कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अदुवाले किसानमा ल्यायो खुसी

एकै दिन ९ लाखको अदुवा बिक्री

धनकुटा — एउटै गाउँबाट शनिबार एकै दिन ९ लाख रुपैयाँको अदुवा बिक्री भएको छ । धनकुटा नगरपालिका २ अन्तर्गत भीरगाउँका कृषकले आफ्नै बारीमा उत्पादन गरेको अदुवा यस वर्ष पहिलोपटक उच्च मूल्यमा बिक्री गर्न पाएका हुन् ।

अदुवाले किसानमा ल्यायो खुसी

स्थानीय सानबहादुर दाहालले आफ्नो र छरछिमेकका अदुवा संकलन गर्दै ६ हजार केजी अदुवा बिक्री गरेको बताए । उनले प्रतिकेजी ५५ रुपैयाँका दरले अदुवा बिक्री गरेका छन् ।


दाहालले मात्र ३ लाख ३० हजार मूल्यको बिक्री गरे । ‘गाउँघरमा नै यति उच्च मूल्य धेरै पछि मात्र पाइयो’, दाहालले भने, ‘बल्ल मेहनतको फल मिले जस्तै भएको छ ।’ यस्तै स्थानीय धनबहादुर बस्नेतले १० क्विन्टल अदुवा बिक्री गरेका छन् । उनले ५ रोपनी क्षेत्रफलमा लगाएको अदुवाबाट ५० हजारभन्दा बढी आम्दानी गरेको बताए ।


भारतीय बजारमा निर्भर यहाँका अदुवा उत्पादक कृषक भारततर्फ निकासी बढेपछि उत्साहित बनेका छन् । स्थानीय मनिकलाल राईले पनि सोचेभन्दा मनग्गे आम्दानी गर्न सके । उनले ९ क्विन्टल अदुवा घरैबाट बिक्री गरेको बताए । यस्तै हरि बस्नेत, यकिन्द्र घिमिरे, देवी ढुंगेल लगायत कृषकले पनि विगतको तुलनामा उल्लेख्य मूल्य पाएको बताए । उनीहरू प्रत्येकले ७ देखि ९ क्विन्टल अदुवा बिक्री गरेका छन् । गत वर्ष प्रतिकेजी १० रुपैयाँमा अदुवा बिक्री गर्न नसक्दा स्थानीय कृषक निराब बनेका थिए । गत वैशाख महिनासम्म पनि ३० रुपैयाँ प्रतिकेजी अदुवाको मूल्य पुगेपछि केही आशा पलाएको स्थानीय कृषक सानबहादुरले बताए ।


तर माग बढ्दै गएपछि पछिल्लो सातादेखि ५५ रुपैयाँमा कृषकको घरदैलोबाटै अदुवा बिक्री हुन थालेको कृषक चन्द्रलाल तामाङ बताउँछन् । जिल्लामा तीन वर्षअघि अदुवाको मूल्य प्रतिकेजी झन्डै दुई सयसम्म पुगेको थियो । त्यसपछि क्रमश: ओरालो लागेको मूल्यले कृषकहरूको लगानी समेत डुबेको कृषि अधिकृत सूर्य सापकोटाको भनाइ छ । उनले अदुवा कृषकमा केही आशा पलाउने वातावरण बन्दै गएको जानकारी दिए ।


भारतीय बजारमा अदुवाको निकासी बन्द भएसँगै अदुवाको मूल्यमा भारी गिरावट आएको थियो । नेपाल–भारत पूर्वी सीमा पानीट्यांकी नाकाबाट अदुवा निकासी हुन थालेसँगै उपयुक्त मूल्य पाउनेमा संलग्न कृषक आशावादी बनेका छन् । सहिदभूमि गाउँपालिका ६ आँखिसल्लाका कृषक मानबहादुर राईले तीन वर्षअघिसम्म प्रतिकिलो १ सय ९० रुपैयाँमा बिक्री गरेको अदुवाको मूल्य यो वर्ष घटेर २५ रुपैयाँमा झरेपछि आफूमा चरम निराशा छाएको सुनाए । ‘अब केही आशा पलाउँदै गएको छ’, राईले भने, ‘तर कुन बेला फेरि मारमा परिएला भन्ने पिरलोचाहिँ छँदैछ ।’


तर अब भारततर्फ नियमित निकासी हुन सके आफ्नो उत्साहा पुरानै रूपमा फर्कने उनको तर्क छ । थलथलेका हुकुमचन्द्र राईले पनि तीन वर्षअघिसम्म २० रोपनी क्षेत्रफलमा अदुवा खेती गरे पनि मूल्य नपाएपछि यस वर्ष ४ रोपनीमा सीमित बनाएका थिए । उनले मूल्य वृद्धि हुँदै गए आगामी वर्षदेखि

खेती विस्तार गर्ने बताए । जिल्लाको खोकु, छिन्ताङ, आँखिसल्ला, आहाले लगायत क्षेत्रका ८० प्रतिशत कृषकले अदुवा खेती गर्दै आएका छन् ।


जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार अघिल्लो आव २०७३/०७४मा २ सय ५५ हेक्टर क्षेत्रमा ४ हजार ६६ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । तर उत्पादित अदुवा भारततर्फ खपत हुन नसक्दा यस वर्ष परिमाण घटेर २ सय ३५ हेक्टर क्षेत्रफलबाट ३९ सय ३ मेट्रिक टन मात्र उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?