कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पहिरो पन्छाउन एक साता

बेंसीसहर-चामे सडक खुल्यो
आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको चामे नजिकै कोतो क्षेत्रको पहिरो पन्छाउन एक साता लागेको छ । पहिरो पन्छाएसँगै सवारी आवागमन सुचारु भएको छ ।

पहिरो पन्छाउन एक साता

अघिल्लो मंगलबार गएको पहिरो पन्छाएपछि मंगलबारबाट सवारी साधनको आवातजावत सहज बनेको स्थानीयले बताएका छन् । कमलो माटो भएकाले तत्काल ठूला मालबहाक सवारी साधनलाई भने रोक लगाएको छ ।


मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि यसको कटानले चामे गाउँपालिका ३ कोतो र तिर्चुङल्डाबीचको सडकमा पहिरो गएको थियो । डेढसय मिटरको सडकमा पहिरो गएपछि हिमाली जिल्ला मनाङ जाने सडक १ सातासम्म अवरुद्ध भएको थियो ।


स्थानीय रमेश लामाका अनुसार पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको छ । यसअघि तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । ‘बाटो बन्द भएपछि सवारी साधन यतिकै अलपत्र थियो । पर्यटक, स्थानीय घुमाउरो बाटो प्रयोग गरेर हिँड्न बाध्य भएका थिए’ उनले भने, ‘सडक खुलाएपछि सबैलाई सहज भएको छ ।’


चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार डोजर ल्याएर बाटो खुलाइएको हो । आर्थिक व्ययभार डिभिजन सडक कार्यालय दमौलीले व्यहोर्ने गरी दुईवटा डोजर प्रयोग गरेर बाटो खुलाइएको उनले बताए ।


‘सडक बगाएकै दिनदेखि बाटो खुलाउने प्रयास गर्‍यौँ । दिनदिनै पानी परेकाले प्रयास असफल रह्यो । २/३ दिन पनि बिदा भयो । डोजर लगाएर पहिरोमै बाटो बनायौँ ’ उनले भने, ‘बाटो खुलेसँगै सवारी साधन, यात्रु, बटुवा तथा पर्यटकलाई सहज भएको छ ।’


डीएसपी खड्कबहादुर खत्रीका अनुसार सडक खुलेपछि सवारी साधन छल्न थालेको छ । ‘रोकिएका सवारी साधन र पर्यटक गन्तव्यमा जान थालेका छन्’ उनले भने ।


पानी परे फेरी पनि पहिरो जान सक्ने भएकाले बाटोलाई फराकिलो बनाउनेतर्फ लागेको उनले बताए । ‘अहिले गाडी गुड्ने बनाएका छौँ । यसलाई फराकिलो बनाउन आवश्यक छ’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?