कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

राजु चौधरी

काठमाडौँ — कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् । 

कालीमाटी तरकारी बजार अनुगमनमा गएकाे टोली र व्यापारीबीच विवाद

सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए । उक्त टाेलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो ।

काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजात माग्दा नपाएपछि टाेलीले नियन्त्रणमा लिएकाे थियाे। त्यसपछि त्यहाँ विवाद बढेको हो ।


अनुगमन स्थलमा विवादकाे समाधान नभएपछि वार्ताका लागि ब्यापारीहरुलाई १० बजे अापूर्ति बिभागमा बोलाइएको छ ।

आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भित्र रहेको अगुगमन टोलीलाई छुटाएर व्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।


काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अाचार्यका अनुसार सामान्य विषयलाई लिएर अनुमगनमा गएको टोली र व्यापारीबीच केही बेर वादविवाद भएको र अहिले स्थिति सामान्य भइसकेको छ ।


आपूर्ति सचिव चन्द्र घिमिरेले सिण्डिकेट र बिचौलिया हाबी हुँदा यस्तो स्थिती आएकाले अनुमगन अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित : भाद्र ४, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?