२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

रासस

काठमाडौँ — सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारेको छ । लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक निर्णयलाई कसैले पनि फिर्ता ल्याउन नसक्ने बताउँदै सरकारले यसबाट कुनै पनि हालतमा पछाडि नफर्कने जनाएको छ ।

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले भने, 'एकाधिकार कुनै पनि रूपमा रहन सक्दैन । सरकार निर्णयबाट पछाडि हट्ने र छुट दिने पक्षमा छैन ।'


मन्त्री महासेठले यातायात सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशका, २०६० मा संशोधन गरी गत चैत १८ गतेदेखि एकाधिकार अन्त्य भएको जानकारी दिए । घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालयले सत्यतथ्य पत्ता लगाई पीडितलाई क्षतिपूर्ति दिन मात्रै खोजेको उनको भनाइ छ । साउन १ गतेदेखि यातायात समिति कुनै पनि नरहने र आज मध्यरातदेखि नै खारेज हुने भएकाले सबैलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुन आग्रह गरिएको बताए ।


धेरैजसो समिति कम्पनीमा दर्ता भए पनि केही समितिले अझै अटेर गरेको छ भन्दै मन्त्री महासेठले तिनीहरूलाई क्रमशः कानुनी प्रक्रियामा ल्याइने उल्लेख गरे । यातायात क्षेत्रमा बन्दहड्ताल गरी अवरोध पुर्‍याएका २ सय ४५ यातायात व्यवसायी समितिको खाता रोक्का गरिएको र ती खातामा रहेको रकमसमेत छानवीन भइरहेको उनले जानकारी दिए । देशभर एकैसाथ यातायातका लागि सडक अनुमति खुला गरिएको तथा यातायात व्यवस्था विभाग र मातहतका कार्यालयमा समेत यातायात सेवाको पञ्जीकरणको कार्य भइरहेको उनको भनाइ छ ।


साउनभित्रै चार लाख अनुमतिपत्र बाँडिने


मन्त्री महासेठलेले सवारी चालक अनुमतिको प्रतीक्षामा रहेका नागरिकलाई विशेष प्राथमिकतामा राखी आगामी साउन मसान्तभित्रै वितरण गर्ने योजना बनाइएको जानकारी दिए । उनले चार लाख थान सवारी चालक अनुमतिपत्र प्रदान गर्ने लक्ष्य राखिएको र बिहान ६ बजेदेखि राती आठ बजेसम्म कार्ड छपाइ हुने व्यवस्था मिलाइएको उल्लेख गरे । सेवाग्राहीले लामो समयदेखि स्मार्ट कार्ड लिनका लागि कुर्नुपर्ने अवस्थाको अन्त्य गरिने र पहिलो चरणमा प्रतीक्षामा रहेकाहरुलाई वितरण गर्ने र क्रमशः सहज बनाइने भएको छ ।


सवारी परीक्षणसम्बन्धी कार्यलाई विस्तार गर्न प्रदेश ३ को हेटौडा र ५ प्रदेशको बुटवलमा सवारी परीक्षण कार्यालय स्थापना भएको र विराटनगर, बर्दिबासबाट सवारी चालक अनुमतिपत्र नवीकरणको व्यवस्था मिलाइएको मन्त्री महासेठको भनाइ छ ।

प्रकाशित : असार ३२, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?