कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चन्द्रौटाको बजारीकरण : बस बिसौनी बन्यो व्यापारिक केन्द्र 

मनोज पौडेल

चन्द्रौटा (कपिलवस्तु) — शिवराज नगरपालिका–५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाएका थिए । ०४० सालपछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो ।

चन्द्रौटाको बजारीकरण : बस बिसौनी बन्यो व्यापारिक केन्द्र 

बस्तीमा दुई/तीन पक्की घर थिए । बाँकी फुस र खरले छाएका थिए । यही ठाउँ पूर्व–पश्चिम चल्ने बस बिसौनी बन्यो ।

स्थानीयका अनुसार त्यसबेला दुईवटा चिया पसल थिए । तर, यो मुलुकभित्र र भारत ओहोरदोहोर गर्ने सर्वसाधारणका लागि नाका सहर थियो । सबैतिरका यात्रु भेला हुन थालेपछि यहाँको चहलपहल पनि बढ्यो । पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक बनेपछि ०५०/५१ देखि पहाडबाट बसाइँसराइ गरी आउने क्रम सुरु भयो । तर, ०५२ मा तत्कालीन माओवादीको विद्रोह सुरु भएपछि यहाँ सन्नाटा छाउन थाल्यो । मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेका बेला बजार विकास भएन । बसाइँ सर्ने क्रम पनि थामियो । बजार विस्तार रोकियो ।

मुलुकमा विस्तृत शान्ति सम्झौता भएपछि चन्द्रौटा बजार फेरि चम्किन थाल्यो । अहिले आसपास जिल्लाबाट बसाइँ सरेर आउनेको ताँती लागेको छ । एक जमानाको बस बिसौनी अहिले जिल्लाकै व्यस्त बजार बनेको छ । यहाँ मिश्रित बस्ती छ । पहाड, भित्री मधेस र तराईका विभिन्न जातजातिको बसोबास छ । अर्घाखाँची, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी र दाङबाट बसाइँ सरेर आएका छन् । पहाडी, मधेसी, थारु र मुस्लिमबीचको एकता बलियो छ ।


केन्द्र बन्दै


शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी ०४० सालतिर बैंकमा पैसा राख्न/झिक्न परे ३५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम तौलिहवासम्म साइकल चलाएर पुग्थे । तर, अहिले यस्तो दु:ख छैन । चन्द्रौटा बजारमै १८ वाणिज्य बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । चिल्ला सडक छन् । ठूला घर र पूर्वाधार निर्माण भएका छन् । दुईदेखि चारपांग्रे सवारीका साधन घरदैलोमै पुग्छन् । आधारभूत आवश्यकता आँगनमै पूरा भइरहेका छन् । तीव्र बजारीकरण छ । बसाइँसराइ पनि द्रुत गतिमा भइरहेकाले चन्दौटा सहरोन्मुख बजार बनेको छ । प्रमुख व्यापारिक केन्द्र बन्दैछ ।

राजमार्ग दायाँबायाँ बाक्लो बस्ती छ । यहाँबाट दाङ, अर्घाखाँची, प्यूठान र रोल्पासम्म व्यापार हुन्छ । अर्घाखाँची, प्यूठान र रोल्पाका लागि आवश्यक ७० प्रतिशत खाद्यान्न यहीँबाट आपूर्ति हुन्छ । तराई र पहाडी जनजीवनको आनन्द लिन पनि चन्द्रौटा उपयुक्त स्थल बनेको छ । मुलुकका ६ ठूला भन्सार नाकामध्येको यो कृष्णनगरसँग जोडिएको नजिकको बजार हो । बजारको पँहुच भारतीय राष्ट्रिय रेल सञ्जालसम्म छ । बढनी रेल्वे स्टेसन पनि नजिकै छ । चन्द्रौटाबाट कृष्णनगर २० किमि दक्षिणमा छ । ४, ५ र कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका नागरिक भारत आउजाउ गर्न यही नाका प्रयोग गर्छन् ।


बिना गुरुयोजनाको बजार


यहाँ व्यवस्थित सहर बसाउने गुरुयोजनाको भने अभाव छ । ‘गुरुयोजना नहुँदा कस्तो सहर बनाउने अन्योल छ,’ कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले भने, ‘कुन ठाउँमा के निर्माण गर्ने भन्ने योजना छैन, जहाँ पायो त्यहीँ विकासका नक्सा कोर्दा समस्या भइरहेको छ ।’ औद्योगिक, व्यापारिक, पर्यटन र बस्ती क्षेत्र छुट्याएर पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए । अहिले समस्या नभए पनि भविष्यमा नराम्रो असर गर्ने हुँदा नगरपालिकाले छिट्टै गुरुयोजना बनाउनुपर्नेमा पोखरेलले जोड दिए ।

‘योजना बनाउन रकम लाग्ने हुँदा धेरैले नाक खुम्च्याउँछन्,’ स्थानीय विष्णुप्रसाद खतिवडाले भने, ‘तर, योजना अनुसार काम गर्दा पाँच/सात वर्षपछि त्यसको परिणाम देखिन्छ ।’ व्यवस्थित कामका लागि नेतृत्व अभाव भएकाले यहाँको विकासले गति लिन नसकेको स्थानीय हुमाकान्त खनालले बताए । घर बनाउने र जीविकोपार्जनका लागि व्यापार फस्टाए पनि शिक्षा, स्वास्थ्य, मनोरंजन र रोजगारीको अवसर नभएको उनले बताए ।


सुरक्षा चिन्ता


चन्द्रौटा औद्योगिक हब बन्ने क्रममा छ । तर, यहाँको मुख्य समस्या भने शान्ति सुरक्षा रहेको चन्द्रौटा उद्योग वाणिज्य संघका उपाध्यक्ष ईश्वरी पाण्डेले बताए । धेरै उद्योगधन्दा यहीँ स्थापना गर्न खोजे पनि उद्योगमैत्री वातावरण नहुँदा समस्या भइरहेको उनले बताए । ‘उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नेभन्दा कसरी दु:ख दिएर कमाउन सकिन्छ भन्ने सोच छ,’ उनले भने, ‘उद्योग स्थापना भए आय आर्जन हुन्छ भन्ने मान्यता नै स्थापित हुन सकेको छैन ।’

यहाँबाट विजया, विश्वकर्मा, गणपति र बुद्ध सिमेन्ट उत्पादन हुँदै आएका छन् । पछिल्लो समय शिवराज–६, वीरपुरमा पाँच नयाँ सिमेन्ट उद्योग थपिँदै छन् । बालाजी, शुभलक्ष्मी, अटल, देउराली र भू–गर्भ सिमेन्ट उद्योग छिट्टै संचालनमा आउने तयारीमा छन् । मैदा र छड उद्योग पनि सञ्चालनको तयारीमा छन् । प्लाइउड, सख्खर, हाड पिसानीलगायतका दुई दर्जनभन्दा बढी उद्योग छन् । उद्योगीलाई नगरपालिकाले प्रोत्साहन गर्नुपर्ने व्यवसायी बताउँछन् ।


उपचार र शिक्षाको अभाव


यहाँ भरपर्दो अस्पताल छैन । उपचारका लागि रुपन्देहीको बुटवल र चितवनको भरतपुर पुग्नु पर्छ । व्यवस्थित अस्पताल छैनन् । उच्च शिक्षाका लागि पनि जिल्लाबाहिर जानुपर्छ । राम्रा र स्तरीय शिक्षालयको पनि अभाव छ । प्राविधिक क्याम्पस छैनन् । स्तरीय होटलको अभाव छ । पर्यटक आकर्षित गर्ने पूर्वाधार छैनन् । अहिलेसम्म चन्द्रौटा बजारमा धेरै परिवर्तन भइसक्नु पर्ने कपिलवस्तु व्यापार संघ अध्यक्ष पोखरेलले बताए । ‘पूर्वाधार विकास हुने प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘योजना, इच्छाशक्ति र उत्साह नहुँदा पछि परेको हो ।’


शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी चन्द्रौटाको विकास उल्लेख्य मात्रामा भएको बताउँछन् । उनका अनुसार नगरभित्र परिवर्तन नदेखिएको छ । सडक, पुल र पक्की ढल निर्माण भएका छन् । ‘बिस्तारै परिवर्तनको अनुभूति हुन्छ,’ उनले भने, ‘हामी योजनाबद्ध ढंगले अगाडि बढ्ने तयारीमा छौं ।’


प्रकाशित : भाद्र ३, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?