कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

इमरान सरकारी निवासमा बसेनन् 

 प्रधानमन्त्री निवास अनुसन्धान विश्वविद्यालय बन्ने
एजेन्सी

इस्लामावाद — पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानले सोमबार विभिन्न लोकप्रिय निर्णय गरेका छन् । 

इमरान सरकारी निवासमा बसेनन् 

आफ्नो इनिङ आक्रामक रुपमा सुरु गरेका खानले दरबार जस्तो प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालयमा परिणत गर्ने घोषणा गरेका छन् । उक्त घोषणासँगै खान सैनिक सचिवालयको सामान्य तीन बेडरुमको घरमा सरिसकेका छन् ।


उनले आफूले बानिगालास्थित घरमा बस्न चाहेपनि सुरक्षा अधिकारीले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन् ।


उनले विगतमा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत ५ सय २४ जनाको टिमलाई २ मा सीमित पार्ने जनाएका छन् ।

खानले विगतमा प्रधानमन्त्रीका लागि छुट्याइएका ३३ वटा बुलेट प्रुफ कारसहित ८० वटा गाडी लिलामीमा बिक्री गरी शिक्षाबाट वञ्चित करिब २ करोड बालकालिकालाई विद्यालय पढ्न पठाउने जनाए । खानले लिलामीमा राखिने गाडी खरिदका लागि व्यपारीलाई आह्वान समेत गरे ।


प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टर समेत विक्री गर्ने जनाउँदै खानले उक्त रकम मातृशिशु मृत्युदर घटाउन खर्चने घोषणा गरे । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै राज्यको खर्च कम गर्न आफुले सेवासुविधा कम गर्न लागेको बताए ।


‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार, उड्नलाई हेलिकप्टर र जहाज छन् । तर जनताका आवश्यकता पुरा गर्ने पैसा छैन,’ इमरानले भने । उनले विगतका शासकले नवउपनिवेश कायम गर्ने गरेको आरोप लगाए ।


खानले प्रधानमन्त्री तथा उच्चपदस्थ व्यक्तिको भ्रमणमा हुने अनावश्यक खर्च कटौती गर्ने जनाए । उनले सबै सरकारी निवासहरु सकेसम्म सामान्य बनाउने बताए । उनले नयाँ सोचले मात्र नयाँ पाकिस्तान बन्ने उल्लेख गरे ।


यसअघि खानले देशमा भ्रष्टाचारको अत्य गर्न अभियान नै चलाउने बताएका थिए । भ्रष्टाचारीप्रति शून्य सहनशिलता अपनाउने बताउँदै इमरानले राष्ट्रको सम्पत्ति लुट्नेलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


पाकिस्तान मुस्लिम राष्ट्रका रुपमा स्थापित भएदेखि नै जनताले स्थायित्व र सुशासनको लागि प्रतिक्षा गरेपनि ७१ वर्ष खेर गएको दाबी गर्दै उनले भने, ‘अब म देशवासीको परिवर्तनको चाहना पूरा गरेरै छाड्छु ।’


उनले आफू राजनीतिक परिवारको सदस्य नभएको बताउँदै आफूले जनतासमक्ष गरेका बाचा पुरा गर्ने प्रतिबद्धता जनाए । उनले पाकिस्तानमा भ्रष्टाचार मौलाएका कारण जनतामा छाएको निराशाको अन्त्य गर्ने दाबी गरे ।

प्रकाशित : भाद्र ५, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?