१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ठगिँदै तामाकोसीका सेयर आवेदक

राजेन्द्र मानन्धर

दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि साउन १६ गतेदेखि आवेदन खोलेपछि सेयरका वाहनामा विभिन्न धन्दा पनि भइरहेका छन् । सदरमुकाम चरिकोटमा एक बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिएर एक परिवारलाई ५० हजारका दरले ऋण लगानी गरेको छ ।

ठगिँदै तामाकोसीका सेयर आवेदक

उक्त सेवा लिन खातावालालाई पाँच हजार अगाडि नै जम्मा गर्न लगाइएको छ । धितोपत्र बोर्डको नियमविपरीत सेयर आवेदन गरेको अर्धकट्टी बैंक आफैंले राखिरहेको छ । चेकबुक दिइएको छैन । मात्रै एउटा चिर्केटोको भरमा सेयर आवेदनको निस्सा ठानेर करिब एक हजार दोलखावासीले उक्त बैंकबाट सेयर आवेदन भरेका छन् । उक्त अभियान सञ्चालन गर्ने सिद्धार्थ बैंक चरिकोट शाखाले लगानी सुरक्षाका लागि परिधिभित्र रहेर सेवा दिएको बताएको छ ।


माथिल्लो तामाकोसी आयोजनाले सेयर आवेदन गर्दा ठगीमा नपरुन् भनेर बजार क्षेत्रबाहेक प्रत्येक वडालाई फारम भरिदिन स्वयंसेवक् भर्ती गर्न २० हजारका दरले भुक्तानी गर्ने नीति बनाएको छ । फारम भरिदिने स्वयंसेवकको व्यवस्था हुँदाहुँदै कालिञ्चोक गाउँपालिकामा फारम भरिदिएबापत नागरिकले ५० रुपैयाँ तिर्नु परेको छ । उक्त गाउँपालिकास्थित लापिलाङमा सेन्चुरी बैंकले प्रति नागरिक १३ सय ५० रुपैयाँ लिएर सेयर संकलनका लागि खाता खोलिरहेको स्वीकारेको छ ।


खाताको एक हजार, डिम्याटको दुई सय र फारमलगायत सेवा शुल्क डेढसय उठाइएको जानकारी आएको जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले बताए । सेयर हाल्ने जनता विभिन्न वाहना ठगिएको जानकारी आएपछि त्यस्तो कार्य बन्द गर्न समन्वय गरिरहेको उनले बताए ।


सेयर खुलेपछिका भइरहेको अनेक धन्दाहरुका बीच १५ दिनमा करिब ७५ नागरिकले आवेदन दिइसकेका । लगभग दुई लाख जनाले अझै आवेदन भर्न बाँकी छ । सेयर खरिद प्रक्रियामा सबै दोलखाली सहभागी गराउने अभियान चलिरहँदा कतिपय निकाय भने मौकाको लाभ लिन व्यस्त छन् । भूकम्प प्रभावित जिल्ला दोलखाका प्रत्येक परिवारमध्ये एक जनाको बैंक खाता छ । धेरैजसो बैंकले उही खातामार्फत सेयर रकम जम्मा गरे पनि हुने व्यवस्था छ । तर, मेघा बैंक र सेच्चुरी बैंकले भूकम्पको अनुदान लिने प्रयोजनका लागि खुलेका खाताले चल्दैन भन्दै अर्को खाता खोल्न लगाइरहेको छ ।


नेपाल राष्ट्र बैंकको नीति अनुसार एक व्यक्तिको एउटै बैंकमा दुई वटा खाता खोल्न पाइँदैन । यदि दुई वटा खाता भए एउटा बन्द गर्नुपर्ने नीति छ । नीतिजस्तो भए पनि भूकम्पपीडितको खाता अस्थायी प्रकृतिको भएको भन्दै सेयर प्रयोजनका लागि अर्को खाता भर्न लगाइरहेको बैंकले स्वीकारेको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बैंक र अन्य निकायहरुबाट सेयर आवेदन गर्ने नागरिकसँग अनेक वाहनामा रकम उठाइरहेको बारे जानकारी प्राप्त भएकोले कारबाही सुरु गरिसकेको बताए ।


तामाकोसीको सेयर फारमको दुई रुपैयाँ पर्छ । फारम अभाव देखाएर एजेन्टहरुले भरेको समेत भनेर डेढसयसम्म असुलेको पाइएको छ । प्रायजसो: दुर्गम भेगमा सेयर आवेदन भर्न पुगेका दलालहरुबाट जथाभावी रकम असुलीरहेको जानकारी आएको छ । कहीं ५/६ सय, कहीं ६/७ सय त कहीं १५ सयसम्म असुलउपर भइरहेको उजुरीहरु प्रमुख जिल्ला अधिकारीसमक्ष आइरहेका छन् । त्यतिमात्रै हैन, फारम भर्न सदरमुकाम चरिकोट आउजाउ गर्ने नागरिकले १८ किलोमिटर यात्राको साढे दुई सयसम्म लिएको गुनासो सुनेपछि त्यसको नियमनमा प्रमुख जिल्ला अधिकारी आफैं सक्रिय हुनुपरेको बताउँछन् । निजी सवारी साधनहरुले चर्को भाडा लिएर सेयर आवेदन गर्न आउनेलाई ठगी गरिरहेको सुनेपछि कारबाही सुरु गरिसकेको प्रजिअ पाठकले बताउँछन् ।


दोलखालीका लागि आयोजनाले १० प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँको सेयर संकलन थालेको छ । पौन एक लाख दोलखालीबाट झण्डै १५ दिनमा पौने दुई अर्ब रुपैयाँ जम्मा भइसकेको छ । प्रत्येक दोलखालीले ३० देखि तीनसय कित्ता अर्थात् तीन हजारदेखि तीस हजारसम्म जम्मा गरिरहेका छन् ।

क, ख र ग मा वर्गीकरण गरेर सेयर वितरण गर्ने नीति छ । न्यून कित्तामा चित्त बुझाउनुपर्ने भए पनि छिमेकी देश भारतलगायत जहाज चढेर सेयर आवेदन गर्न आउनेहरु पनि छन् । दसैं-तिहारमा मानिसहरु जिल्ला फर्किएजस्तै चाप छ ।

सेयर आवेदन गर्न जनताको चाहना र उत्साहलाई गलत फाइदा नलिन माथिल्लो तामाकोसीले आग्रह गरेको छ ।


आयोजनाको प्रवक्ता गणेश न्यौपानेले एक व्यक्तिले अनेक वाहनामा सेयर आवेदन गर्दा २५ सयसम्म अतिरिक्त खर्च गरिरहेको गुनासोहरु आइरहेको बताए । त्यस्तो ठगी गतिविधिलाई रोक्न आयोजनाले पहल गर्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सेयर संकलन गर्ने र आवेदन गर्ने दुवैपक्षलाई ठगीवाट सचेत हुन सूचना जारी गर्न आयोजनालाई सुझाव दिइसकेको छ ।


प्रकाशित : भाद्र ३, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?