१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सर्वोच्चको आदेश : बीपी राजमार्गमा ठूला सवारी निर्बाध

यात्रुवाहक बस दिउँसो र मालबाहक ट्रक राति सञ्चालनमा
राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गमा बिहीबारबाट यात्रुवाहक बस र मालवाहक ट्रक गुड्न थालेका छन् । सर्वोच्च अदालतको पछिल्लो आदेशले ३२ सिटे बस र भारवहनसहित १६ टनसम्मका मालवाहक ट्रक सञ्चालनको बाटो खुलेको हो । अदालतको आदेशपछि रुट परमिट भएका यात्रुवाहक बसलाई दिउँसो र मालवाहक ट्रक राति चलाउन खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

सर्वोच्चको आदेश : बीपी राजमार्गमा ठूला सवारी निर्बाध

सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खडका र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ठूला गाडी चलाउन सकिने आदेश दिएको थियो । यसअघि सर्वोच्चकै न्यायाधीश सपना मल्ल प्रधानले जारी गरेको अन्तरिम आदेशमा १८ सिटसम्मको यात्रुवाहक बस र भारवहनसहित १० टनसम्मका ट्रक मात्र सञ्चालन गर्न सकिने फैसला आएको थियो ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका यात्रुवाहक बस र १६ टन भारवहन क्षमताका मालवाहक सवारीसाधन चल्न दिने निर्णय गरेपछि अधिवक्ता कैलाशराज दाहालले राजमार्गको भविष्य खतरामा पर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।


बीपी यातायात सेवा समितिका कान्छामान वलसहितले यात्रुवाहक र मालवाहक सवारीसाधन बीपी राजमार्ग चल्न नदिँदा एकातिर व्यवसायी मर्कामा परेको र अर्कोतर्फ यात्रुले सास्ती व्यहोर्नुपरेको भन्दै अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै रिट दर्ता गरेका थिए ।


‘लामो समयपछि न्याय पाइएको छ,’ समितिका वलले भने, ‘राजमार्ग भनेको यातायातका साधन चल्नका लागि हो न कि रोक लगाउन, अब यात्रुले सास्ती बेहोर्नुपर्दैन भने ढुवानीमा समेत सहजता आउनेछ ।’


न्यायाधीशद्वय खडका र खतिवडाले गरेको आदेशमा नेपाल सरकारले यातायात सञ्चालन, नियमित र व्यवस्थित गर्न आवश्यक प्रबन्ध मिलाउन सक्ने भएको र विवादित निर्णयमा तोकिएको सर्त र परिधिभित्र रही मापदण्ड पूरा गरेका सवारीसाधन चलाउन पाउने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । आदेशमा सुविधा सन्तुलनका दृष्टिले जेठ २१ मा जारी अन्तरिम आदेश रद्द भएको भनिएको छ ।


अन्तरिम आदेश रद्द भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार सवारीसाधन चल्न थालेपछि पूर्वी नेपाल तथा जिल्लाकै दूरदराजबाट यात्रुवाहक सवारी निर्वाध सञ्चालनमा आएका छन् ।


मालवाहक सवारी रोकिँदा जिल्लाको महाभारत उत्तरतर्फ र छिमेकी जिल्ला रामेछाप, दोलखा र ओखलढुंगालगायतका जिल्लाका यात्रुले खेप्दै आएको समस्या हट्ने व्यवसायी तारा दाहालले बताए । ‘अब खाद्यान्न र निर्माण सामग्री सहज ढुवानी हुन्छ,’ उनले भने, ‘ढुवानी सहज नहुँदा उपभोक्ता साना सवारीमा महँगो भाडा तिरेर निर्माण सामग्री खरिद गर्न बाध्य थिए ।’


सिन्धुलीमाढी–खुर्कोट खण्डमा सवारीसाधन चल्न पाउनुपर्ने माग राख्दै व्यवसायी पनि लगातार आन्दोलनमा थिए । अदालतको आदेशपछि मापदण्डका सवारीसाधन सुचारु गरिएको प्रजिअ ज्ञानप्रसाद ढकालले बताए । ‘सरकारको निर्णय कार्यान्वयन हुन्छ, अब निर्बाध सवारी चल्छन्,’ उनले भने ।


रुट परमिट भएका यात्रुवाहक तथा मालबाहक सवारीलाई मन्त्रालयले तोकेको मापदण्डअनुसार चल्न दिएको एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि दैनिक चेकिङको व्यवस्था गरी टाइम कार्डमा कडाइ गरिनेसमेत उनले बताए ।


प्रकाशित : श्रावण ३, २०७५ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?