१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दाङमा झाडापखाला अझै नियन्त्रणमा आएन

दुर्गालाल केसी

शान्तिनगर (दाङ) — शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार बिहानदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार पनि बिहानैदेखि उपचारका लागि बिरामी आउन थालेका छन् । बिहान ८ बजेसम्म ४४ जना नयाँ बिरामी थपिएको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरी पुनले बताए ।  

दाङमा झाडापखाला अझै नियन्त्रणमा आएन

आइतबार राति सम्म १ हजार बढी बिरामीको उपचार भएको थियो । गाउँबाट बिरामी लिन तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । बिरामी हुने क्रम बढेपछि स्थानीय वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि बन्द गरिएको छ ।

माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदुषण भएपछि ३ र ४ नम्बर वडामा झाडापखाला फैलिएको हो । पखालाबाट वडा नम्बर ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरु बढी प्रभावित भएको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए । खानेपानीको विकल्प नभएकाले प्रदुषित मुहानकै पानी पिउँदा पखाला नियन्त्रणमा आउन नसकेको उनले बताए । अधिकांश बिरामीहरु महिला र बालबालिका छन् । प्रत्येक घरमा कम्तिमा दुईजना बिरामी भएको डाँगीले बताए ।

अहिले स्थानीय स्वास्थ्य चौकी, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, सेनाको फिल्ड अस्पताल नेपालगञ्ज र १९ नम्बर बाहिनी तुलसीपुरको स्वास्थ्य टोलीले बिरामीको उपचार गरिरहेको छ । उपचारका क्रममा औषधी अभाव हुन नदिन पर्याप्त तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?