२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राजपाले स्थापना दिवस मनायो

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले शुक्रबार आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । ६ मधेसकेन्द्रित दल मिलेर गत वर्ष वैशाख ७ कै दिनमा राजपा गठन गरेका थिए । 

राजपाले स्थापना दिवस मनायो

नेता महन्थ ठाकुरको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरदसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो ।


राजपा नेता महतोले जनभावनाअनुसार ६ पार्टी एक भए पनि संगठनलाई अझै एकीकृत गर्न बाँकी रहेको भन्दै आगामी वर्ष संगठन र राजनीतिक मुद्दालाई प्रभावकारी बनाउने प्रण स्थापना दिवसमा गरिएको बताए । ‘गाउँदेखि केन्द्रसम्मै संगठनलाई अझै एकीकृत र संगठित गर्नुपर्ने काम बाँकी छ,’ उनले भने, ‘दोस्रो संविधान संशोधनको मुद्दालाई सदनमा समेत प्रभावकारी बनाउने काम हामी गर्नेछौं ।’ उनले प्रदेश र संघीय संसद्मा संविधान संशोधनको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाइने बताए । ‘जुन मुद्दाका लागि एकता हामीले गर्‍यौं, त्यही मुद्दालाई छाड्ने कुरा हुन्न । सम्पूर्ण तागत र क्षमताका साथ संविधान संशोधनको मुद्दा अघि बढाउने छौं,’ महतोले भने ।


स्थापना दिवसमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, मानव अधिकारकर्मी, कूटनीतिक नियोग, न्यायिक तथा सुरक्षा निकायका अधिकारीहरू उपस्थित थिए । माओवादी केन्द्रबाट भने कुनै पनि नेता उपस्थित नभएको राजपा महासचिव केशव झाले बताए । राजपा संयोजक ठाकुर भने उपचारका लागि नयाँदिल्लीमा छन् । उनीबाहेक अध्यक्ष मण्डलका सबै सदस्य स्थापना दिवसमा सहभागी थिए ।


असन्तुष्टहरूले खोले छुट्टै पार्टी

स्थापना दिवसकै दिनमा राजपाका असन्तुष्ट नेताहरूले छुट्टै पार्टी खोलेका छन् । राजपा उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) राखिएको छ । यादवसहित ३३ केन्द्रीय सदस्य नयाँ पार्टीमा समावेश भएको दाबी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरिएको थियो ।


पत्रकार सम्मेलनमा यादवको संयोजकत्वमा पार्टीको ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणासमेत गरियो । असन्तुष्टहरूले राजपाका अध्यक्ष मण्डलका सदस्यहरूले पार्टीलाई अलोकतान्त्रिक पद्धतिबाट सञ्चालन गरेको र संविधान संशोधनको एजेन्डा छाडेकाले नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । संयोजक यादवले नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक दृष्टिकोण अंगिकार गरेको बताए ।

प्रकाशित : वैशाख ७, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?