२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मलेसियामा विशाक्त मदिरा सेवन प्रकरण : ६ जना नेपाली सहित १९ जनाको मृत्यु [अपडेट]

१६ नेपालीको उपचार हुँदै, केहीको अवस्था गम्भीर

क्वालालम्पुर — मलेसियामा गत सोमबार विशाक्त मदिरा सेवन गरेपछि बिरामी परेका भनिएका ६ जना नेपालीसहित १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबैजना पुरुष रहेका छन् । 

मलेसियामा विशाक्त मदिरा सेवन प्रकरण : ६ जना नेपाली सहित १९ जनाको मृत्यु [अपडेट]

दूतावासबाट प्राप्त पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा मिम बहादुर घले (बसेरी–३ धादिङ), रामकुमार यादव (मसिना–६, रुपन्देही), बिशाल बुढाथोकी (अमरगढी–५, डडेलधुरा), सञ्जय उराव (पश्चिमकुसाहा–९ सुनसरी), बल बहादुर कुलुङ (सिद्धिथुम्का–९, इलाम) र आइत सिंह गोले (ठेगाना खुल्न बाँकी) रहेका छन् ।


१६ जना नेपालीको यहाँका सुंगाईबुलो, काजाङ, बान्तिङ, आम्पाङ र क्लाङस्थित अस्पतालहरुमा उपचार भइरहेको दूतावासले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ती बिरामीमध्ये कतिपय गम्भीर अवस्थामा रहेका छन् ।


‘हामी मंगलबार राती सुंगाईबुलो र काजाङस्थित अस्पतालमा पुग्यौँ । त्यहाँ उपचाररत रहेका नेपालीलाई भेट्यौँ । ’ कार्यबहाक राजदूत कुमार राज खरेलले भने, ‘मृतक र बिरामी नेपालीको अवस्था बुझ्दा ६ जनाको मृत्यु भएको र १६ जना उपचाररत रहेको पाईयो ।’


मलेसियाली स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ एक सूचना जारी गर्दै नेपालीसहित १९ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक स्थानीय रनेपालीसहित म्यानमार, भारत, बंगलादेशका नागरिक रहेका बताइएको छ । यद्यपी मृतकहरुको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।


मन्त्रालयका अनुसार ‘मेथानोल’ मिश्रित विशाक्त मदिरा सेवन गरेपछि उनीहरुमा त्यस्तो समस्या देखिएको ठानिएको छ । बिरामी परेका ५१ जना अस्पतालमा आएका पाइएको जनाएको छ । यस्तो समस्या लिएर अस्पताल आउनेमा ६ जना क्वालालम्पुरमा र ४५ जना सेलाङगरका अस्पतालमा आएका पाइएको छ ।


स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अस्पतालबाट ९ जना उपचारपछि घर फर्किसकेका छन् भने २३ जना अझै उपचाररत छन् । ती मध्ये १६ जना नेपाली छन् । मन्त्रालयका अनुसार बिरामीमध्ये १४ जनाको अवस्था गम्भीर छ । ती बिरामीहरुमा पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र श्वास फेर्न अफ्ठ्यारो हुने लगायतका लक्षणहरु देखिएको बताइएको छ ।


उनीहरुले म्यानडले ह्विस्की, किङफिसर बियर र ग्राण्ड रोयल ह्विस्की नामक मदिराहरु सेवन गरेपछि आफूहरुलाई यस्तो समस्या देखिएको डाक्टरलाई बताएका समाचारहरुमा उल्लेख गरिएको छ ।


ती मदिरा र सम्बन्धित बिरामीका रगत, पिसाब थप अनुसन्धान एवं परीक्षणका लागि ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’मा पठाइएको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले उक्त घटनापछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरेको छ । साथै घटनाबारे छानबिन गरी त्यस्तो मदिराको विक्री वितरण एवं उत्पादन गर्नेमाथि अनुसन्धान अघि बढाउन भन्दै प्रहरीकहाँ उजुरी गरेको जनाइएको छ ।

अधिकारीहरुले ५ नेपालीको मृत्यु भएको संगाईबुलोस्थित दुई किराना पसलहरुबाट घटनासँग सम्बन्धित ठानिएको मदिरा जफत गरी जाँचका लागि प्रयोगशालामा पठाइएको बताएका छन् । विशाक्त मदिरा विक्री वितरण वा उत्पादन गरेमा ५० हजार रिंगिटदेखि एकलाख रिंगिट जरिवाना वा १० वर्ष जेल वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान रहेको बताइन्छ ।

दूतावासले यस्ता हानिकारक र निम्नस्तरका मदिरा सेवन नगर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।


मलेसियामा नेपालीमा देखिने समस्याहरुमध्ये स्वास्थ्य समस्या पनि एक हो । पछिल्ला सरकारी तथ्यांकलाई हेर्ने हो भने प्रत्येक साता सरदर ४ जना नेपालीको विभिन्न कारण मृत्यु हुने गरेको छ । तीमध्ये अधिकांशको सुतेकै अवस्थामा मृत्यु हुने गरेको पाइएको छ । तर यसो हुनुका कारणबारे अझैसम्म पनि सरकारी तहबाट गहिरो अध्ययन एवं अनुसन्धान भएको छैन ।

प्रकाशित : आश्विन ३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?