अनियमितता गर्ने डिएफओद्वय घिमिरे र ठाकुर तानिए

बारामा ज्ञानेन्द्र मिश्र र रामेछापमा शम्भू तिवारीलाई पठाइयो 
अब्दुल्लाह मियाँ

काठमाडौँ — बाराको सहजनाथ साझेदारी वन र अन्य वनको काठ हिनामिनामा संलग्न ठहरिएका जिल्ला वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरेलाई काठमाडौं तानेर उनका ठाउँमा उपसचिव ज्ञानेन्द्र मिश्रलाई पठाइएको छ । 

अनियमितता गर्ने डिएफओद्वय घिमिरे र ठाकुर तानिए

वन तथा वातावरण मन्त्रालयले घिमिरेलाई फिर्ता बोलाएर सोमबार मिश्रलाई पठाउने निर्णय गरेको हो । मिश्रले केही दिनमै बारामा गएर जिम्मेवारी सम्हाल्ने प्रतिक्रिया दिए । मिश्र स्वच्छ छविका मानिन्छन् ।


मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल नेतृत्वको कार्यदलले काठ हिनामिनामा वन अधिकृत (डीएफओ) भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृतद्वय अमरदेवप्रसाद यादव, विन्देश्वरप्रसाद पटेल र रेन्जरहरुको प्रत्यक्ष संलग्नता देखिएको भन्दै उनीहरुलाई तत्काल त्यहाँबाट हटाउन मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।


कार्यदलले बारामा काठ र राजश्व हिनामिनामा तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारीको संलग्नता देखिएकाले कर्मचारीको ‘सेटै फेर्नुपर्ने’ समितिको सुझाव छ । सबै कर्मचारीकै मिलेमतोमा करिब दुई करोड रुपैयाँको काठ हिनामिना भएको, जथाभावी रुख काटेर भारततिर निकासी गर्न सहयोग गरेको र स्थानीय समितिलाई बिनाप्रतिस्पर्धा लाखौं घनफिट काठ बिक्री गरी राजश्व हिनामिना गरेको उनीहरुमाथि आरोप लगाइएको छ ।


करोडौंको क्षति भएपछि सहजनाथ साझेदारी वन व्यवस्थापन समितिले दोषीमाथि कारबाही गर्न करिब डेढ महिनाअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गराएको थियो । केही दिनअघि वनमन्त्री बस्नेतले ‘अनियमितता’ गर्ने जुनसुकै कर्मचारीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।


यसैबीच, रामेछापमा खयरकाण्डमा मुछिएका उपसचिव रामविचारी ठाकुरलाई फिर्ता बोलाएर उनको ठाउँमा उपसचिव शम्भू तिवारीलाई खटाइएको छ । निजी आवादीको खयर निकासी गर्नेक्रममा ठाकुरले १३ लाख रुपैयाँ घूस लिएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?