कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश ४ मा प्रज्ञा प्रतिष्ठान : एउटै बनाउन सुझाव

लेखनाथ — वाङ्मयिक संघ–संस्थाका प्रतिनिधिले प्रदेश ४ मा बन्ने प्रज्ञा प्रतिष्ठान एउटै बनाउनुपर्ने राय व्यक्त गरेका छन् । प्रदेशका विभिन्न जिल्लाबाट शनिबार पोखरा आएका प्रतिनिधिले एउटै प्रज्ञा प्रतिष्ठान बनाउन सुझाव दिए । 

प्रदेश ४ मा प्रज्ञा प्रतिष्ठान : एउटै बनाउन सुझाव

पोखरेली युवा सांस्कृतिक परिवारको पहलमा गत साता गठिन सुझाव संकलन समितिले भेला आयोजना गरेको हो । सुझाव संकलन गरी प्रदेश सरकारलाई बुझाउन संघसंस्थाको स्तरबाट कवि तीर्थ श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ ।


भेलामा प्रदेशमा रहेका साहित्यिक, सांगीतिक, सांस्कृतिक संघसंस्थाका प्रतिनिधिले प्रतिष्ठानको भावी सांगठनिक स्वरूपबारे सुझाव राखे । एउटै प्रज्ञा प्रतिष्ठान बनाएर ४ देखि ८ वटासम्म विभाग बनाउनुपर्ने अधिकांशको सुझाव थियो । साहित्य शृंखलाका अध्यक्ष यादवराज उपाध्यायले एकेडेमी एउटै बनाएर साहित्य, कला, संगीत, नाटयको छुट्टाछुट्टै विभाग बनाउनुपर्ने सुझाव दिए ।


सप्तरंगी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले थोरै बजेट विनियोजन भए पनि सुरुवात हुनु नै सकारात्मक रहेको बताए । साहित्यकार मदन भण्डारीले एकेडेमीलाई समावेशी अवधारणामा आधारित रहेर बनाउनुपर्ने बताए । कलाकार बुद्धि गुरुङले एउटै एकेडेमी बनाउँदा झन् बलियो हुने धारणा राखे । जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठले राजनीतिक गन्ध नआउने साझा एकेडेमीको रूपमा विकास गर्नुपर्ने औंल्याए ।


नेपाली लेखक संघका सचिव सञ्जीव पौडेलले राजनीतिको नभई कलाको भर्‍याङ चढेर एकेडेमीमा पुग्ने वातावरण सिर्जना गर्नुपर्ने राय व्यक्त गरे । मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलले पोखरा केन्द्र र अन्य जिल्ला मोफसलजस्तो बन्न नहुने तर्क गरे । लोक नृत्य संघका अध्यक्ष गोरे गुरुङले कलामै जीवन अर्पित गरेको, बौद्धिक र खुबी भएको व्यक्तिले एकेडेमीको नेतृत्व गर्नुपर्ने उल्लेख गरे । साहित्यकार नारायण बास्तोलाले सुरुमै धेरै एकेडेमी माग गर्नुभन्दा एउटै बनाएर पूर्वाधार तयार गर्दै लैजाउनुपर्ने सुझाव दिए ।


गण्डकी साहित्य संगमका अध्यक्ष कृष्णराज अधिकारी, साहित्यकार रविलाल अधिकारी, सूर्य खड्का ‘बिखर्ची’, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, गुरुङ सांस्कृतिक मञ्चकी अध्यक्ष गौरी तमु, संगीत प्रशिक्षक नवराज बराल, झलकमान संगीत पाठशालाका धनबहादुर गायक, प्रगतिशिल लेखक संघका स्ट्रगल रानालगायतले एउटै एकेडेमी बनाउनुपर्नेमा जोड दिए ।


संयोजक तीर्थ श्रेष्ठले प्रदेश सरकारले चालेको सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्न सुझाव समिति गठन भएको जनाए । उनले एउटा एकेडेमी बनाएर ४ देखि ६ सम्म विभाग गठन गर्न सकिने उल्लेख गरे ।


प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेटमा प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सुझाव समितिले पहिलो चरणमा उपलब्ध जिल्लाका प्रतिनिधिसँग सुझाव लिएको हो । भेलामा तनहुँ, गोरखा, लमजुङ र कास्कीका प्रतिनिधिको सहभागिता थियो  ।

प्रकाशित : असार १०, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?