२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

नीति तथा कार्यक्रमले समृद्धिको ढोका खोल्यो: सरकार

विपक्षी भन्छ– नीति तथा कार्यक्रममा पञ्चवर्षीय योजनाजस्तो

काठमाडौँ — ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले ऊर्जा क्रान्तिको ढोका खुलेको उनले बताए । 

नीति तथा कार्यक्रमले समृद्धिको ढोका खोल्यो: सरकार

‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र १५ हजार मेघावट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले बृहत्त योजनाहरु यसै वर्षभित्र सूरु गर्ने भएको छ,’ रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पुनले भने, ‘तीन वर्षमा तीन हजार, ५ वर्षभित्र १० हजार र १० वर्षभित्र १५ हजार मेघावट विद्युत निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’


ऊर्जामा आधुनिकीकरण गरेर आगामी ३ वर्षभित्र भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गर्नेतर्फ मन्त्रालय जुटिसकेको पनि उनले जनाए । उनले थपे, ‘विद्युतीय चुल्हो, विद्युतीय सवारीहरुको खरिदजस्ता कामहरु गर्ने र ब्यापार घाटालाई प्रतिस्थापन गर्नेमा सरकारको तयारी रहेको छ, हामी त्यही अनुार अघि बढिरहेका छौं।’


सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले नयाँ आशा जगाएको उनको विश्वास छ । मन्त्री पुनले भने,‘नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको छ, संसारमा भएको विकास निश्चित व्यक्तिको हातमा परेको ईतिहाँस छ, हाम्रो देशको विकास र समृद्धिले गरिब जनताहरुको जीवनलाई सम्बोधन गर्नेछ, हाम्रो विकासको मोडल गरिब, निमुखा जनतातर्फ बढि केन्द्रित हुनेछ, यो नीति तथा कार्यक्रम सुझबुझकासाथ नै आएको छ ।’


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु प्रचारमुखी नरहेको स्पष्ट पारे । उनले भने, ‘हामीले वास्तविक धरातलमा उभिएर कार्यक्रमहरु ल्याएका छौं।’ उनले आफूपनि नगर्ने अनि अरुले राम्रो काम गर्दापनि सहयोग नगर्ने कांग्रेसको चरित्र देखिएको आरोप लगाए ।


०५१ सालमा मनमोहन अधिकारीले आफ्नो गाउँ आँफै बनाउँ भनेर कार्यक्रम ल्याउँदा पनि विरोध गरिएको स्मरण गर्दै मन्त्री महासेठले आफूहरुले यसपटकपनि राम्रा कार्यक्रमहरु ल्याएको दाबी गरे । उनले भने, ‘हिजोको चाइना आज कहाँ पुग्यो ? हेर्नुहोस् त, सिंगापुर कहाँबाट कहाँ पुग्यो ? काम गर्नको लागि ईच्छाशक्ति हुनुपर्छ, हो, त्यो ईच्छाशक्ति हामीमा छ, हामीले धरातलमै टेकेर कार्यक्रमहरु ल्याएका छौं, ती सबै कुराहरु ‘टाईम–फ्रेम’भित्रै पूरा गर्छौं।’


मन्त्री महासेठले ५ वर्षभित्र दोहोर अंकको आर्थिक वृद्धि हासिल गरेरै छाड्ने उदघोष गरे । उनले भने,‘चाहे हाईडा्रेपावर होस्, वा भौतिक पूर्वाधारकै कुरा होस्, हामी सबै आयोजनाहरु पूरा गर्छौं, पैसाको अभाव छैन, सही अर्थमा काम गर्ने हो, जनताका सपनाहरु पूरा गर्छौं।’


प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारे । उनले भने, ‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५/१० वर्षे कार्यक्रमहरु देखिएको छ।’ महतले भने, ‘सरकारको यो नीति तथा कार्यक्रम मुल चरित्रभन्दा बाहिरको छ, ५ वर्षका लक्ष्यहरु समावेश गरिएका छन्, तर लक्ष्य हाँसिल गर्ने आधारहरु छैन्।’


पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले अहिलेको नीति तथा कार्यक्रमले ‘ड्रिमिङ् टार्गेट्स राखेको बताए । उनले थपे, ‘तर कार्यान्वयनको योजना छैन, आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउँछौं भनिएको छ, त्यसको लागि वर्षमा १५ प्रतिशतको आर्थिक वृद्धि हुनुपर्छ, यो दुनियाँमै कहीँपनि भएको छैन, बढिमा भयो भने ७ देखि ८ प्रतिशतमात्रै हो।’

प्रकाशित : जेष्ठ ८, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?