१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमेरिकी ‘उपहार जहाज’ आउन ढिलाइ

६ वटा हेलिकोप्टर र एउटा जहाज किन्दै सेना

काठमाडौँ — अमेरिकाले नेपाली सेनालाई उपहारस्वरूप दिन लागेको चार अमेरिकी जहाज ‘स्काई ट्रक’ आउन थप ढिलाइ हुने भएको छ । गत वर्ष भदौ मै सहमति भएपनि जहाज कहिले आउने टुंगो लागेको छैन ।

अमेरिकी ‘उपहार जहाज’ आउन ढिलाइ

अमेरिकाको प्रक्रियाअनुसार नै लामो समय लागेकाले ढिलाइ भएको जानकारी रक्षा स्रोतले दिएको छ ।


सेनाले नै उक्त जहाज आउन ढिलो हुने बताए पनि कहिले आउँछ भन्नेमा सैनिक अधिकारी स्पष्ट छैनन् । अमेरिकास्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार यो जहाज नेपाल आइपुग्न अझै डेढ वर्ष लाग्नेछ ।

दुई जहाज सन् २०१८ को अन्त्यसम्म नेपाल आइपुग्ने सम्भावना छ तर अरू दुई जहाज आउन अझै समय लाग्ने भएको छ । उक्त ‘स्काई ट्रक’ नेपाल आएलगत्तै अमेरिकाले नेपालमा ग्राउन्डेड सोही कम्पनीको एक ‘स्काई ट्रक’ को मर्मतसमेत गरिदिने आश्वासन दिएको छ ।


प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सुरुमा सन् २०१७ को अन्त्यसम्म दुई र २०१८ को अन्त्यसम्म अन्य जहाज आउने बताएका थिए । स्काई ट्रकसँगै अन्य सैन्य सहयोग पनि अमेरिकी सरकारले उपलब्ध गराउने भएको छ ।


ढिलाइका बारेमा सेनाका केही अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । लामो दूरी उडान गर्न नसक्ने भएकाले छोटो–छोटो दूरी उडाउँदै ल्याउने तयारी भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । स्काई ट्रक चीनको सांघाई हुँदै नेपाल भित्र्याउने तयारीसमेत सरकारले त्यतिबेला गरेको थियो ।


अमेरिकी सरकारले नेपाली सेनालाई शान्ति स्थापनाका लागि आवश्यक ‘लजिस्टिक’ र विपत् व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गर्ने यसअघि नै जानकारी दिएको थियो । त्यसमा समेत ढिलाइ भइरहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले गत असोजमा काठमाडौंमै आएर चार स्काई ट्रक अनुदानमा आउन लागेको जानकारी तत्कालीन संसदको अन्तर्राष्ट्रिय समितिमा दिएका थिए ।


अमेरिकाले नेपालको विकासका लागि गत वर्ष ५० अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता पनि गरेको थियो । अमेरिकी फ्ल्यागसिप मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट उक्त सहयोग दिन लागेको हो । यसको औपचारिक सम्झौता वासिङ्टन डीसीस्थित विदेश मन्त्रालयमा २०७४ भदौ अन्तिम साता भएको थियो । यसको काममा पनि चुस्त ढंगले अघि बढेको छैन ।


नेपाली सेनाले अमेरिकी सहयोगको स्काई ट्रकबाहेक ६ हेलिकोप्टर र एउटा जहाज खरिद प्रक्रिया अघि बढाएको छ । ती जहाज र हेलिकोप्टर सन् २०१८ को अन्त्यसम्म अधिकांश काठमाडौं आइपुग्ने सेनाको उच्च स्रोतले जानकारी दियो ।

प्राकृतिक प्रकोप र अन्य उद्धार कार्यका साथै दुर्गम क्षेत्रमा खाद्यान्न तथा पूर्वाधारका सामग्री ढुवानी, बिरामीको उद्धार, विशिष्ट पदाधिकारीको उडानका लागि सेनाले सातवटा हवाईजहाज र हेलिकप्टर किन्न लागेको हो ।


रूसमा निर्माण भएका दुई एमआई–१७ हेलिकप्टर, एक विशिष्टखाले भीआईपी हेलिकप्टर र एउटा जहाज (फिक्स्ड विङ) खरिद प्रक्रियामा छ । अन्य तीन प्रकारका मध्यम १ र हल्का २ हेलिकप्टर खरिदका लागि पनि प्रक्रियागत काम भइरहेको सेनाले जनाएको छ ।


हाल सेनासँग १० वटा हवाई साधन चालु अवस्थामा छन् भने १५ वटा चल्न सक्ने हालतमा छैनन् । नचल्ने १२ हवाई साधन सेनाले बिक्रीमा राखेको र त्यसमध्ये तीनवटा बेचिसकेको छ । एक जहाज विदेशमा मर्मत गरेर आइसकेको छ । काठमाडौंमा रहेको स्काई ट्रक भने अमेरिकी जहाज आएसँगै मर्मत हुनेछ ।

प्रकाशित : असार ७, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?