कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाईलाई सुत्केरी भत्ता....

रासस

रत्ननगर, चितवन — रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।

गाईलाई सुत्केरी भत्ता....

नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।


“अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पुर्‍याउनुपर्ने हुन्छ” उनले भने ।


भत्तास्वरुप प्रतिगाईले रु ५०० पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकरी दिएको छ ।


प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले रु ५०० मात्रै दिन लागेको हो ।


रत्ननगर नगरपालिका क्षेत्रमा करीब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १०० गाई फार्म छन् तर स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।


रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २ सय छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ, भन्ने अनुमानले करीब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनको भनाइ छ ।


यसका लागि रु ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले रु २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए । थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताउँछन् ।


“यो रकमले केही हुने त होइन तर पनि सम्बोधन गर्‍यो, सम्झ्यो भन्ने हुन्छ नी,” उनले थपे । सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिननसक्दा धेरै व्यवसायी पलायन भइरहेको समेत किसान भुषालले बताए ।


रत्ननगर जिरौनामा चारवटा गाईपालन गर्दै आएका डोलबहादुर बस्नेतको दुईवटा गाई ब्याउने छन् । “अब गाई ब्याउने वित्तिकै खबर गर्छु,” उनले खुशी व्यक्त गर्दै भने ।

रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउने छन् ।


सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भएपनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिए ।


रत्ननगमा प्रति लिटर दूधको एक रुपैयाँ अनुदानका कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रति लिटर रु एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ ।


यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले रु आठ लाख अनुदान वितरण गरेको जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?