तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न आयोगलाई आग्रह

घनश्याम गौतम

गुल्मी — एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले राष्ट्रियसभा निर्वाचन नभएसम्म ३३ प्रतिशत महिला सहभागिताको बाहनाबाजी गरेर निर्वाचन सकिएको एक महिना पुग्दा समेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगर्नु चिन्ताको विषय भएको बताएका छन् । 

प्रेस चौतारी गुल्मीले आइतबार तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकार, प्रधानमन्त्री, केही कानुनविद् र केही विश्लेषकले दिएको सल्लाह नेपालको लोकतन्त्रका लागि बिडम्बनापूर्ण भएको बताए । उनले निर्वाचन आयोगलाई तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न आग्रह गरे । ‘हामी चिन्तित छौं, अन्योलमा पनि परेका छौं,’ नवनिर्वाचित सांसद ज्ञवालीले भने, ‘निर्वाचन आयोग किन अलमलिएको छ, आयोगलाई के कुराले प्रभावित गरिरहेको छ ।’ निर्वाचन आयोगलाई आयोग जस्तै बन्न उनले सुझाव दिए । ‘उ स्वतन्त्र र संवैधानिक अंग हो,’ उनले थपे, ‘उसको स्वतन्त्रता, स्वायत्तता र स्वतन्त्र निर्णय क्षमतामाथि कतैबाट प्रश्न उठने अवस्था आउनु हुँदैन । तर पछिल्ला दिनमा आयोग आफैंले गरेका निर्णयबाट पछि हट्ने गरेकाले शंका र भ्रम बढेको छ ।'

Yamaha

सरकारले अहिले गरिरहेको अनेक बहानाबाजी ताजा जनादेश माथिको अपमान र संविधानको अपव्याख्या भएको उनको भनाइ छ । ‘अहिले राष्ट्रियसभा निर्वाचन नभइ प्रतिनिधिसभाको रिजल्ट निकाल्न मिल्दैन र प्रतिनिधिसभा रिजल्ट नआई नयाँ सरकार गठन हुन सक्दैन भनेर जे बाहनाबाजी गरिंदैछ, यो ताजा जनादेशविपरीत हो,’ उनले भने, ‘संविधानको अपव्याख्यामार्फत अन्योलता बढाउने काममा सरकार, प्रधानमन्त्री, केही सल्लाहकार र विश्लेषक लाग्नु बिडम्बनापूर्ण छ ।’

सत्ता लम्ब्याई रहन र यो बीचको संक्रमणकालको फाइदा उठाउँदै आफ्ना निहीत स्वार्थ पूरा गर्ने खालका अलोकतान्त्रिक काममा नलाग्न उनले सरकारलाई आग्रह पनि गरे ।

५० लाख जनताले मतदानबाट अनुमोदन गरिसकेकाले अब पार्टी एकता हुने नहुने भन्ने कुरा दुई पार्टीका अध्यक्ष र दुई पार्टीको विषय मात्र नभएको उनले जिकिर गरे । ‘प्रकृया अघि बढिसकेको छ,’, उनले भने, ‘केही काम भइसकेका छन, बाँकी टुङ्गिदैछन्, कसैले शंका नगरे हुन्छ, पार्टी एकता हुन्छ ।’ सरकार गठनअघि पार्टी एकताको पुरै खाका सार्वजनिक हुने उनले बताए ।

Esewa Pasal

प्रकाशित : पुस १६, २०७४ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रजनीकान्तले गरे नयाँ पार्टी बनाउने घोषणा

नयाँ दिल्ली — दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो प्रशंसकका अगाडि राजनीतिमा आउने घोषणा गरेका छन् । रजनीकान्तले तमिलनाडुमा अब हुने विधानसभा चुनावमा नयाँ पार्टी बनाएर भाग लिने बताएका हुन् ।

रजनीकान्तले आफू कायर नभएको बताउँदै जस्तोसुकै प्रतिकुल अवस्था आए पनि पछि नहट्ने दाबी गरे। आफ्नो छोटो भाषणमा उनले भने, 'तमिलनाडुमा लोकतन्त्रको अवस्था एकदमै दयनीय छ। त्यसलाई हटाउन सिस्टममा परिवर्तन आवश्यक छ।'

'अहिले हाम्रो राज्यको अवस्था निकै नाजुक छ। यस्तो अवस्थामा यदि म अगाडि नआउने हो भने त्यो मेरो लागि नै लाजमर्दो विषय हुन्छ। म राजनीतिमा आउने कुरा सिनेमा होइन साँचो हो,' राघवेंद्र कल्याण मण्डपममा प्रशंसकहरुको बाक्लो उपस्थितिबीच उनले भने, 'मैले गरेका वाचाहरु यदी तीन वर्ष भित्र पुरा गर्न सकिन भने म राजिनामा दिएर हिँड्छु।'

रजनीकान्तले आफ्ना समर्थकहरुलाई पनि राजनीतिमा होमिएर गाउँको गल्ली गल्लीमा जान आव्हान गरेका थिए।

प्रदेशको लोकप्रिय मुख्यमन्त्री जयललिताको निधन पछि त्यहाँको राजनीतिमा अस्थिरता आएको छ। जयललिताको निधन पछि नै रजनीकान्त राजनीतिमा आउन सक्ने अडकलवाजी भइरहेको थियो। ६७ वर्षिय रजनीकान्तले २०२१ मा हुने विधानसभा चुनावमा उनको नयाँ पार्टीले सबै २३४ सीटमा उम्मेदवारी दिने पनि घोषणा गरे।

तामिल नाडुको राजनीतिमा पहिलेदेखि नै सिनेमाका चर्चित अभिनेताहरुको दबदबा रहँदै आएको छ। स्व जयललिता पनि आफ्नो समयको चर्चित अभिनेत्री थिइन्। त्यसैले पनि उनको स्थान लिनलाई सिनेमाका पर्दामा संधै जनताको रक्षक बनेर देखा पर्ने सुपरस्टार रजनीकान्त सक्षम हुने विश्वास आम मानिसलाई छ।

प्रकाशित : पुस १६, २०७४ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT