मलेसियामा विदेशी कामदारसंग रकम असुल्ने कम्पनीमाथि अनुसन्धान सुरु
काठमाडौँ — मलेसियाली सरकारले विदेशी कामदारसंग मोटो रकम असुली गरेको र मानव तस्करी गरेको हुनसक्ने आशंकामा विभिन्न कम्पनी र त्यससँग सम्बद्ध अनलाइन प्रणालीमाथि रोक लगाएको छ ।
सरकारले बंगलादेशबाट कामदार लिनुअघि उनीहरुका डकुमेन्टेसन, भिसा प्रोसेसिङ लगायत विभिन्न कामको व्यवस्थापन गर्दै आएको अनलाइन प्रणाली ‘फरेन वर्करस सर्भिसेज सिस्टम (एसपीपीए)’ माथि रोक लगाइएको जनाएको छ ।
मलेसियाली सरकारले नेपाल, बंगलादेश लगायत विभिन्न श्रमिक स्रोत मुलुकमा बायोमेट्रिक प्रणाली, माइग्राम्स नामक विभिन्न कम्पनी खडा गरि कामदारसंग मोटो रकम असुली गर्दै आइरहेको ‘बेस्टिनेट एसडीएन बीएचडी’ नामक कम्पनी र यससँग सम्बद्ध कामदार आपूर्ति प्रक्रियामा सघाउने विभिन्न १० कम्पनीहरुमाथि समेत रोक लगाएको मलेसियाका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मलेसिया, नेपाल, बंगलादेश लगायत श्रमिक स्रोत मुलुकका कतिपय राजनीतिक नेतृत्व र सरकारी अधिकारीसंगको मिलेमतोमा बेस्टिनेट र त्यससंग कामदार आपूर्तिमा सम्बद्ध विभिन्न १० कम्पनीहरुमाथि समेत रोक लगाइएको मानव संशासनमन्त्री एम. कुलासेगरनलाई उद्धृत गर्दै स्थानीय अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ ।
विभिन्न स्रोत मुलुकहरुबाट कामदार लिन यसअघि सन् २०१६ देखि ती कम्पनीहरुको व्यवसायिक सिन्डिकेटले कामदारको मानव तस्करी भएको हुनसक्ने र केही व्यक्तिलाई आर्थिक फाइदा पुगेको आशंकामा निलम्बन गरि अनुसन्धान थालिएको मन्त्री कुलासेगरनको भनाइ उध्दृत गर्दै उक्त पत्रिकाले आफ्नो ‘एक्सक्लुसिभ रिपोर्ट’ मा उल्लेख गरेको छ ।
मन्त्री कुलासेगरनले ती कम्पनीमाथि अनुसन्धान भइरहेको र छिट्टै समस्या समाधान हुने बताएका छन् । साथै उनले कामदार आपुर्ति प्रक्रिया सहज बनाउन सरकार आफैंले अनलाइन प्रणालीको व्यवस्थापन एवं संचालन गर्ने पनि बताए ।
बेस्टिनेटले उक्त अनलाइन प्रणालीमार्फत ‘फरेन वर्करस सिस्टम’ समेत खडा गरेर प्रति बंगलादेशी कामदार ३ सय ५ रिंगिट मलेसयाली रोजगारदातासँग असुल्दै आएको थियो ।
मलेसियाली सरकारको पछिल्लो निर्णयपछि नेपालमा समेत विभिन्न कम्पनी खोलेर कामदारसंग अवैध रुपमा मोटो रकम असुल्ने कम्पनी स्वत: बन्द हुने रोजगार व्यवसायी तथा सरोकारवालाको विश्वास छ ।
मलेसियामा रहेको बेस्टिनेट नामक उक्त कम्पनीका प्रमुख व्यक्ति बंगलादेशी व्यवसायी रहेको र उनले मलेसियाली पूर्व सरकार र नेताहरुसंगको मिलेमतोमा २ वर्षयता १ लाख बंगलादेशी कामदारबाट २ बिलियन रिंगिट (करिब ५४ अर्ब रुपैया) असुल गरेकोसमेत ‘द स्टार’ ले आफ्नो अनलाइन रिपोर्टमा सार्वजनिक गरेको छ ।
मलेसिया आउने बंगलादेशी कामदारले जनही २० हजार रिंगिट स्थानीय एजेन्टलाई तिर्ने गरेको र त्यसमध्ये आधा रकम भिसा, हवाई टिकट लगायत प्रक्रियाका लागि ती व्यवसायीको कम्पनीले लिने गरेको तथ्य समेत उसले सार्वजनिक गरेको छ ।
मलेसियाली महिलासँग बिहे गरेर मलेसियामा व्यवसाय थालेका उनकै सक्रियतामा बेस्टिनेटले ‘फेरन वर्कर्स सेन्ट्रालाइज् म्यानेजमेन्ट सिस्टम’ भनिने विदेशी कामदार व्यवस्थापन प्रणाली (विदेशी कामदारको तथ्यांक राख्ने र व्यवस्थापन गर्ने अनलाइन प्रणाली) समेत स्थापना गरि कामदारहरुसँग विभिन्न शीर्षकमा रकम असुल्दै आएको थियो ।
प्रकाशित : असार ८, २०७५ १५:२७