१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चेपाङ मार्ग बन्ने कहिले?

रमेशकुमार पौडेल

चितवन — चेपाङ मार्गले पुर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वीराजमार्गको मलेखु मात्रै जोडैन चितवन, धादिङ र मकवानपुरको विकट पहाडी क्षेत्रमा बस्ने अल्पसंख्यक आदिवासी समुदाय चेपाङको घर आँगनमा विकास पुर्‍याउन पनि मद्दत गर्छ ।

चेपाङ मार्ग बन्ने कहिले?

तराईलाई राजधानी जोड्ने वैकल्पिक मार्गसमेत बन्न सक्ने उक्त मार्गको ट्रयाक खुलेको वर्षौ हुँदा पनि सडकको स्तरोन्नतिको काम अधुरै छ ।


भण्डारा–मलेखु चेपाङ मार्गको दुरी ६३ किलोमिटर छ । ट्रयाक खोल्ने काम ६ वर्षअघि नै पुरा भएको हो । ट्रयाक खोल्ने काम सकिएपछि भरतपुरको डिभिजन सडक कार्यालयका तत्कालिन इन्जिनियर गौतमकुमार श्रेष्ठले स्तरोन्नतिको काम चाडै पुरा हुने बताएका थिए ।


नारायणगढ मुग्लिन सडकलाई फराकिलो बनाउने बेलामा त्यो बाटो बन्द गरेर चेपाङ मार्गबाट गाडी चलाउने उनको भनाइ थियो ।


तर नारायणगढ मुग्लिन सडक पहिलाको भन्दा दोब्बर फराकिलो बनाउने काम लगभग सकिदा चेपाङ मार्गको स्तरोन्नतिको काम कछुवा गतिमा चलेको छ । चेपाङ मार्गमा भण्डारादेखि २२ किलो मिटरसम्म गत वर्षदेखि यात्रु ओसार्ने बस चल्न सुरु भएको छ । वर्षा लागेपछि त्यो पनि बन्द हुन्छ । कालोपत्रे गर्ने काम चार किलो मिटर जति पुरा भएको छ ।


भण्डारा मलेखु चेपाङ मार्ग चीन र भारतलाई जोड्ने छोटो दुरीको सडक मार्ग केरुङ रसुवागढी ठोरी मार्गको एउटा खण्ड भएको डिभिजन सडक कार्यालयका डिभिजनल इन्जिनियर धर्मेन्द्र झाले बताए । त्यसैले यो राष्ट्रिय महत्वको सडक मार्ग पनि हो । तर महत्व जे जस्तो भए पनि काममा सक्रियता बढ्न नसकेको देखिन्छ ।


भण्डारा बजारदेखि तल चितवन निकुञ्जको आडमा रहेको प्यारीढापसम्म चेपाङ मार्ग पुगेको छ । त्यहाँदेखि साढे चार किलो मिटर दुरी अर्थात भण्डारादेखि उत्तर चौकी डाँडाँसम्म कालोपत्रे पनि भएको छ । ६३ किलो मिटरमध्ये २३ किलो मिटरमा कालोपत्रे गर्ने काम सुरु भएको हो । तर आउँदो असोजसम्म ११ किलो मिटरसम्म कालोपत्रे सकिने अधिकारीहरुको आँकलन छ ।


चेपाङ मार्गको कुल दुरीमध्ये ४० किलो मिटर चितवन तर्फ र २३ किलो मिटर धादिङमा पर्छ । धादिङतर्फ १२ र चितवन तर्फ ११ किलो मिटर कालोपत्रे गर्ने काम सुरु भएको हो । चितवन तर्फको कालोपत्रे यो हिउँदमा सकिने अवस्था रहे पनि धादिङ तर्फ काम सुस्त भएको डिभिजन सडक कार्यालयका डिभिजनल इन्जिनियर धर्मेन्द्र झाले बताए ।


‘१२ किलो मिटर कालोपत्रे हुनु पर्ने धादिङमा अहिलेसम्म आठ किलो मिटरसम्म मात्रै सडक फराकिलो बनाएको र त्यसमध्ये तीन किलो मिटरमा मात्रै ग्रभेल राखेको जानकारी छ । एक किलो मिटरमा कालोपत्रे गर्ने काम यो वर्ष सकिने अवस्था छ’ डिभिजनल इन्जिनियर झाले भने । सन्तोषी रौताहाले निर्माणको ठेक्का लिएको काममा ढिला भएको विषय प्रशासनमा जानकारी गराएको झाले बताए ।


गाडी भने चल्छन् :

लगभग १० वर्षअघि सडक खन्न सुरु भएसँगै स्थानीयहरु उत्साहित थिए । बाटो खन्दै जाँदा गाडी पनि चल्न थाले । छ वर्षयता नियमित रुपमा जीपहरु चल्न सुरु भएको भण्डारा मलेखु चेपाङ मार्गमा गत वर्षको जेठदेखि बससमेत चल्न सुरु भएको हो । तर साना ठुला जे जस्ता गाडीहरु हुन वर्षा सुरु हुनुभन्दा अघिसम्म चल्ने हुन् ।


भण्डारादेखि २२ किलो मिटर पर येउरेलीटारसम्म दुईवटा बस चल्छन् । जीपहरु भने येउरेलीटारदेखि अझै पर पुग्छन् । बसभन्दा जीपको संख्या पनि धेरै नै छ । गाडी नचल्दा चितवनको पहाडी क्षेत्र लोथर, कोराकका बासिन्दाहरु कम्तिमा पाँच घण्टा पैदल हिँडेर भण्डारा आउँथे ।


घरलाई चाहिने नुन तेल, मसला किन्न भण्डारा वा महेन्द्रराजगमार्गमा रहेको लोथर बजार नै पुग्नु पर्ने बाध्यता थियो । दुख बिमार परे भण्डारा नै पुग्नु पर्दथ्यो । गाडी नचल्दा ठुलो आपत थियो भन्छन लोथर हात्तीढापमा गाडी कुरेर बसेका तात्राङ गाउँका धर्मसिंह तमाङ । पैदल हिँडा लोथर खोलै खोला हिँडेर राजमार्गमा पुग्ने गरेको उनले बताए ।


‘खोला बढेका बेलामा चिप्लो उस्तै । सय ठाउँभन्दा बढी पटक एउटै खोला तरेर भण्डारा पुग्नु पर्दथ्यो । खोला बढेर तर्न नमिल्ने हुँदा पाखाबाट हिँडा झनै लामो बाटो हुन्थ्यो । बाध्यता परे मात्रै हिड्ने गर्दथ्यौं’ धर्मसिंहले भने । लोथर कालिटारका जमानसिंह चेपाङले सात घण्टा हिँडेर भण्डारा जानु पर्ने बाध्यता बस चलेपछि दुई घण्टामा झरेको बताए । कोराक आँपपानी नजिक भेटिए बिर्खबहादुर तमाङ । उनी गाउँबाट खसी बोका बटुलेर भण्डारामा बेच्ने काम गर्दै आएका छन् । जीप र बस चल्न थालेपछि आफ्नो व्यपारमा सुविस्ता भएको उनले बताए । ‘बाटो बनेर गाडी चल्न थालेपछि बाख्रा पालेर हुर्केपछि बेच्ने काम गर्न थाले । बाटोबाट हामीलाई फाइदा नै भएको छ’ तमाङले भने ।


भण्डाराबाट येउरेलीटारसम्म चल्ने ग १ ख ७१४४ नम्बरको बसका चालक आत्माराम तमाङ केही ठाउँमा बाटो निकै अफ्ठ्यारो भएको बताउँछन् । ‘सवै ठाउँमा पिच भए राम्रो । नभए केही ठाउँमा बटो अति साँघुरो छ त्यहाँ पनि चौडा बनाए हुने । गाडी चलेपछि यात्रुहरु राम्रै पाइराखेका छौं । बाटो पनि राम्रो बनाउनु पर्‍यो’ चालक आत्मरामले भने ।


भण्डारादेखि १५ किलो मिटर थाकलटारसम्म सडक ठिक ठिकै भए पनि त्यसपछि अप्ठ्यारो पहाडी खण्ड सुरु हुन्छ । जहाँको बाटो फाराकिलो बनाउने जिम्मा पाएको काष्टमण्डप निर्माण कम्पनीले बाटो नै फराकिलो बनाउन रोकेको डिभिजनल इन्जिनियर झाले जानकारी दिए । सवैको ध्यान पुग्ने ठाउँभन्दा निकै भित्र अल्पसंख्यक आदिवासी समुदायको बसोबास क्षेत्रको विकासको गति सुस्त छ ।


येउरेलीटारभन्दा अगाडी गएपछि बाटो निकै घुमाउरो पहाड हुँदै अगाडी बढ्छ । मिलेसम्म सुरुङ बनाएर दुरी छोट्याउने योजना बनाएको झाले बताए । चुनिया धाराबाट सुरुङ बनाए भण्डारा मलेखु राजमार्गको दुरी सात किलो मिटर घट्ने अवस्था रहेको उनको भनाइ छ । सो मार्गमा हात्तीधापमा सवैभन्दा ठुलो पुल बन्दै छ । ९० मिटर लामो पुलको झण्डै ७० प्रतिशत काम सकिएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विशेष चासो दिएको योजना हो यो । उनी यो क्षेत्रका सांसद हुन् । यो सडकमा साढे पाँच मिटर फराकिलो कालोपत्रे हुने छ । विस्तारअघि नारायणगढ मुग्लिन सडकको चौडाइसमेत यही थियो । त्यसैले यो मार्ग दुई लेनको नभए पनि दुईवटा गाडी आरपार हुन खासै गाह्रो हुँदैन । तर काम सक्ने कहिले हो ? ठ्याक्कै जवाफ छैन ।

‘तीन वर्षयता त पुरै काम सक्न गाह्रै छ’ डिभिजन सडक कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । राप्ती नगरपालिकाका मेयर प्रभा बराल सडक राप्ती नगरपालिकाको पहाडी खण्ड हुँदै जाने भए पनि नगरपालिकाको तत्परताले मात्रै काम हुन गाह्रो हुने बताउँछिन् । प्रदेश वा संघीय सरकारले चासो दिए काम चाडै सकिनेमा मेयर बराल आशावादी छन् ।

प्रकाशित : असार ८, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?