कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पाँच वर्षमा २० लाख पर्यटक : मन्त्री गुरुङ

प्रकाश बराल

बागलुङ — प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पाँच वर्ष भित्रमा वार्षिक २० लाख पर्यटक भित्र्याउने पूर्वाधार बनाउने बताएका छन् । 

पाँच वर्षमा २० लाख पर्यटक : मन्त्री गुरुङ

उनले ती पर्यटकलाई आर्कषण गर्ने गन्तव्य बनाउने र आर्कषक होटलमा लगानी गर्ने नीजी क्षेत्रको खोजी भइरहेको बताएका हुन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले पर्यटन व्यवसायका लागि चाहिने सबै वस्तु तथा सेवा पनि प्रदेशमै उत्पादन हुने बनाउने दावी गरे ।


गुरुङले पर्यटन गुरुयोजना बनाउने तयारी भएको बताएका छन् । साथै उनले प्रमुख पर्यटकीय केन्द्र, गण्डकी करिडोर लगायतमा डीपीआर बनाउन चिनियाँ कम्पनीलाई जिम्मा दिएको समेत बताए ।

‘पर्यटक बढाउँदा पोखरामा मात्र अटाउँदैनन्, त्यसका लागि प्रदेशका ११ वटै जिल्लामा पुग्छन्, त्यसैले सबैतिर पूर्वाधार बनाउनुपर्छ’ मन्त्री गुरुङले भने, ‘पर्यटक भुल्ने स्थान, मार्ग र होटललाई स्तरोन्नती गर्दै अरु थप्नुपर्नेछ ।’ केही समयमै प्रदेश ४ का लागि तारे होटल कति थप्ने, कतिवटा पर्यटन क्षेत्र बनाउने समेत अध्ययन भैरहेको उनले बताए ।


चालू वर्षका लागि पोखरा केन्द्रीत पूर्वाधारमा धेरै बजेट खर्च भएको टिप्पणीलाई उनले आवश्यकता भएको बताए । ‘पोखरालाई जोडेर १० वटै जिल्लाबाट कार्यक्रम परेकोले शब्द दोहोरिएको हो, काम सबै जिल्लामा हुन्छ’ उनले भने,‘ढोरपाटनलाई व्यवस्थित पर्यटन क्षेत्र बनाउन आवश्यक काम थाल्नेछौँ ।’

प्रदेशको पहिलो प्राथमिकतामा परेको पर्यटनमा प्रयोग हुने सबै वस्तुहरु उत्पादन गर्ने कर्याक्रम बनाउन गाउँ र नगरपालिकामा सहकार्य सुरु भैसकेको उनले बताए ।


मन्त्री गुरुङले पहिलो पर्यटन, दोस्रोमा उर्जा, तेस्रोमा कृषि र चौथोमा उद्योगबाट आत्मनिर्भर प्रदेश बन्ने लक्ष्य सुनाए । तरकारी, फलफूल, माछा, खाद्यान्न र भाँडा समेत यही बन्नुपर्छ भन्ने हामीले सोच बनाएका छौँ । त्यसले युवा पलायन रोकिने, स्वरोजगार कार्यक्रम सुरु हुने र आर्थिक समृद्धिको बाटोमा जान सकिने उनले सुनाए ।


प्रधानमन्त्रीले गरेको रेल सम्झौताले समेत पर्यटन व्यवसाय बढाउन सहयोग मिल्ने बताए । ‘अब रेल सपना रहेन, पखाई मात्र भयो’ गुरुङले भने, ‘कति समय भित्र हामीले रेल चढाएर चिनियाँ पर्यटक भित्र्याउछौँ भन्ने योजनामा आधाकारिक विकासका काम थाल्नुपर्छ ।’

बस चढेर आउने पर्यटकका लागि कालीगण्डकी कोरिडोरको सफलतासँगै गण्डकी कोरिडोर, शालिग्राम कोरिडोर र तराई जोड्ने द्रूतमार्ग समयमै सम्पन्न गर्न काम थालिने बताए । डीपीआर नबनेका योजनामा तत्काल बनाउने र बनेका योजनाको ठेक्का थाल्ने उनले प्रतिबद्धता जनाए । चालू वर्षको बजेटमा ५५ प्रतिशत पूर्वाधारमै खर्चने समेत उनले बताएका छन् ।


पोखरा विमानस्थलको बारेमा आएका टिकाटिप्पणीमा भ्रम नपर्न उनले आग्रह गरे । ‘विश्वका ठूला विमानस्थल जस्तो पूर्ण सुरक्षित हाम्रोमा हुनै सक्दैन, पहाडी क्षेत्रमा केही चुनौती जतासुकै छन्’ उनले भने, ‘काठमाडौं विमानस्थल पनि हामीले पूर्ण सुरक्षित बनाउन सकेका छैनौँ भने पोखरामा सम्भव छैन भनेको ठीकै हो ।’

चुनौतीकाबीच नेपालका दर्जनौँ विमानस्थलमा जहाज चलेको उनले बताए । प्राविधिक कठिनाईका बीच पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा ढुक्क बन्न उनले आग्रह पनि गरे ।

प्रकाशित : असार १०, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?