दीपक मनाङे डिल्लीबजार कारगार चलान

जनकराज सापकोटा

काठमाडौँ — हिजो राति पक्राउ परेका गुण्डा नाईके दीपक मनाङेको बाँकी कैद भुक्तान गर्नका लागि प्रहरीले डिल्लीबजार कारगार चलान गरेको छ ।

दीपक मनाङे डिल्लीबजार कारगार चलान

प्रहरी परिसर काठमाडौंले फरार रहँदै आएका मनाङेलाई बिहिबार राति स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको थियो ।


प्रदेश सभामा मनाङबाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका उनी १२ वर्ष अघिको एक ज्यान मार्ने उद्योगका फरार अभियुक्त हुन् । २०६१ बैशाख ३१ गते महाराजगंजको एक चिनियाँ रेस्टुरेन्टमा अर्का गुन्डा नाईके चक्रे मिलनको बायाँ हातमा धारिलो हतियार प्रहार गरेको मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएको थियो ।


मनाङेले यसअघि नै दुई वर्ष जेल बसिसकेका हुनाले अब बाँकी तीन वर्ष (२०७८ बैशाख ६ गतेसम्म) कैद सजाय भुक्तान गर्नुपर्ने प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए ।


प्रहरी स्रोतका अनुसार पछिल्लो केही साता यता मनाङे प्रहरीलाई छक्काउँदै हेटौंडा, नुवाकोट र धादिङमा लुक्दै हिँडिरहेका थिए । स्रोतका अनुसार प्रहरी परिसर काठमाडौंले केही दिन अघि पाँचजनाको टोली मनाङेलाई पक्राउ गर्न नुवाकोट खटाएको थियो ।

तीन दिन नुवाकोट बसेर प्रहरीको टोली रित्तो फर्केको थियो भने मनाङे प्रहरीलाई छक्काएर काठमाडौं छिरेका थिए ।

प्रकाशित : वैशाख ७, २०७५ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?