३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पन्यूले बिरामीको गाला डाम्ने धामी पक्राउ 

टीकाप्रसाद भट्ट

रामेछाप — बोक्सी भगाउने भन्दै लिखु तामाकोसी गाउँपालिका-१ दुरागाँकी २६ वर्षीया सरिता दर्जीको गालामा फलामे पन्यूले डामेर भागेका धामीलाई प्रहरीले पक्राउ गरेको छ । 

पन्यूले बिरामीको गाला डाम्ने धामी पक्राउ 

जेठको अन्तिम साता पेटको बिरामी परेकी दर्जीलाई झारफुक गर्न आएका ओखलढुंगा रगनीका रविन्द्र धामीले बोक्सी भगाउने भन्दै फलामको पन्यू तताएर दर्जीको गाला डामेका थिए ।


सिस्नु पानी लगाउँदै पन्यूले डामेपछि दर्जी बेहोस भएकी थिइन् । रोग निको पार्न आएका धामी बिरामी बेहोस भएपछि फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार दर्जीले बोक्सी ऐन बमोजिम किटानी जाहेरी दिएको आरोपमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको हो ।


उक्त कार्यमा सघाउने लिखु-१ बस्ने मेनुका ठटेललाई समेत पक्राउ गरिएको छ । धामीलाई उक्साएको आरोपमा यसअघि ३ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ बस्ने राजन पौडेल, दीपक ढटेल र अश्विन रोका छन् ।


उनीहरुलाई जिल्ला अदालतबाट बोक्सी ऐन बमोजिम १० दिनको म्याद थप गराइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बोक्सी ऐन २०७२ अनुसार पीडा दिने पीडकलाई ३ वर्षदेखि ७ वर्षसम्म जेल सजाय हुने र पीडितलाई क्षतिपूर्ति समेत भराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित : असार १०, २०७५ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?