कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भारतीय महलीसागर बाँधका कारण नेपाली धानबाली डुबानमा

मनोज पौडेल

भगवानपुर (कपिलवस्तु) — भारतले सिमा क्षेत्रमा बनाएको महलीसागर बाँधमा अस्थाई रुपमा काठ राखेर पानी छेकेपछि नेपालको धानबाली डुबानमा परेको छ ।

ढोका मात्र राख्न बाँकी बाँधको १५ फाटकमा एक मिटर चौडा डेढ मटिर लम्बाईको मोटा मोटा सालको पटरा राखेर पानी छेकिएको छ । पटराले ढोकाको काम गरेकोछ । बाँध माथीबाट हिड्न डेढ मिटर चौडा सालको काठ राखेर २५ मिटर बाटो पनि बनाईएको छ । 

महिनादिन अघि नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले उक्त संरचना निर्माण गरेको थियो । बाधसँगै सटेर बोरा र माटो थपेर मजबुत बनाइएको छ । उक्त बाँध सिमा क्षेत्रबाट ३ सय मिटरमा पर्छ । भारतको सिद्धार्थनगर जिल्ला, थाना शोहरतगढ अन्तर्गत महली गाउँमा निर्माणाधिन छ । ०५९ देखि भारतले बनाउन लागेको १५ ढोके बाँध नेपाली पक्षको विरोधका कारण पुरा हुन सकेको छैन् ।

असार दोस्रो साता परेको पानीका कारण कृषकले रोपेको धानवाली डुवानमा परेको छ । साता दिनसम्म २ सय ५० हेक्टर धान रोपेको खेत डुवानमा परेको थियो । ‘त्यसयता पानी नपरेको र वर्षा पनि भएन’ यशोधरा गाउपालिका–६ भगवानपुरका कृषक ईन्द्रजीत यादवले भने, ‘अहिले पनि डेढ सय हेक्टरको वाली डुबानमा छ ।’

धानवाली डुबेपछि पहेलिएर कुहिएकोछ । खेतकै माथी पानीमा तैरिएका छन् । ‘६ लालाबालाको चुल्हो चौको कसरी गर्ने’ ७५ वर्षे फुर्सतअी धुनियाले भने, ‘ऋण जर्गो गरेर १० हजार खर्च गरी ३ विगहामा धान रोपें, सबै डुबेर बोट गलेर मरेकोछ ।’ अब कसरी घर व्यवहार गर्ने भन्ने चिन्ताले रातभर निद्रा पर्न छाडेको उनले बताइन् । उनी जस्तै लौहरौलीका रफिकमोहम्मद नाउ पनि १० कट्टा खेतमा लगाउने धान पानीमा डुबेर गलेर नाश भएको दुखेसो गर्छन् । ‘वर्षेनी सानातिनो रुपमा खेत डुबानमा पर्थ्यो’ उनले भने, ‘तर ठूलो रुपमा ६/७ वर्षपछि नोक्सान भएको हो ।’ भगवानपुर र लौहरौलीका सय बढी कृषक डुबानबाट नराम्ररी प्रभावित भएका छन् । आधीको खेतमा धान स्यार्हन जानै नपर्ने अवस्था छ कृषक परशुराम यादबले बताए ।

प्रकाशित : श्रावण ४, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्