१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राइनासकोटमा फिल्मकर्मी

आश गुरुङ

लमजुङ — प्राकृतिक सम्पदा, ऐतिहासिक विषयवस्तु र ग्रामीण परिवेशलाई समेटेर फिल्म निर्माण गर्नुपर्ने फिल्मकर्मीले जोड दिएका छन् । पछिल्लो समय दर्शकले सहरका कथाभन्दा ग्रामीण भेगका कथालाई मन पराउने गरेको उनीहरूको भनाइ छ ।

राइनासकोटमा फिल्मकर्मी

ऐतिहासिक एवं पर्यटकीय गाउँ राइनासकोटमा जमघट भएका फिल्मकर्मीले ग्रामीण भेगमा निर्माण गरिएका फिल्को स्वाद नै बेग्लै हुने भन्दै यसतर्फ ध्यान जानुपर्ने बताए ।

‘ग्रामीण भेगलाई आधार बनाएर फिल्म निर्माण गर्दा फिल्ममा ग्रामीण स्वाद आउँछ । अर्कोतर्फ त्यसले गाउँको प्रचारप्रसारमा टेवा पुग्छ,’ राइनासकोटमा आयोजित फिल्मसँग सम्बन्धित अन्तर्क्रिया नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले भने । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको राइनासकोटजस्ता होमस्टे गाउँमा फिल्म निर्माण सकिने र यसका लागि सरोकारवालाले पहल थाल्न उनले अनुरोध गरे । राइनासकोट फिल्मी क्षेत्र बन्न सक्ने उनले दाबी गरे ।

कलाकार एवं निर्माता केशव भट्टराईले राजा द्रव्य शाहको भग्नावशेषसमेत रहेको राइनासकोट क्षेत्र फिल्म छायांकनका लागि ‘फूल प्याकेज’ हुन सक्ने दाबी गरे ।

अभिनेता रवीन्द्र खड्काले फिल्म छायांकनका लागि राजधानीबाट नजिक र प्राकृतिक दृश्य देखिने स्थल छान्दा राइनासकोट उत्तम रोजाइ बन्ने प्रतिक्रिया दिए ।

बुधबार आयोजित अन्तरक्रियामा छायांकार सञ्जय लामा, द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक सम्राट् शाक्य, प्रोडक्सन कन्ट्रोलर अरुण रेग्मी, सञ्चारकर्मी सुदर्शन आचार्यलगायतले फिल्ममा अब ग्रामीण भेग, पर्यटन र होमस्टेलाई समेटिनुपर्नेमा जोड दिएका थिए ।

राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले राइनास क्षेत्र फिल्म छायांकनका लागि राम्रो स्थल भएको बताए । ‘हामी आवश्यक पूर्वाधार निर्माणको क्रममै भएपछि गाउँसम्म सडक, बिजुली, पानी पुगेकाले सजिलै होला,’ उनले भने ।

कार्यक्रम संयोजक स्वस्तिका चिलुवालले राइनासलाई फिल्म सिटी निर्माणका लागि आवश्यक

पूर्वाधार निर्माण, फिल्मसम्बन्धी गतिविधि सञ्चालन तथा प्रचारप्रसारका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

फिल्मकर्मीले राइनासकोट हुँदै प्यारजुङ र प्यारजुङदेखि मोहोरियाकोटसम्मका क्षेत्रको अध्ययन अवलोकन गरेको उनले बताइन् । राइनासका अगुवा तुलसीनारायण श्रेष्ठले फिल्म निर्माणका लागि नगरपालिकाका स्थानीयले भरपुर सहयोग गर्ने बताए ।

‘पाहुनालाई हामी देउतासमान ठान्छौं । हामी भनेर आउने जोकोही भए पनि हामी स्वागत सम्मान गर्दै सहयोग गर्छौं,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?