राजपाले सच्यायो समानुपातिक सूची

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूचीमा त्रुटि सच्याएर मंगलबार निर्वाचन आयोगलाई बुझाएको छ ।

राजपाले सच्यायो समानुपातिक सूची

नयाँ सूचीमा बबिता कुमारी, निलमदेवी भूमिहारिन, अञ्जुकुमारी, डा. डिम्पलकुमारी झा, निरा कुमारी साह, अलका कुमारी झा, रिना यादव, रामनरेश राय, जानकीशरण साह र नेत्रविक्रम शाह अटाएका छन् ।

प्रदेश प्रमुखको नियुक्तिमा भएको ढिलाइका विषयमा मंगलबार प्रमुख पाँच दलका शीर्ष नेतासँगको छलफलमा सहभागी हुन आयोग पुगेका राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले नयाँ सूची बुझाएका हुन् । ‘२५ पुसमै माइन्युट गरेरै आयोगले भनेअनुसार सूची तयार पार्ने जिम्मा महन्थजीलाई दिएका थियौं, त्यसैअनुसार सच्याएर मंगलबार बुझाइएको हो,’ राजपा उच्चस्रोतले भन्यो ।


यसअघि बुझाएको सूचीमा ‘क्रम’ मिचिएको भन्दै आयोगले सूची नसच्याए परिणाम रोक्ने चेतावनी दिएको थियो । त्यसलगत्तै राजपाका नेताहरु गत शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए । राजपाले आयोगसँग सूची सच्याउन केही दिन समय मागेको थियो । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो । समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ ।


प्रदेश २ मा राजपाले पाउने १० सिटमा यसअघि पठाइएको नाममा बन्दसूचीको क्रम संख्या ६ सम्म क्रमअनुसार नै नाम पठाइए पनि त्यसबाहेक अन्य चार जनाको नाममा भने क्रम मिचिएको थियो । २२ नम्बरको विभा ठाकुर, २७ क्रमसूचीमा रहेको रामप्रवेश वैठा, २९ क्रमसूचीमा रहेको लैला खातुन र बन्दसूचीको ३४ नम्बरमा रहेको पुनम यादवको नाम क्रम मिचेर पार्टीले आयोगमा बुझाएको थियो । राजपाले सूची सच्याउँदा यी चार जनाको नाम हटाएको छ ।


निर्वाचनअघि बुझाइएको सूचीमा पनि राजपाले क्लस्टर मिलाएको थिएन । निर्वाचनअघि बुझाएको बन्दसूची ‘क्लस्टर’मा बेवास्ता गरेको राजपाले ‘क्रम’समेत मिच्दै आयोगले भने जसरी बुझाउन आनाकानी गर्दै आएको थियो । समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो ।

प्रकाशित : माघ २, २०७४ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?