२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ढुक्क भएर लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

चेतनाथ आचार्य

बेइजिङ — प्रधानमन्त्री केपी ओलीले चीनमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् । बुधबार बिहान बेइजिङस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माण गर्न विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई एक भएर जुट्न आह्वान गरेका हुन् ।

ढुक्क भएर लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो चीन भ्रमण भएको उल्लेख गर्दै अहिले फरक प्रसङ्ग भएकाले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने र अझै गहिराईमा पुर्‍याउने उनले विश्वास व्यक्त गरे । आफ्नो दुई वर्ष अगाडिको भ्रमणले दुई देशबीचको सम्बन्धमा कोशेढुङ्गाको काम गरेको पनि उनले उल्लेख गरेका थिए ।


पूर्वाधार विकासका क्षेत्र र पारवाहनका क्षेत्रमा चीनसँग भएका सम्झौताले जुन योगदान गरेका थिए तिनकै जगमा आज दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने काम भएको उनले बताए । दुई पक्षीय लाभका लागि मैत्री सम्बन्धलाई अझ माथि लान अझ सुदृढ भरोसा, एक अर्काप्रतिको अपेक्षा र सद्भाव बोकेर मित्रताको सिँडीहरु थप्नका लागि आफू चीन भ्रमणमा आएको प्रधानमन्त्री ओलीले बताए ।


नेपाल र चीनबीच बहुआयामिक यातायात सञ्जाल विकास गरी दुई देशबीचको पर्यटन व्यापार तथा वाणिज्य र जनस्तरको सम्बन्ध विकास गर्ने बताउँदै उनले हवाई र रेल सम्पर्क विकास गरी चीनको गतिशील अर्थतन्त्रमार्फत नेपाललाई बाह्य विश्वसँग जोडेर प्रगतिशील गतिमान र समुन्नत राष्ट्र बनाउने आफ्नो सपना रहेको उनले स्पष्ट पारे ।


पर्यटन व्यापार तथा लगानी र कृषि र उद्योग क्षेत्रमा सहयोग बढाउन दुई देशबीचका संभावनाहरुलाई यथार्थमा मनन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्ने, उद्योगलाई समयानुकूल अगाडि बढाउने र दक्ष जनशक्ति उत्पादन गर्न तथा कृषि प्रवर्द्धन गर्ने कुरामा नेपाल सरकारले ध्यान दिँदै आएको बताए । यस्ता विषयमा चीनसँग असाधारण सफलता र अनुभव रहेकाले नेपालको विकासमा सहयोग पुर्‍याउने भावना पनि चीनसँग रहेको उल्लेख गरे । ‘यस सन्दर्भमा बीआरआई एउटा गतिलो पहल भएको छ’ उनले स्पष्ट पारे ‘बीआरआई सबैका लागि उपयोगी हुन सक्छ ।’


प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न उत्पादन क्षमता वृद्धि गरेर निर्यात बढाउनेमा नेपाल सरकार प्रयासरत रहेको बताए । उनले यस क्षेत्रमा पनि चिनियाँ सहयोगको अपेक्षा गरेको बताए ।

चिनियाँलाई ढुक्क भएर नेपालमा लगानी गर्न उनले आह्वान गरे ।


नेपालमा संविधान बनेर सबै तहका निर्वाचन सम्पन्न भई स्थिरता स्थापित भएको दाबी गर्दै उनले विकासका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रित गर्नेमा उनले जोड दिए । तर, विकासका लागि नेपालका साधनश्रोत पूर्ण नभएकाले चीनसँग उद्योग व्यापार तथा लगानीका क्षेत्रमा चीनसँग सहयोगको अपेक्षा राखेको उनले बताए ।


कच्चा पदार्थ प्रशस्त रहेको र श्रम गर्ने व्यक्ति पनि धेरै भएकाले विभिन्न मोडलका चिनियाँ लगानीलाई नेपालले स्वागत गरेको बताउँदै यसका लागि सबै क्षेत्रबाट नेपाल सरकारले चिनियाँ लगानीकर्तालाई अनुकूल वातावरण बनाउने भन्दै ढुक्क भएर लगानी गर्न उनले अनुरोध गरे ।


सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा भएको र यसलाई सफल बनाउन चीनमा रहेका नेपाली समुदाय र सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहने उनले औँल्याए । सबैले संयुक्त रुपमा पहल गरेर साझा लाभ प्राप्त गरौँ भन्दै उनले विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि नयाँ नेपाल निर्माण गर्न हातमा हात मिलाउन प्रधानमन्त्री ओलीले आह्वान गरे ।



आठवटा सम्झौता


प्रधानमन्त्री ओलीको उपस्थितिमा दूतावासमा चीन र नेपालका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्न समझदारीपत्रमा सम्झौता भएको छ ।


दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सु काङले हस्ताक्षर गरेका छन् । यो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ ।


पूर्वी तराईको सिँचाई प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाई परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ तोङछ्वानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।


यसैगरी फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो परियोजनामा ४६ मिलियन डलर लगानी हुने कार्यक्रममा जानकारी गराइयो । १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्ने विषयमा सम्झौता भएको छ । त्यसैगरी ४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


नेपाली पस्मिनालाई चिनियाँ बजार विस्तार गर्न दुई लाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा दुर्गा विक्रम थापा र चिनियाँ अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याले हस्ताक्षर गरेका छन् ।


यसैगरी कूल ६०० मेगावाट क्षमताको मस्र्याङ्दी क्यास्केड जलविद्युत परियोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ । बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङ चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको हो । ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र तोङफाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ ।

प्रकाशित : असार ६, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?