गृहजिल्लामा मुख्यमन्त्रीले भने– ‘राजधानी सर्दैन, ढुक्क हुनुस्’

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ का  मुख्यमन्त्री डोरमणि पौडेलले गृह जिल्ला मकनापुरवासीलाई राजधानी नसर्ने भन्दै ‘ढुक्क हुन’ आग्रह गरेका छन् ।

गृहजिल्लामा मुख्यमन्त्रीले भने– ‘राजधानी सर्दैन, ढुक्क हुनुस्’

हेटौंडा उपमहानरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै उनले राजधानीबारे धेरै टिकाटिप्पणी जरुरी नभएको तर्क गरे । ‘अस्थायी राजधानी नै स्थायी हुने हो, राजधानी सर्दैन भन्ने कुरामा म विश्वस्त तुल्याउन चाहन्छु,’ सोही नगरपालिकाका पूर्व मेयर समेत रहेका पौडेलले भने, ‘केसैले राजधानी मागेको नै छैन, औपचारिक छलफलमा यो आएको नै छैन, हामीलाई चाहिन्छ भन्न र सार्नु हुदैन भनेर धेरै हल्ला गर्नु आवश्यक छैन ।’

उनले भौतिक पूर्वाधार, संरचनामा धेरै खर्च भइसकेको भन्दै सबै हिसाबले हेटौंडा उपयुक्त भएको बताए । शनिबार धुलिखेल नगरपालिको कार्यक्रममा सहभागी भएका उनले काभ्रेमा राजधानी राख्नुपर्छ भन्ने माग पनि आएकोले विधी र प्रकृयाबाट सबै कुरा टुंगिने कुरा राखेको बताए ।

‘धेरै साथीको कुरा काभ्रेमा राजधानी सार्नपर्छ भन्ने रह्यो,’ पौडेले भने, ‘संविधानमा भएको व्यवस्था अनुसार विधी, प्रकृयाबाट सबै कुरा टुंगो लाग्छ भन्ने कुरा राखेको छु ।’

प्रदेशको अधिकार र स्रोत नै अस्पष्ट भएको भन्दै केही समय ऐन कानुन निर्माणमा समय खर्च हुने बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास निर्माणका काम अघि बढ्ने दाबी गरे ।

उनले कर्मचारीले प्रदेशमा काम गर्न नचाहेको स्विकार्दै सिंहदरबारकै पेरिफेरीमा काम गर्ने मानसिकतामा रहेको आरोप समेत लगाए । केन्द्रीय राजधानीसहितको प्रदेश भएकाले चुनौती र अवसर दुबै रहेको जानकारी दिदै उनले नमुना प्रदेशको रुपमा विकास गर्ने अठोट व्यक्त गरे । उनले उपलव्ध श्रोतको अधिकतम उपयोग गरेर प्रत्येक जिल्लामा नमुना शहर बसाउने उद्धघोष समेत गरेका छन् ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौंडालाई देशकै उत्कृष्ट नगर बनाउने अठोट गरे । उपप्रमुख मिना लामाले प्रदेशस्तरीय नमुना शहर निर्माणको अवसर हेटौंडाले पाउने विश्वास व्यक्त गरिन् ।


प्रकाशित : फाल्गुन ६, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?