कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्तब्ध जुम्ला !

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जुम्ला पनि स्तब्ध भएको छ । बिहीबार दिनभर तनावग्रस्त बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सुनसान छ ।

स्तब्ध जुम्ला !

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने लगायतका मागहरु राखेर २० दिनसम्म प्राडा. गोविन्द केसी आमरण अनसन बसेको स्थलमा प्रहरीले बल प्रयोग गरेपछि रणभूमि जस्तै देखिएको थियो ।


प्रहरीले अस्पतालको गेटमा रहेका चिकित्सक र विद्याथीलाई सुरुमै लाठी बर्साउँदै भित्र प्रवेश गरेपछि तनाव श्रृजना भएको थियो ।


हिजो दिनभर रणभूमि बनेको अस्पताल अहिले सुनसान जस्तै देखिएको छ । भौतिक संरचनासहित फर्निचर, बेड र उपकरणहरुमा समेत क्षति पुगेको छ । प्रहरीले बल प्रयोग गरेर अस्पताल भित्रका गेटहरु फुटाएको थियो । अस्पतालमा रहेका चिकित्सक, विद्यार्थी, बिरामीका कुरुवा र बिरामीलाई समेत लाठी बर्साएको प्रहरीको त्रास अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन ।


अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु ठप्प छन् । आकस्मिक कक्षमा पनि बिरामीहरु त्रसित बनेर बस्नु परेको बिरामीका कुरुवाले बताए । हिंसात्मक क्षेत्र जस्तै देखिएपछि बिरामीहरु पनि अस्पताल गएका छैनन् ।


बिरामीले समेत शान्त मनले उपचार गर्न नपाउने यो कस्तो लोकतन्त्र आएको हो बुझ्न नसकिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् । ‘सरकारले अस्पताल जस्तो संवेदना क्षेत्रलाई युद्धभुमी बनायो,’ उनले भनिन्, ‘यो घटनाको जिम्मा सरकारले लिनुपर्छ । प्रदेश सरकार र संघीय सरकार मुख्य दोषी हुन् । अस्पताल भित्रै छिरेर यति धेरै बल प्रयोग गर्नु आवश्यक थिएन ।’

प्रकाशित : श्रावण ४, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?