के होला जनसम्पर्क समिति अमेरिकाको भविष्य ?

पीताम्बर भूषाल

काठमाडौँ — तीन वर्षमा गरिनुपर्ने जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन समयमै नहँदा हामी सबैलाई चिन्तित तुल्याएको छ ।

के होला जनसम्पर्क समिति अमेरिकाको भविष्य ?

कूनै पनि संगठनले गर्नुपर्ने अधिवेशन समयमै गरियो भने त्यो संगठनले गति लिन सक्छ । त्यसमा आबद्द सदस्यहरू संगठित र क्रियाशील हुन्छन् । तर यहाँ हाम्रो कार्यकाल बितेर पनि १ वर्ष पुग्न लाग्दा यस सम्बन्धि कूनै काम नगरिनाले यतिबेला अन्यौलता छाएको छ ।


अमेरिकामा जनसम्पर्क समितिमा आबद्ध रहेका साथीहरुको सबैको चासो र चिन्ता भनेको जनसम्पर्क समिति अमेरिकाको भविष्य के होला भन्ने रहेको देखिएको छ । महामानव विश्वेश्वर प्रसाद कोईरालाले नेपालको राजनीतिक परिवर्तनको महान् उद्देश्य लिएर सुरु गरेको भएपनि यस संस्था यसको मर्म बाहिर गएर अमेरिकामा भने स्थापनादेखि नै यो संस्था विवादमा रुमलिएको छ ।

लेखक

लेखक पीताम्बर भुषाल

स्थापना हुँदा देखि नै विवादमा रहेको जनसम्पर्क समिति सदैव विवादमा रहँदा अमेरिकामा रहेका जनसम्पर्क समितिमा आवद्ध साथीहरुलाई संस्थाप्रति नै वितृष्णा पैदा गर्ने खतरा बढ्दै गएको छ। जनसम्पर्कभन्दा बाहिरका अन्य व्यक्तीहरुलाई जनसम्पर्क भनेकै आपसमा लडाई गरेर बस्ने संस्था भन्ने जस्तो नकारात्मक प्रचार गर्न पाउने मनोरञ्जनको माध्यम बनेको अवस्था छ ।


जनसम्पर्क समिति अमेरिकावासी नेपालीहरुको सबैभन्दा धेरै च्याप्टर भएको सकृय संस्था हो । यस संस्थालाई हामीले लामो समयसम्म निस्कृय पारेर बस्यौँ भने यसको गरिमा घट्ने खतरा हुनेछ । यतिबेला हामीले हाम्रो संस्थालाई मजबुत बनाएर यहाँका अन्य संस्थाभन्दा उत्कृष्ट बनाउनका साथै नेपालको मातृ पार्टी समक्षपनि उदाहरण प्रस्तुत गर्नुछ । हामी पनि नमिल्ने अनि हाम्रो मातृपार्टी मिलेन, आपसमा गुट बन्दीमा लाग्यो भन्ने तर्क गर्नु बेकारको कुरा हुन्छ । हामीले परिवर्तन चाहाने भने परिवर्तन आफैँबाट सुरु गर्नु आवश्यक छ ।


त्याग र आपसी छलफल बिना कुनै पनि संस्थाको हित हुँदैन, हामीले कसैले पनि त्याग गर्न पनि नखोज्ने अनि मेरो गोरुको बाह्रै टक्का भने जस्तो सबै आफ्नो अडानमा रहेर अब जनसम्पर्क समितिको भविष्य झनै खतरामा पर्नेछ । जनसम्पर्क समिति मातृभूमीमा रहेको हाम्रो माउ पार्टी नेपाली कांग्रेसको भातृ संस्था हो ।

नेपाली कांग्रेसले अहिलेको चुनावमा नराम्रो हार ब्यहोर्नु पर्दा हामी सबै जनसम्पर्क समितिका सदस्यहरुले समेत हारेका छौँ । अहिले जसरी पार्टी केन्द्रमा चुनाव देखि सगंठनको बारेमा समिक्षाको बहस तातेको छ र यहाँ पनि हामीले यो स‌ंगठनको वर्तमान दुर्दशा ,तीन वर्षसम्म भए गरेका कृयाकलाप र यसको भविष्यका बारेमा बहस गर्न उपयुक्त समय हो भन्ने मलाई लाग्दछ । त्यसैले यतिबेला हामीले हाम्रो काम ,हिजो के भएको थियो भन्दा पनि विगतलाई राम्ररी समिक्षा गरेर अब कसरी अगाडि बढ्ने , स‌‌‌ंगठनलाइ कसरी मजबूत बनाउने विषय महत्वपुर्ण हो जस्तो लाग्दछ ।


स्थापनादेखि देखिँदै आएको विवाद टेक्सासमा भएको ऐतिहासिक अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि सदाका लागि अन्त्य होला भन्ने सबैमा विश्वास थियो । जसरी टेक्सासमा हामीले लोकतान्त्रिक प्रकृयालाई आत्मसात् गरेर चुनावबाटै नयाँ नेतृत्व चयन गर्न सफल भयौँ, त्यो उत्साह र विश्वासलाई हामी र हाम्रो नेतृत्वले कायम राख्न र आम कांग्रेसका भावनालाइ सम्बोधन गर्न नसकेको भनेर विरोध आउनुलाई विरोधका लागि विरोध हो भन्दा पनि हामीले के साच्चै त्यो भावना अनुरूप काम गर्न सकेनौँ की भनेर समीक्षा र आत्मसाथ गर्न न सक्नु आफैँमा दुःखद कुरा हो ।


विष्णु सुवेदीको नेतृत्वकालमा भएका केहि महत्वपूर्ण कामहरु र उहाँको नेतृत्वमा भएका प्रयासलाई हामीले स्वामित्व ग्रहण नगरी अगाडि बढ्न खोज्नु पनि मूर्खता थियो । त्यसैगरी अधिवेशनबाट बनेको आनन्द विष्ट नेतृत्वको समितिलाई पनि सुरुदेखि नै सहज रुपमा काम गर्ने दिएर समस्याको समाधान निकाल्नतर्फ भन्दा पनि हाम्रा केहि साथीहरु नेतृत्वलाई असफल गराउनेतर्फ लागेको तीतो अनुभव पनि सबैले आत्मसात् गर्नुपर्दछ । तर यही कुराको जरोमा टेकेर आफूले गर्न नसकेका राम्रा कामको लागि अरू माथि दोष थोपरेर पानी माथिको ओभानो बन्न खोज्नु नै स‌ंस्थाको अधोगति हुनु हो ।


भर्जिनिया साधरण सभाले बीपीको शालिक राख्न मलाइ जिम्वेवारी तोकेको थियो । मैले आफ्नो काम गर्न सुरू गरेर यहाँको सिटी, काउन्सिल र अन्य संस्था सँग समन्वय गरी शालिक राख्ने स्थानको पहिचान गरेर त्यसका लागि चाहिने १ लाख पचास हजार देखि २ लाख पचास हजार बजेट लाग्ने बारेमा समेत सभापतिलाई जानकारी गराएको हुँ । बीपीको शालिक अमेरिकाको पार्कमा राख्ने मेरो सम्पूर्ण योजना पार्टीमा बुझाएपछि नेपाली कांग्रेस पार्टी महामन्त्रीले सेप्टेम्बरमा मलाई पत्र पठाएर बीपीको शालिक अमेरिकामा राखिनु सराहनीय काम भएको र त्यसका लागि नेपाली कांग्रेस हरेक प्रकारले सहयोग गर्न तयार रहेको र सबै कांग्रेसका कार्यकर्ताले सहयोग गर्न आह्वान गर्नुभएको छ ।


बीपीको शालिक न्यूयोर्कको सार्वजनिक पार्कमा राख्न सम्पूर्ण योजना ,पूर्वाधार र काम सकिएको छ । यहाँको सरकारी निकायसँग गरिनु पर्ने कामहरू भएका छन् र हामीले शालिक राख्न बुझाउनु पर्ने रोयल्टी , त्यसको निर्माणमा लाग्ने खर्चको व्यवस्था न भएकोले ढिलाइ भएको हो । म जनसम्पर्क समितिको कूनै पदमा रहे न रहे पनि यो शालिक राख्ने कामको जुन काम , पूर्वाधार र योजनमा बनेको छ म त्यसलाइ पुरा गर्न तन मन र धनले लाग्ने छु । र डेढदेखि दुई लाख पचास हजारको आर्थिक व्यवस्थापन गर्न साथीहरू अगाडि आउनुहोस् केही महिनामा यो काम म फत्ते गर्ने वाचा गर्न चाहन्छु ।


नयाँ समिति बनेपछि नेपालमा गएको महाभूकम्पका बेला उठेको रकम र नेपालमा गरेको सहयोग पनि महत्वपुर्ण उपलब्धि हो । यद्यपी त्यहि महाभुकम्पले हाम्रो संस्थामा महाभुकम्पको पैसा हिनामिना रूपी महाविपत्ती ल्याएको तीतो अनुभव छ । र यही विपत्तीले हाम्रो संस्थालाइ तहसनहस पारेको छ । नेपालमा भएका विभिन्न चरणका निर्वाचनमा जनसम्पर्क समितिका नेतृत्वहरू गाउँ गाउँमा पुगेर गरेको मेहनत र उहाँहरूको मेहनतको हामीले उच्च मूल्यांकन गरिनु जरूरी छ ।


अहिले हामीसँग निर्वाचित समितिको म्याद पूरा भइसकेको छ । पार्टीले तत्काल कुनै काम नगर्नु भनेर पत्र गरिसकेको अवस्था र निर्वाचित अध्यक्ष आनन्द विष्ट पनि आमन्त्रित केन्द्रिय सदस्यमा पदोन्नती भएको कारणले आम सदस्यहरुबीच अबको निकास के भन्ने विषयले थप चर्चा पाउनु स्वभाविक हो । के हामी पदमा बस्ने साथीहरूले भर्जिनिया साघरणसभाले दिएको म्याण्डेट अनुरूप काम गर्यौँ ? तीन वर्षसम्म एउटा पनि च्यापटरको अधिवेशन गराउन नसक्नु हाम्रो कमजोरी होइन ? सुतेको मानिस् लाइ ब्यूँताउन सकिन्छ । सुतेको भान गर्नेलाई केही गरे पनि उठाउन सकिदैन । यो संगठन बनाउने जिम्मा तपाईँ हाम्रो हो त्यसमा मैले मेरो जिम्वेवारी कति पुरा गरे भनेर सबैले समीक्षा गरुँन् ।


अब पनि हामीले यो संस्थालाइ संस्थागत गर्ने त्यस समयमा देखिएका खराब कुराहरुलाई सुधारेर नयाँ तरिकाले अगाडि जान सकेनौँ भने जनसम्पर्क समिति अमेरिका अझै कमजोर , लथालिंग र विस्थापनको संघारमा पुग्ने निश्चित छ । यतिबेला धेरै साथीहरु पार्टीले के पत्र पठाउला वा केन्द्रका कोहि नेता आउँदा के बोल्लान् भनेर आशा गरी प्रतिक्षा गरेको देखिन्छ । आज अमेरिकामा यो संगठन लथालिंग‌ छ । सबै च्यापटरहरूको नेत्रित्वविहिन छन् । तीन वर्षमा हामीले अधिवेशन गरेर नयाँ नेत्रित्वलाई समिति सुम्पिन नसक्नु वर्तमान समितिको सबैभन्दा ठूलो कमजोरी हो ।


पूर्व संयोजक बिष्णु सुवेदी लगायतका साथीहरु पनि विष्ट नेतृत्वको समितिको समय सकियो र यो समितिले गराउने अधिवशेनमा भाग लिदैनौँ भन्दै आएका छन् । र एक पक्षलाइ नमनाइ कुनै अधिवेशन सम्भव पनि छैन । र आनन्द जीको नेतृत्वको समितिले हामी नै आधिकारीक हो भन्ने अडानमा रहने हो भने कसरी समाधान होला र ? कूनै पनि चिजको लिमिटेशन हुन्छ यो समितिको म्याद सिद्धिएको छ र म्याद सिद्धिए पनि निर्वाचित समिति भन्दै यसलाई वर्तमान नेतृत्वले कति समयसम्म बन्धक बनाएर राख्ने हो ।


यो नेतृत्वले जति राम्रो गरेका छौ भनेर रट लगाउने , हामीले नै निर्वाचन गराउँछौ भनेपनि र संस्थालाइ खल्तीको बनाउन खोजे पनि सबैलाई थाहा छ यो नेतृत्व कति अनपपुलर भएको छ । यो संस्थाको साख गिरेको छ । म आफैँ निर्वाचित केन्द्रीय सदस्य भएको र आज हामीले गरेका काम संस्थाको भएको बद्नामीले लज्जित हुनु परेको छ। हामीले आपसी सल्लाह गरेनौँ खाली यो संस्थालाइ आफूमाथि चढ्ने भर्याङ बनायौँ । हामीले संस्था बलियो बनाएनौँ व्यक्ती बलियो बनायौँ । संस्थामा अनुशासन कायम गर्न सकेनौँ । गर्नुपर्ने ठोस् र उपलब्धिमूलक काम गर्न सकेनौँ । जसको परिणाम आज संस्था घरासायी र विघटनको संघारमा पुगेको छ ।


हामीले अब अर्को निर्वाचनमा दुई ठुला पार्टी मिलेर बनेको नेकपालाई हराउन मातृ पार्टी नेपाली कांग्रेसलाई धेरै टेवा पुर्याउन सक्ने जनसम्पर्क समिति निर्माण गर्नु जरूरी छ । चुनाव हारेको यो ५ वर्षलाई सगंठित र एकतापूर्वक काम गरेर यसलाई उपलब्ध समयको रूपमा उपयोग गरेर काम गर्न सकेनौँ भने हाम्रो संस्था मात्र होइन माउ पार्टीलाई पनि धेरै घाटा पर्नेछ । त्यसैले सबै साथीहरुले अब यो समयलाई जनसम्पर्क बलियो बनाउने संस्थाको रुपमा लिन आवश्यक छ ।


आनन्द विष्टजी आमन्त्रित केन्द्रीय सदस्य बनेको अवस्था , हाम्रो म्याद पनि सकिएको अवस्था छ र यसका लागि वर्तमान नेतृत्वले जनसम्पर्क समिति अमेरिकालाई निकास दिनु जरूरी छ । अब आफ्नो स्वार्थ सिद्दीका लागि संगठनलाई बन्धक बनाएर राख्नु हुँदैन भन्ने मेरो मान्यता हो । यथास्थितीमा यहाँ अधिवेशन हुने कूनै सम्भावना छैन् । ३९ तिर मुख फर्किएको यो म्याद सिद्धिएको समितिलाई पुन: ब्यूँताएर पनि अधिवेशन हुने सम्भावना छैन ।


र साथीहरूले याद गर्नुपर्ने कुरा हो डा. सुरेन्द्र देवकोटाले पनि हिजो पार्टीले मान्यता दिदाँदिदै पनि सबै लाइ समेटेर जान सकिन्छ भने भनेर आफ्नो समितिलाई निर्वाचित समिति भनेर बन्धक बनाइ न राखेर सन् २००९ मा न्यूजर्सी वार्ताबाट आनन्द विष्टले नेतृत्व गरेको समिति र आफ्नो समिति लाई विघटन गरी खग्रेन्द्र जि सी दाईको नेतृत्वमा एकताको दोस्रो महाधिवेशन तयारी समितिको निर्माण भएको थियो ।

र त्यसबेला डा. देवकोटाको म्याद पनि सिद्धिएको थिएन र उनले मेरो समितिको म्याद छ भनेर बखेडा निकालेका थिएनन् । उनले गरेको त्यो त्यागको इतिहासले मूल्यांकन अवश्य गर्ने छ । र त्यो एकता वार्ता गराउने , पहल गर्ने र सारा चाजो पाजो मिलाउने वेदप्रसाद खरेल जीले त्यो एकताको हस्ताक्षरसहितको सम्झौता सार्वजनिक गरेमा सायद सबैलाई त्याग गर्न प्रेरणा मिलथ्यो की ?


यो अवस्थामा हामीले अब आपसी विवादभन्दा माथि उठेर केन्द्र समक्ष सबैको आवाज समेट्न सक्ने तदर्थ समितिको निर्माण र त्यसलाई निश्चित समय तोकेर अधिवेशन गर्ने म्याद लिनलाई पहल गर्ने बेला आएको छ । यदि यसो गरिएन भने जनसम्पर्क समिति अमेरिकाको विवाद समाधान होला जस्तो मलाई लाग्दैन । अझै पनि हामीले यो संस्थालाई बलियो,एकीकृत र सगंठित बनाउनु जरूरी छ ।

सबै मिलेर तदर्थ समितिको निर्माण , तदर्थ समितिले तोकिएको समयमा सबैलाई समेटेर निर्वाचन गराएर निर्वाचित समितीलाई जिम्मेवारी हस्तान्तरण र निर्वाचित समितिले संगठनलाई लिएर , एकीकृत र संगठित बनाउनु जरूरी छ। आउनुहोस् सबैले त्याग गरौँ र जनसम्पर्क समिति अमेरिकालाई बचा‌औँ । समय आउँछ तर पर्खदैन । बगेको खोला फर्किदैन । मलाइ आशा छ सबैलाई त्याग गर्न प्रेरेणा मिल्थ्यो की ?


(लेखक जनसम्पर्क समिति अमेरिकाका निर्वतमान केन्द्रीय सदस्य तथा कानुन विभाग प्रमुख हुन् ।)


प्रकाशित : असार १०, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?