कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यक्तिको जग्गामा संस्थाको भवन

मनोज पौडेल

कपिलवस्तु — लुम्बिनीमा गैरसरकारी संस्थाको भवन बनेको १० वर्षपछि व्यक्तिगत जग्गामा बनेको खुलासासँगै विवाद बढेको छ ।

व्यक्तिको जग्गामा संस्थाको भवन

ललितपुरस्थित सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको अनौपचारिक शिक्षा राष्ट्रिय स्रोत केन्द्र नामक संस्थाले लुम्बिनी सांस्कृतिक नगरपालिका १० लंकापुरमा बनाएको फिल्ड अफिस तथा तालिम केन्द्र संस्थाका संस्थापक अध्यक्ष ठाकुरमान श्रेष्ठको व्यक्तिगत जग्गामा बनेको खुलेपछि विवाद भएको हो ।

कपिलवस्तुु र रूपन्देहीका ग्रामीण क्षेत्रमा नागरिकको आर्थिक/सामाजिक अवस्था सुधार गर्न सामुदायिक अध्ययन केन्द्र (सीएलसी) स्थापना गरी कार्यक्रम सञ्चालन गर्न विदेशी दाताको सहयोग लिइएको थियो । नेसनल फेडरेसन युनेस्को एसोसियसन इन जापानको सहयोगमा यहाँ कार्यक्रम सञ्चालन गरिएको हो । दाताको ७० लाख रुपैयाँभन्दा बढीको सहयोगमा ४ कोठा, तालिम हल, पुस्तकालय, किचन र अतिथि कक्षसहित २ तले कार्यालय भवन बनाइएको थियो ।

‘दिन–रात गरेर स्थानीयलाई उत्प्रेरित गर्‍यौं,’ परियोजनाका फिल्ड सुपरभाइजर लुल्सीराम लामिछानेले भने, ‘१३ ठाउँका बासिन्दाले जग्गा नि:शुल्क दान गरेका थिए ।’ अरूका लागि जग्गा नि:शुल्क दिनुपर्छ भनेर सिकाउने तर आफूले जे गरे पनि हुने चरित्र देखाएको तेनुहवा सीएलसीका राजेन्द्र श्रीवास्तवले गुनासो गरे । ‘यो कामले हामी दु:खी छौं’ उनले भने, ‘सक्दो छिटो संस्थाको सम्पत्ति सुरक्षा गर्न जग्गा संस्थाको नाममा गर्नुपर्छ ।’

२०७० र ०७४ मा सामुदायिक अध्ययन केन्द्रका अध्यक्षको भेलाद्वारा लिखित रूपमा भवन बनेको जग्गा संस्थाका नाममा गरिदिन माग गरेका थिए । तर, अहिलेसम्म सुनुवाइ भएको छैन । लुम्बिनी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष समसुद्दिन मुसलमानले आफूले पनि समाजकै लागि भनेर केन्द्र बनाउन २ कट्ठा जग्गा नि:शुल्क दिएको बताए । ‘मैले जसरी हाँसीखुसी दिएँ,’ उनले भने, ‘त्यसरी उहाँहरू पनि उदार भएर आउनुपर्छ ।’

मुख्य चोकमा रहेको त्यस जग्गामा बनेको भवनमा धेरैको आँखा परेको छ । अहिलेको मूल्यांकनअनुसार त्यसलाई करोडौं रुपैयाँ पर्छ । ‘भवन बनेको जग्गा संस्थाका संस्थापक अध्यक्ष ठाकुरमान श्रेष्ठको हो,’ संस्थाका कार्यकारी निर्देशक दिलबहादुर श्रेष्ठले भने, ‘उनले संस्थालाई ५० वर्षका लागि लिजमा दिएका हुन् ।’ एक रुपैयाँ पनि भाडा नलिई संस्थालाई जग्गा प्रदान गरिएको उनले बताए । ‘दुवै जिल्लाका सामुदायिक अध्ययन केन्द्रका अध्यक्षले पनि संस्थालाई उजुरी पठाएका छन्,’ उनले भने, ‘छिट्टै बोर्ड बसेर केही निर्णय लिन्छौं ।’

०६५ मा बनेको उक्त भवन अध्यक्ष श्रेष्ठको नाममा रहेको ५ कट्ठा जग्गामा छ । पूर्वशिक्षा सचिव श्रेष्ठले आफू सेवा निवृत्त भएपछि संस्था खोलेर दातालाई आफूतिर आकर्षित गरेका थिए ।

दाताको सहयोगमा ०५९ देखि यहाँ साक्षरता तथा अनौपचारिक शिक्षा र नेपाल सीएलसी परियोजना सञ्चालन भएको थियो । अहिले पनि सामान्य रूपमा परियोजना सञ्चालित छ । समुदायको अपनत्व बढाउन भनेर रूपन्देहीको साबिकका तेनुहवा, मधुवनी, खुदाबगर, एकला, भगवानपुर, मसिना र लुुम्बिनी आदर्श गाविसमा सीएलसी भवन बनाइयो । कपिलवस्तुको साबिकका पतरिया, राजपुर, फुलिका, तिलौराकोट, पकडी र लवनी गाविसमा पनि भवन बनाइयो । ८ देखि १६ लाखसम्म दाताको सहयोगमा भवन बनेका थिए । ती भवनका लागि जग्गा नि:शुल्क दिनुपर्ने अनिवार्य सर्त थियो ।

प्रकाशित : असार ८, २०७५ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?