जनकपुरमा फोहोरैफोहोर [फोटोफिचर]

शाहीमान राई

जनकपुर — यतिबेला जनकपुर सहरको फोहरमैला व्यवस्थापन र सरसफाइको विषय जनकपुरधाम उपमहानगरपालिकाको निम्ति मात्र होइन, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत चुनौती बनेको छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउने जनकपुरधामको मुख्यबजार, चोक, गल्ली, ढल, सडक किनारा, फुटपाथ, जताततै फोहरका डङ्गुर छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुर सहर घुम्न आउनेहरुको पहिलो नजर फोहर मैलामा पर्ने गरेको छ । फोहर मैला व्यवस्थापन गर्न नसक्दा जनकपुरवासी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको शिर निहुरिने अवस्था बन्न थालेको छ । सहरवासी, बजार, पसल, होटल, लज, डेरावाला, स्थानीय बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रा, फलफूल तरकारीका बोक्रालगायत अधिकांश फोहर सडक किनारा, चोक, गल्ली, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् ।

शैक्षिक भ्रमण, धार्मिक यात्रा तिर्थाटनका लागि आउने अधिकांश यात्रुले जनकपुरको फोहर मैलाको दुर्गन्ध देखेर भन्छन् –‘यो त जनकपुर होइन, फोहरपुर रहेछ ।’ फोहर पानी, प्लास्टिक, कागजका टुक्रा, फोहर मैलाले ढल भरिएर सडकमा बग्छ । वर्षात्‌को बेला घर आँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । त्यही पानी बगेर जनकपुरमा स्वच्छ र पवित्र मानिएका तालपोखरी भरिने गर्छन् । दुषित पानीले ताल पोखरीका माछा मर्ने गरेका छन् । दुर्गन्धले सहरको जनस्वास्थ्य प्रभावित भएको छ । दुर्गन्धले खाना खान रुची नहुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

जनकपुर उपमहानगरपालिकाले एसियाली विकास बैंकको एक अर्ब ९० करोड रुपैयाँ लगानी, सहरी विकास तथा भवन निर्माण विभागलगायत निकायको आर्थिक सहयोगमा सहरभित्र सडक विस्तार, ढल निकास, ड्रेन, ह्युमपाइप हालेर ढल भूमिगत बगाउन ठाउँठाउँमा ड्रेन निर्माण गरिए पनि केही क्षेत्रमा स्थानीयको विवाद र अवरोधका कारण पूरा भएका छैनन् । सहर दुर्गन्धित बन्नुमा उपमहानगरपालिकाले ढल निकास र फोहर मैला व्यवस्थापन गर्न नसक्दा हो । फोहर मैला व्यवस्थापनको निम्ति डम्पिङसाइड छैन । समाजमा जनचेतनाको अभाव र स्थानीयवासीको असहयोगले सरसफाइ योजना प्रभावकारी हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ ।

फोहरमैला व्यवस्थापन, कार्यालय र सडक सरसफाइका लागि उपमहानगरपालिकामा ४१ जना स्थायी, १२ जना करार र ५० जना दैनिक ज्यालादारी गरी एक सय ३ जना स्वीपर कर्मचारी कार्यरत छन् । फोहर मैला व्यवस्थापनका लागि उपमहानगरपालिकासित एक टिपर, दुई ट्रयाक्टर र एउटा स्काभेटर छन् । ४ वटा ट्रयाक्टर र एउटा टिपर भाडामा लिइएको छ ।


प्रकाशित : भाद्र ३, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्