१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वैदेशिक रोजगारका नाममा ठगी

दलाल सम्पर्कविहीन भएपछि मात्रै आफूहरूलाई ठगिएको थाहा भएको पीडितले बताए ।
मोहन बुढाऐर

धनगढी — काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान जाने भनेर उडेका कैलाली फूलबारीका दुई युवा थाइल्यान्ड र भियतनाममा अढाई महिना अलपत्र परेर घर फर्के । 

वैदेशिक रोजगारका नाममा ठगी

फूलबारी डिगाउँका ४२ वर्षीय सागर गहतराज र २१ वर्षीय रामबहादुर सुनारलाई काठमाडौं घर भएका शारदा श्रेष्ठले जापान भनेर थाइल्यान्ड र भियतनाम पुर्‍याएका हुन् । श्रेष्ठले शरणार्थी बनाएर जापान पठाउने भन्दै उनीहरूबाट ९/९ लाख असुलेको रामबहादुरले बताए ।


रामबहादुरका अनुसार दलाल श्रेष्ठले पहिलो पटक २०७३ वैशाख ५ मा दुवै जनाबाट बैंक मार्फत आफ्नो खातामा डेढ लाख जम्मा गर्न लगाएका थिए । दोस्रो पटक २०७३ भदौ ६ मा साढे ३ लाख बैंक मार्फत नै श्रेष्ठको खातामा जम्मा गरेको उनी बताउँछन् ।


‘त्यही महिना जापान उडाउने भनेर काठमाडौ‌ं बोलाइयो,’ उनले भने, ‘दुवै जनाले अब उडिने भयो भनेर फेरि गाउँघरबाट सरसापट गरी थप ५/५ लाख बोकेर दलालको सम्पर्कमा गयौं ।’ काठमाडौंमा दलालले फेरि भिसा र कागजपत्र मिलाउन भनी थप २/२ लाख लिएको सुनार बताउँछन् ।


‘दुई साता काठमाडौं बसाइपछि थाइल्यान्डबाट जापान जाने भन्दै उडायो,’ रामबहादुरले भने, ‘थाइल्यान्डमा अढाई महिना बसाएर भियतनाम लग्यो ।’ उनका अनुसार दलाल श्रेष्ठले उनीहरू दुवैलाई भियतनामबाट ‘रिफ्युजी’ बनाएर जापान पुर्‍याउने भनेको थियो । भियतनाममा पनि १७/१८ दिन कटेपछि पुन: काठमाडौंमा उतारेर भारतबाट उडाउने भन्दै दिल्ली पुर्‍याएको उनी बताउँछन् ।


दलालले आफूसँग रहेको रकमबाहेक जापानमा रोजगारीको सपना देखाएर थप अढाई लाख पनि खर्च गराएको उनीहरूले पत्तो पाएनन् । रामबहादुर भन्छन्, ‘दिल्लीमा जब होटल भाडा तिर्न पनि पैसा सकियो दलाल पनि हामीबाट सम्पर्कविहीन भयो ।’ दलाल सम्पर्कविहीन भएपछि मात्रै आफूहरूलाई ठगिएको थाहा भएको उनले बताए ।


सुनारले विदेश पुग्ने लोभमा लिएको ऋण तिर्न घरमा आमाबुबाले कमाइ खाने खेतसमेत बेच्नुपरेको बताए । उनका अनुसार जापान जाने भनेर दलालले घुमाएको र ठगेको रकमलाई समेत जोड्दा दुवै जनाको १०/१० गरी २० लाख खर्च भएको छ । ‘वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गर्ने दलालबाट पैसा असुल्न बैंकका भौचरबाहेक अरू कुनै प्रमाण छैन,’ पीडित सुनारले भने, ‘दुवै जनालाई थाइल्यान्ड, भियतनाम पर्यटन भिसामा घुमाएको देखिन्छ ।


त्यस्तै, वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका फूलबारीको अर्काे ६ जना युवाहरूको समूह पनि छ । फूलबारीका २१ वर्षे तिलक राई, घनश्याम खनाल, तेजबहादुर खड्का, रुमबहादर सुमै, योगेश जोशी र मोहन रानामगर भोजपुर घर भएका दलाल प्रदीप राईबाट ठगिएका हुन् ।


दलालले उनीहरूलाई कतारमा एउटै कम्पनीमा एकै प्रकारको काममा लगाइदिने भन्दै प्रत्येकबाट ३०/३० हजार लिएर ठगी गरेको हो । उक्त समूहमध्येका ठगिएका तिलक राईले माघ महिनाभित्र उडाउने भन्दै काठमाडौं बोलाएर ६ जनाबाट १ लाख ८० हजार लिएको बताए । ‘पैसा लिएको एक सातापछि सम्पर्कमा आएन,’ उनले भने, ‘ काठमाडौमा २ साता जती रकम असुल्ने दलालको खोजी गर्‍यौं, सम्पर्कमा नआएपछि घर फर्केका हौं ।’


‘बेरोजगार युवाको वैदेशिक रोजगारको सपनामा खेल्दै दलालहरूको ठगी धन्दा चलिरहेको छ,’ वैदेशिक रोजगार परामर्श सेवा केन्द्र धनगढीका स्वयम्सेवक पूर्णराज तिवारीले भने । ‘विदेशबाट फर्केका युवाको तडकभडक देखेर गाउँका बेरोजगार युवाहरू पनि विदेश जान फुरुंग हुन्छन्,’ उनले भने, ‘कानुनी /गैरकानुनी जसरी भए पनि विदेश जानुपर्छ भन्ने छाप युवामा परेको छ । यही क्रममा ठग दलालको फेला पर्ने र ठगिने गरेका छन् ।’ उनले वैदेशिक रोजगारप्रतिको बेरोजगार युवाको आकर्षणमा खेलिरहेका ठग दलालबाट सचेत हुन आवश्यक भएको बताए ।


एउटा मिठो सपना बोकेर जोर्डन गएकी धनगढी फूलबारीकै सरस्वती याेंन्जन भन्छिन्, ‘विदेशको सपना आफूले पाल्नै छोडे ।’ उनी एक वर्ष जोर्डन बसेर फर्केकी हुन । विदेशमा जति कडा परिश्रम आफ्नै खेतबारीमा गर्दा यहीं धेरै पैसा कमाउन सकिने भएकाले आफ्नो विदेशप्रतिको मोह अन्त्य भएको बताइन् । अहिले उनी पसल सञ्चालन गरेर बसेकी छन् ।


वैदेशिक रोजगारीमा जान चाहने तर दलालको चंगुलमा परेकाहरूको समस्याका बारेमा कार्यरत मिडिया एकेडेमीका मुकेश टेर्राका अनुसार वैदेशिक रोजगारमा पठाउने कम्पनी व्यक्ति, रोजगारदाता कम्पनी, तलब सुविधा तथा वैधानिक प्रक्रिया र समस्यामा परे कहाँ सम्पर्क गर्नेलगायतका कुरा बुझेर मात्रै वैदेशिक रोजगारमा जानु पर्ने हुन्छ ।

प्रकाशित : असार ६, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?