कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एउटा म्यासेन्जरको कथा

काठमाडौँ — जमाना प्रविधिको छ । एक अर्काको मनोभाव बाँड्नेदेखि सुख र दु:खको खबर साटासाट गर्ने गतिलो माध्यम बनेको छ स्मार्ट फोन । कुनै बेला हुलाक र हुलाकी जोडिन्थ्यो, प्रेम या पीडा क्षणहरूमा ।

एउटा म्यासेन्जरको कथा

राजधानीको शिल्पी थिएटरमा जारी ‘ज्योतिरीश्वर रंग महोत्सव’ को दोस्रो दिन शनिबार भारत दरभंगाबाट आइपुगेका कलर हेल नाट्य समूहका कलाकारहरूले प्रस्तुत गरेको नाटक ‘संवदिया’ ले दर्शकलाई सञ्चारको पुरानो तौरतरिकामा हुत्याइदियो । दूरअतीतमा बितिसकेका क्षणहरूको सम्झनाजस्तो लाग्ने ‘संवादिया’ ले दर्शकलाई भावुक बनाइदियो । पुरानो समाजमा समाचार बोकेर एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्ने ‘संवदिया’ संस्कृतिमा आधारित यो नाटकले एकैपटक मानवीय समवेदना, प्रविधिको युग र मान्छे मान्छेबीचको दूरीमाथि प्रश्न गर्छ ।


भारतीय साहित्यकार फणीश्वरनाथ रेणुले यो नाटक लेखेका हुन् । भारतीय स्वतन्त्रता संग्राममा सक्रिय भूमिका गरेका रेणुले २००७ सालको नेपाली क्रान्तिमा समेत भाग लिएका थिए । उनको रचनालाई श्यामकुमार सहनीको निर्देशनमा प्रस्तुत गरिएको हो, जसमा भाष्कर झाले एकल अभिनय गरेका थिए ।


बूढाबूढी, तन्नेरी, बिरामी, संवाद बाहकलगायतका चरित्र एक्लैले गरेका झाको अभिनयलाई दर्शकले खुलेर तारिफ गरे । प्रत्यक्ष संगीतको मज्जा भिन्नै थियो । बेलाबेला भाष्करलाई कोरसले पनि साथ दिएका थिए । शनिबारै सद्भाव थिएटर काठमाडौंको तर्फबाट नाटक ‘अश्वेत’ मञ्चन गरिएको थियो । नारी पहिचान र अस्मितालाई केन्द्रमा राखिएको नाटक राम केएसीले निर्देशन गरेका हुन् । केहीअघि राजधानीमा नियमित मञ्चनसमेत गरिएको नाटकमा हिन्दी धार्मिक ग्रन्थका नारीचरित्रलाई नारी अस्मिताको आँखाबाट पुनर्परिभाषित गरिएको छ ।


पुराण, रामायण, महाभारतजस्ता चर्चित धर्मशास्त्रमा चित्रण गरिएका नारीचरित्रहरू, उनीहरूको भूमिका र पुरुष मनोवृत्तिमाथि प्रश्न उठाइएको छ । नाटकमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बाँस्तोला, शिक्षा केसी, एलिजा अधिकारी, दिलीप खड्का, विज्ञान गजुरेल, किरण चापागार्इँ र तिर्सना राईले अभिनय गरेका थिए ।


नाटकका निर्देशकहरूलाई आयोजक नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले ट्रफी प्रदान गरेका थिए । महोत्सवको अन्तिम दिन आइतबार दिउँसो सेलो थिएटरको प्रस्तुति ‘सोनाम ग्याल्मो’ र साँझ भिखारी ठाकुर रंगमण्डल, दिल्लीको प्रस्तुति ‘भिखारीनामा’ प्रस्तुत गरिने महोत्सवका संयोजक एवं प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले बताए ।

प्रकाशित : असार १०, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?