डा. केसीको स्वास्थ्य नाजुक

६ हजारभन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइयो
एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षा र सेवा सुधारका विभिन्न माग राख्दै १७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ । उनको रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा शनिबार रातिदेखि नै उतारचढाव आइरहेको छ । 

डा. केसीको स्वास्थ्य नाजुक

उनको घाँटीमा समेत संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले बताए । तर आफू अनशनमा रहेकाले कुनै पनि एन्टिबायोटिक नलिने डा. केसीको अडान छ । घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको चिकित्सकको भनाइ छ । उनका नसाहरूसमेत सुन्निन थालेका छन् भने रगतमा सेतो रक्तकोषिकाको संख्या घटदो क्रममा छ ।


संक्रमणको डरले डा. केसी राखिएको कक्षको छेउसम्म मात्र समर्थकलाई आउन दिइएको छ । स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गए पनि उनले चिकित्सकलाई उपचार गर्न दिएका छैनन् ।


भेन्टिलेटर तयारी अवस्थामा

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अनशनस्थलमा आपतकालीन व्यवस्थापनका लागि चाहिने सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको छ ।


‘भेन्टिलेटर र डिफिब्रिलेटर अनशनस्थलमा तयारी अवस्थामा राखेका छौं,’ अस्पतालका मेडिकल डाइरेक्टर रोकायाले भने, ‘इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको छ ।’ उनका अनुसार शनिबारदेखि नै डा. केसीको मुटुको गतिमा असामान्य परिवर्तन देखिएको छ । तर डा. केसी आफ्नो अडानमा रहेकाले आफूहरूलाई उपचार गर्न समस्या भएको उनको भनाइ छ ।


हस्ताक्षर बुझाइयो

नागरिक संघर्ष समितिले केसीका पक्षमा ऐक्यबद्धता जनाउँदै ६ हजारभन्दा बढी हस्ताक्षर र ऐक्यबद्धतापत्र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलमार्फत प्रधानमन्त्रीलाई पठाएको छ । डा. केसी अनशन बसेकै दिनदेखि स्थानीयवासी आन्दोलित छन् । स्थानीयले सोमबार खलंगामा प्रदर्शन गर्दै डा. केसीको जीवनरक्षा र उनको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।


सरकारले तत्काल वार्ता टोली जुम्ला पठाउनुपर्ने उनीहरूको माग छ । स्थानीय महेन्द्र कार्कीले डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै उनको जीवनरक्षाको मागसहित हस्ताक्षरको पोको प्रधानमन्त्रीलाई पठाइएको बताए । ‘डा. केसीका माग सम्बोधन नहुँदासम्म हाम्रो पनि आन्दोलन जारी रहन्छ,’ उनले भने ।


नागरिक समाजका अध्यक्ष राजबहादुर महतको संयोजकत्वमा गठित नागरिक संघर्ष समितिले विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित : असार ३२, २०७५ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?