३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अोलीले बन्दुक पड्काएर दाैड प्रतियोगिता उद्घाटन गरे [फोटो फिचर ]

चेतनाथ आचार्य

बेइजिङ — बेइजिङस्थित खेलकुद विश्वविद्यालय ‘स्पोर्ट्स युनिभरसिटी’ को प्राङ्गणमा चीन नेपाल दौड प्रतियोगिताको आयोजना भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुक पड्काएर दौड प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

चीन र नेपालबीचको मैत्री भावना आदानप्रदान गर्दै आपसी सम्बन्धलाई जनस्तरमा फैल्याउनका लागि सो प्रतियोगिताको आयोजना गरिएको बेइजिङस्थित नेपाली दूताबासका मिनिष्टर हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई बताए ।चीनका लागि नेपाली दूतावास र चीन सरकारको खेलकुद विभागको संयुक्त आयोजनामा भएको सो दौड प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धन हुने घिमिरेले दावी गरे । सो दौड प्रतियोगितामा एक सयजना चिनियाँ र एक सयजना नेपाली युवाहरु सहभागी भएका थिए । 

प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो स्थान चिनियाँ युवाहरुले हासिल गरे । उनीहरुलाई क्रमश दुई हजार, पन्ध्र सय र एक हजार चिनियाँ युआन नगद पुरस्कार सहित कप तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विजयीहरुलाई नेपालका मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणपत्र, नगद पुरस्कार र कप वितरण गरे । 

दौड प्रतियोगितामा सहभागी चिनियाँ तथा नेपाली युवाहरु निकै उत्साही थिए । दुई देशबीचको मैत्री सम्बन्धलाई अझ घनिष्ट बनाउन र जनस्तरमा सकारात्मक सन्देश छर्नका लागि यस प्रकारका गतिविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागी युवाहरुले बताए । बेइजिङस्थित पाकिस्तानी कलेजमा कक्षा ९ मा अध्ययनरत प्रनुप अधिकारी दुई देशबीचको प्रतियोगितामा भाग लिन पाउँदा आफू एक्साइटेड भएको बताए ।

प्रधानमन्त्री ओली दौड प्रतियोगिताको उद्घाटन गर्न विश्वविद्यालय पुग्दा उनको साथमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु सहभागी थिए । सो समारोहमा चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री चाओ चितानसहित नेपालका लागि चिनियाँ राजदूत यु होङ पनि सहभागी थिए ।दौड प्रतियोगिताको उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री चाओ चितानले भेटवार्ता गरेका थिए । सो अवसरमा उनले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि दुई देशका सम्बन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताए ।


प्रकाशित : असार ७, २०७५ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्