कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

देउडादेखि हुड्कासम्म

विमल खतिवडा

अत्तरिया (कैलाली) — पूर्वको उँभौली–उँधौली होस् या सुदूरपश्चिमको देउडा, गौरा, हुड्का, यी नाचले समुदायलाई मात्र चिनाएका छैनन्, समग्र क्षेत्रको परिचय दिएका छन् ।

देउडादेखि हुड्कासम्म

पछिल्लो समय समुदायको पहिचान झल्कने गीतसंगीतसहितको कला संस्कृति हराउँदै गएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गर्दै आएका छन् ।


अधिकांशको बुझाइ पश्चिमेली गीतसंगीतले नेपाली कला संस्कृतिलाई ओझेल पार्ने काम गरेको छ । पश्चिमेली संस्कृतिको दबदबा जब बढ्न थाल्यो । विकट बस्तीमा घन्किने लोकभाका ओझेल पर्दै गए ।

त्यही भएर मौलिकता र समुदायको परिचय झल्कने गीतसंगीतको जगेर्ना, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले ७ वटै प्रदेशमा पुगेर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने कार्य जारी राखेको छ । त्यहीअन्तर्गत प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकसहितको टोली नयाँ वर्षको पहिलो दिन मुगुको रारा पुग्यो । रसिकले कर्णाली प्रदेशको संस्कृति प्रत्यक्ष हेर्न पाए । त्यहाँको कला संस्कृतिले उनको ध्यान खिच्यो ।

कर्णाली रारा पर्यटन वर्ष, २०७५ को उपलक्ष्यमा तालकिनारमा आयोजित कार्यक्रममा विभिन्न समुदायले कला संस्कृति झल्कने गीतसंगीतसहितको झाँकी प्रदर्शन गरे । त्यसको अगुवाइ रसिकले गरेका थिए । ‘अल्पसंख्यक समुदायको संख्या घट्दै गएको छ,’ रसिकले भने, ‘बाहय संस्कृतिको हस्तक्षेप पनि बढ्दै गएको छ, समयमै समुदायले आआफ्ना कलासंस्कृतिको संरक्षण नगरे लोप भएर जाने निश्चित छ ।’ उनले प्रतिष्ठानका शाखा ७ वटै प्रदेशमा खोल्न सकिए अझै राम्रो हुने बताए ।

‘अहिले मौलिकता हराउँदै गएजस्तो भएको छ,’ उनले भने, ‘यसलाई हराउन दिनुभएन, यसको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक प्रदेशमा पुगेर त्यहाँका

समुदायले देखाउने गीतसंगीत र कला संस्कृतिलाई समेटेर सांस्कृतिक कार्यक्रम गर्दै आएका छौं ।’ उनले कर्णाली प्रदेशमा आफ्नो कला संस्कृतिप्रति स्थानीयको क्रेज देख्दा खुसी लागेको सुनाए । तर अन्यत्र भने पुराना लोकभाकालाई रिमिक्स गरेर गाउने गरेको पाइएको उनले बताए । राराबाट टोली कैलालीको अत्तरिया पुग्यो । त्यहाँ कर्णाली प्रदेशको जस्तो ठेट भाकामा गीत गाउने कमै भेटिए ।

तर आफ्नो समुदायले गाउँदै आएको गीतहरूको क्रेज युवापुस्तामा बढी देखियो । अत्तरियाको पूर्व रोडमा रहेको योगा हलमा आयोजित प्रतिष्ठानले ७ नम्बर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरेर दर्शकलाई एउटै मञ्चमा देउडादेखि हुडका नृत्य हेर्ने अवसर प्रदान गरायो । नेपाल राष्ट्रिय लोक सांस्कृतिक संघ ७ नम्बर प्रदेश अत्तरियाले स्थानीय तहमा व्यवस्थापन गरेको कार्यक्रमको सुरुवात गौरी भट्टराईले देउडा गीतमार्फत गरिन् ।

ललिता ऐर, सुरेश चोखालले देउडा गीत गाए पनि सुनीता साउदको राईझुमा बोलको देउडाले सबैको ध्यान तान्यो । सबैको ध्यान तान्ने काम भने सुदूरपश्चिमको चर्चित गौरा नृत्यले गर्‍यो । मौरी फाँट, कञ्चनपुरबाट आएका लालीगुराँस आमा समूहका नौ कलाकार सबैको

नजरमा परे ।

ईश्वर नाच्या महेश्वर नाच्या

नाच हो खेल हो, लोली गमरादेवी

धै तेरो कसो नाच, माथकी घुंगटिया

बिजाई मेरी लोली नाचैन आउनी

नाच हो खेल हो, लोली गमरादेवी

प्रस्तुत गीतमा भागरथी भट्ट र जानकी भट्टले स्वर दिए । सारीमा सजिएर अन्य महिलाले दर्शक दीर्घामा घुम्दै नाचे । उनीहरूले महिलाका कथाव्यथा पोखे । गौरा नृत्य र तारा फुलाराको देउडा गीत पनि प्रशंसित भए ।

दुर्गालक्ष्मी उमाविका विद्यार्थीको हुड्केली नृत्यमा रमाउने दर्शकको कमी थिएन । पुष्पाञ्जली माविका विद्यार्थीले देउडा गीतमा नाच्दै गर्मी बिर्साउने काम गरे । सरोज भट्ट पुन देउडा गीत गाउन स्टेजमा उक्लिए भने यज्ञ कँडेलले थारु भेषमा देखा पर्दै थारू भाषामै अभिनय गर्दै दर्शकलाई हँसाए ।

संस्कृतिकर्मी लीलाधर बाँस्कोटाले ७ नम्बर प्रदेशको कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।

प्रमुख अतिथिको रूपमा ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी उपस्थित थिए । कार्यक्रममा प्राज्ञ परिषद सदस्य उदय श्रेष्ठ, सांसद एवं कवि डा. विजय सुब्बा, कविहरू राबत र स्वप्नील स्मृति पनि सहभागी थिए ।


प्रकाशित : वैशाख ७, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?