन्यो, त्यही गर्दै आएकी छु, स्थानीय तहमा भूमे गाउँपालिकाको अध्यक्षको टिकट दियो, चुनाव लडें र हारें पनि,’ उनले भनिन्, ‘अहिले पार्टीले प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ ।’


उनले प्रदेशसभा सदस्य हुनुलाई जिम्मेवारी पाएका रूपमा बुझेकी छन् । ‘पार्टीले जिम्मेवारी दिएको छ, खुसी पनि छु, चुनौती पनि छ, म लामो समयदेखि राजनीतिमै भएकीले चुनौती चिर्न सक्छु भन्नेमा ढुक्क छु,’ उनले भनिन् । उनले विशेष गरी पछाडि पारिएको क्षेत्र र समुदायका लागि आफू डटेर लड्ने बताइन् । ‘म पनि पछाडि पारिएको क्षेत्र र समुदायकै भएकाले मेरो विशेष प्राथमिकता त्यसैमा हुने भइहाल्यो,’ उनले भनिन्, ‘मेरो कार्यकालभरि उत्पीडनमा परेका र पारिएकाहरूको पक्षमा लड्नेछु ।’


२०२६ सालमा जन्मेकी सुनार सुरुदेखि नै एमालेको राजनीतिमा छिन् । अन्य कुनै भ्रातृ संघसंगठनमा आबद्ध नभई उनी २०४६ मा सीधै पार्टीको वडा कमिटीमा बसेकी थिइन् । त्यसयता उनी निरन्तर राजनीतिमा छिन् । महिला र दलित संगठनमा उनी क्रियाशील छिन् । हाल रुकुम पूर्वको जिल्ला उपसंयोजक, अखिल नेपाल महिला संघ र नेपाल जातीय उत्पीडित मुक्ति समाजको पनि केन्द्रीय सदस्य छिन् । सबै राजनीतिक दलका महिलानेत्रीहरूको साझा संगठन अन्तरपार्टी महिला सञ्जालमा पनि उनले काम गरेकी थिइन् । उनले साविकको रुकुम जिल्लामा दलित तथा महिला अधिकारकर्मीका रूपमा पनि राम्रो छवि बनाएकी छन् ।


प्रकाशित : पुस १४, २०७४ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?