विश्व नेपाली साहित्य सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी

कान्तिपुर संवाददाता

लण्डन — आठ बुँदे घोषणापत्र जारी गर्दै बेलायतको क्यान्टवरी युनिभर्सिटीमा आयोजित विश्व नेपाली साहित्यको दोस्रो सम्मेलन मंगलबार सम्पन्न भएको छ । 

विश्व नेपाली साहित्य सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी

विश्व नेपाली साहित्य महासंघ र नेपाली साहित्य विकास परिषदको सहआयोजनमा आयोजित सम्मेलनमा नेपालबाट कवि तुलसी दिवस, लेखक खगेन्द्र संग्रौला, प्राध्यापक नोवेलकिशोर राई तथा समालोचक गोविन्दराज भट्टराई बिशेष अतिथीका रुपमा सहभागी थिए । सम्मेलनमा जर्मन प्राध्यापक बि. सेन्लरले 'पल्पसा क्याफे उपन्यास र बुद्धत्व' सम्बन्धमा कार्यपत्र पेस गर्दै यो उपन्यासमा पात्र–प्रवृत्तिको विविधता रहेको बताएका थिए ।


प्राध्यापक भट्टराईले 'विश्व साहित्यमा नेपाली साहित्यको स्थान' विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्यका कृतिहरु आज सिगो बाहिरी विश्वरमा पुस्तकालयहरुको अभिलेखमार्फत सुचिकृत हुने क्रममा रहेको जानकारी दिएका थिए ।


सम्मेलनमा नेपाली गीत लेखनका बारेमा गीतकार भावेश भुमरी, युद्ध साहित्यबारे विजय हितान तथा नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता बारेमा विश्वदिप तिगेलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।


नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकार बारेमा साहित्यकार खगेन्द्र संग्रौला र संमग्र नेपाली भाषा–साहित्यको स्थिती बारेमा डा.नोवलकिसोर राईले मन्तव्य राखेका थिए । अतिथि कवि तुलसी दिवसले नेपालभित्र बोलिने सम्पूर्ण भाषाहरुको साहित्य नेपाली साहित्य हो भन्दै नेपाली भाषासाहित्य नेपाल–नेपालीको घेरामा मात्रै अब सिमित नरहेको बताएका थिए ।


अष्ट्रियाबाट आमन्त्रित सहभागी सेला स्टेनरले साहित्यकार झमक घिमिरेबारे बनेको फिल्मको ट्रेलरसहित जानकारी गराएकी थिइन् । भारतको भाक्सुबाट मित्रसेन प्रतिष्ठानकी संरक्षक प्रतिमा दोधराज पनि समारोहमा उपस्थिती थियो । बेलायतका लागि नेपाली राजदूत एवं कवि दुबसु क्षेत्री समारोहमा उपस्थित थिए ।


उक्त अवसरमा साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दुत (सगरमाथा) कवि दिवसलाई र नेपाली साहित्य दुत (धौलागीरी) उपाधी श्रीमति लक्ष्मी राई थापा (लारा) लाई प्रदान गरिएको थियो ।


समारोहमा विश्व नेपाली महासङ्घ आबद्ध स्रष्टाको संकलित रचना संगालो 'बिनेसाम दर्पण’, मस्कोनिवासी कृष्णप्रसाद श्रेष्ठको 'रुसी पल्लव' (अनुदित कृति), डा. गोविन्दराज भट्टराईको 'मेरो पहिलो बेलायत यात्रा', सुनिता राई कन्दङवाको कविता कृति 'एक जुवा घाम', बेल्पाली कवि जानु काम्बाङको 'नउघ्रेको जून' र अर्का बेल्पाली साहित्यकार केदार संकेतको 'बुद्धल्याण्ड टु मदरल्याण्ड' कृतिको लोकार्पण गरिएको थियो ।


सम्मेलनमा जारी आठ बुँदे घोषणापत्रमा 'नेपाली (खस जुम्ली) भाषालाई देव नागरिक लिपिमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भइसकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता' जारी गरिएको छ ।


यस्तै, नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने र नेपाली वर्ण विन्यास (२०६९) र मानक नेपाली भाषा अभियान (२०७४) दुवैको योगदानको सम्मान गर्दै नेपाली लेखनलाई ध्वनी विज्ञानसम्मत लैजान आग्रह गरिएको छ ।


घोषणापात्रमा नेपालभित्र बोलिने १२५ भाषाहरुमध्ये झण्डै २ दर्जन भाषाको कवितालाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?