कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुद्ध पानी माग्दै बन्दी

सुधार नगरेका कारण आन्दोलन

बझाङ — कारागारमा रहेका कैदीबन्दीले जेलभित्र खानेपानी तथा सरसफाइको अवस्था नाजुक हुँदासम्म पनि सुधारको प्रयास नथालेको भन्दै नाराजुलुस गरेका छन् ।

शुद्ध पानी माग्दै बन्दी

शुद्ध खानेपानी, व्यवस्थित चर्पी, ढल निकास नहुँदा आफूहरूको स्वास्थ्यमा समस्या पर्न थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए ।


धाराबाट फोहोर र धमिलो पानी आउने गरेको र त्यही पानी पनि पर्याप्त नहुने गरेको कैदीबन्दीको गुनासो छ । खानेपानी पिउन, नुहाउन, खाना पकाउन, चर्पीमा प्रयोग गर्न, पानी नहुँदा समस्या हुने गरेको बताउँदै कैदी बन्दीका नाइके लक्ष्मण रावलले भने, ‘धाराबाट सङ्लो पानी आएको रेकर्ड छैन होला । पानीसँगै कहिले भातका सिता आउँछन् । कहिले लेदोजस्तै फोहोर आउँछ । देख्दै घिनलाग्दो पानी पिउनु परिरहेको छ ।’


यस्तै, चर्पी जानका लागि पनि बाहिर नहरको पानी बोक्नुपर्ने र चर्पीमा प्रयोग गरिने सरसफाइका सामानहरू (फिनाइल, हार्पिक, ब्रस आदि ) कहिले पनि कारागार प्रशासनले उपलब्ध नगराउने गरेको कैदीबन्दीको आरोप छ ।


व्यवस्थित चर्पी नभएका कारण खाल्डो एक महिना नपुग्दै भरिएर दिसा पिसाब बाहिर निस्कने र दुर्गन्ध फैलने भएकाले निकै समस्या हुने गरेको कैदीबन्दीहरूले बताएका छन् ।


कारागारभित्रबाट सरसफाइ गर्दा उत्पादन हुने फोहोर पानी र वर्षातको पानी निष्कासन गर्ने ढलको व्यवस्था नभएका कारण झन् समस्या भएको बन्दीहरूको गुनासो छ । ‘कारागारभरि ढल जमेर हिँड्न नमिल्ने हुन्छ । त्यसैमा शौचालयको फोहोर मिसिंदा बसिनसक्नु हुन्छ,’ एक जना कैदी युवराज भण्डारीले भने, ‘ढल जम्ने भएका कारण भए भरका लामखुट्टे यतै आउँछन् ।


सुत्नै नसकिने अवस्था छ,’ उनले फोहोरका कारण जिल्ला कारागारभित्र रहेका सबै कैदीबन्दीहरू दिनहुँजसो बिरामी हुने गरेको बताए । आउँ, झाडापाखाला, टाइफाइड जन्डिसजस्ता समस्याबाट कैदीहरू ग्रसित हुँदा पनि कारागार प्रशाशनले सुधारको प्रयास नगरेका कारण आन्दोलन गर्नुपरेको उनले बताए ।


आफूहरूका यी मागहरूको सुनुवाइ नभए थप कडा आन्दोलन गर्ने घोषणा कैदीबन्दीहरूले गरेका उनीहरूले जिल्ला प्रशासन कार्यालयले २ वर्षयता अनुगमन तथा निरीक्षणसमेत नगरेको बताए । केही बेर पकाएको खाना नखाएर अनशन बस्ने बताएका कैदीहरूले प्रजिअ आएर समस्या समाधानका लागि पहल गर्ने बताएपछि आन्दोलन स्थगित गरेको जेलर राजेन्द्र बोहराले बताए ।


कारागार निकै पुरानो भइसकेकाले ढल निकास र सरसफाइको समस्या रहेको बताउँदै जेलर बोहराले नयाँ भवन निमार्णाधीन अवस्था रहेकाले दसैंपछि यो समस्या हट्ने बताए । कारागारको क्षमताभन्दा दोब्बर बढी कैदीबन्दीहरू राख्नुपरेकाले पनि बेलाबेला सरसफाइलगायतका विभिन्न समस्याहरू देखा पर्ने गरेको उनको भनाइ छ ।


२५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले ८ जना थुनुवा र ४६ जना कैदी गरी ५४ जना कैदीबन्दी छन् ।

प्रकाशित : असार ६, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?