बलेवा विमानस्थलमा व्यवसायिक उडान सुरु

प्रकाश बराल

बागलुङ — परीक्षण उडान सफल भएको ४ दिनपछि बागलुङको बलेवा विमानस्थलमा व्यवसायिक उडान सुरु भएको छ । शुक्रबार तारा एअरले १५ यात्रु बोकेर बलेवामा अवतरण गरेको हो ।

बलेवा विमानस्थलमा व्यवसायिक उडान सुरु

पहिलो चरणमा नेपाल एयरलाइन्स र ताराले काठमाडौंदेखि उडान भर्नेछन् । यात्रुको आवश्यकताको आधारमा अन्य क्षेत्रमा पनि जहाज सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अगुवाईमा नेपाल नागरिक उड्ययन प्राधिकरणसँग सम्झौता गरेपछि जहाज सञ्चालन भएको हो । पहिलोपटक जहाज चढेर आएका यात्रीलाई स्थानीयले फूलमाला र खादाले सम्मान गरे । स्वागतका लागि पञ्चेबाजा समेत बजाइएको थियो ।


दिउँसो पौने १ बजे बलेवा आइपुगेको जहाजका चालक क्याप्टेन सञ्जिव श्रेष्ठले आकासमा ३८ मिनेट उडेर आइपुगेको बताए । ‘मौसम पनि सफा भएकोले आजको उडान निकै आनन्ददायी भयो,’ श्रेष्ठले भने । बागलुङबासीले २६ वर्षपछि टिकट काटेर जहाजको यात्रा गर्दै घरै आउन पाएकोमा खुसीयाली साटेका छन् । जहाज चढेर आएका बागलुङ नगरपालिका ३ का कृष्णप्रसाद सापकोटाले दिनभरको बाटो एक घण्टामा छोटिएको बताए ।


बिरामी भएर उपचार गर्न गएकाहरुले बढी सेवा पाउन सक्ने उनले बताए । बिरामीलाई १२ घण्टा लामो यात्रा कष्टकर हुनेमा अब सहज हुने उनको भनाइ छ । साथै कुनै अप्ठ्यारो परेर तत्काल जानुपर्ने भएमा पनि सहज हुने आशा व्यक्त गरे । शुक्रबार धेरै मानिस जहाज आएको हेर्न पुगेका थिए । बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले यात्रीहरुलाई अबिर, फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । शुक्रवारै फिर्ता भएको जहाजमा काठमाडौं जाने यात्रीलाई पनि नगरपालिकाले बिदाई गरेको थियो ।


जहाजमा चढेर जाने आउने यात्रीलाई सदरमुकामदेखि स्थानीय यातायात व्यवसायीले जिप मार्फत निःशुल्क आउजाउको व्यवस्थापन गरिदिएका छन् । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले यो विमानस्थल निर्माण गरेका थिए । हाल यो विमानस्थलको धावनमार्ग १ हजार १ सय मिटर लामो छ । बागलुङ नगरपालिका र नेपाल नागरिक उड्ययन प्राधिकरणबीचको सम्झौता अनुसार सातामा दुई उडान हुने छन् । हरेक आइतबार र बिहीबार उडानको तालिका बनाइएको हो । बागलुङमा चैतेदशैं मेला लागेकोले पहिलो उडान शुक्रबार पनि भएको हो ।


स्थानीयलाई उत्साह थप्न जिल्लाबाट संघीय संसदमा निर्वाचित क्षेत्र नं. १ का सूर्य पाठक र क्षेत्र नं. २ का निर्वाचित देवेन्द्र पौडेल पनि जहाजमा आएका थिए । उनीहरुले नियमित जहाज सञ्चालन गर्न पहल गरेको नगरपालिकालाई धन्यवाद दिए ।


प्रकाशित : चैत्र ९, २०७४ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?