कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नगरवासीले सोधे– नगरको पहिचान के हो ?

स्याङ्जा — जिल्ला सदरमुकाम भएर पनि पुतलीबजार नगरपालिकाको पहिचान बनाउने काम नभएको शनिबार आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

नगरवासीले सोधे– नगरको पहिचान के हो ?

नगर कार्यपालिकाले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम र योजना तर्जुमाका लागि आयोजना गरेको सुझाव संकलन कार्यक्रमका सहभागीले नगरभित्र राष्ट्रिय गौरवको योजना हुनुपर्ने बताए ।


‘इतिहास समेट्ने गरी कुनै खास पहिचान हुन सकेन,’ छलफलमा सहभागी कांग्रेस नगर सभापति वेदप्रसाद दोरंगाले भने, ‘वालिङ नगरपालिका अब स्मार्ट सिटीको योजना अगाडि बढाइरहेको छ भने पुतलीबजार के हुन्छ ?’ नगरपालिकाले नियमित काम गरिआएको भए पनि ठूला योजना हुनुपर्ने भनाइ उनको थियो । सहभागीमध्ये धेरैले नगर विकासमा पछाडि परेको भन्दै समृद्ध बनाउने योजना तथा नीति निर्माणमा ध्यान दिनु आवश्यक रहेको सुझाव दिए ।


जिल्ला पर्यटन विकास समिति उपाध्यक्ष अनन्त श्रेष्ठले पुतलीबजारलाई पनि पेपरलेस र आईटी बेस नगरका रूपमा पहिचान दिलाउने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । ‘जमाना प्रविधिको छ,’ उनले भने, ‘नगर कार्यपालिकामा आईटी इन्जिनियरहरू प्रशस्त छन् । उनीहरूले नगरलाई नयाँ प्रविधिमा लैजानेतर्फ सोच्नुपर्छ ।’


चक्रपथ निर्माण, एक घर एक उद्यम, कफी र सुन्तला सुपरजोनका लागि आवश्यक योजना छनोट गर्नुपर्ने पनि सुझाव आएका छन् । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदीले बजार क्षेत्रमा बनेका घरहरू वित्तीय संस्थामा धितो राख्दा ऋण नपाएको बताए । ‘यसतर्फ नगरपालिकाको ध्यान जान जरुरी छ,’ उनले भने । जिल्ला अस्पताल अपायक स्थानमा भएको भन्दै केही सहभागीले जनस्वास्थ्य कार्यालयमा सार्न पनि सुझाव दिए । जनस्वास्थ्य स्थानीय तहमा हस्तान्तरण भइसकेकाले सदरमुकाममा रहेको ठूलो भवन अलपत्र पर्ने बताउँदै उनीहरूले त्यहाँ अस्पताल स्थानान्तर गर्नु ठीक हुने तर्क गरेका थिए ।


नगरप्रमुख सीमा क्षत्रीले चालु आवमा पर्यटन, कृषि, सिँचाइ, पुलपुलेसा निर्माण, तटबन्ध, संस्थागत तथा आर्थिक सीप विकासलगायत योजनामा नगरपालिकाले काम गरेको बताइन् । ‘हाम्रो पहिलो वर्ष नीति निर्माणमा धेरै समय गयो,’ उनले भनिन्, ‘अब आएका सुझावहरू समेटेर नीति तथा कार्यक्रम बनाउँछौं ।’ विकासलाई प्राथमिकतामा राखिने उनले बताइन् ।


कृषिका लागि शीत भण्डार निर्माण, पर्यटनका लागि होमस्टे व्यवस्थापन र लघुउद्यम व्यवस्थापनतर्फ विशेष ध्यान दिने पनि उनले बताइन् ।

प्रकाशित : असार १०, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?