कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नारायणगढमा लाखे नै लाखे

रमेशकुमार पौडेल

चितवन — नारायणगढ बुधबार लाखे नै लाखेमय भएको छ । एकाध हैन धेरै नै लाखेले बिहान एक पटक बजार घुमी सके । ति लाखेहरुको खास रमाइलो दिउँसो नारायणगढ बसपार्कमा देख्न पाइने छ ।

नेवार समुदायमा प्रचलित लाखे नाँचको आजबाट नारायणगढमा राष्ट्रिय प्रतियोगिता सुरु हुने छ । औपचारिक उद्घाटन दिउँसो हुने भए पनि बिहान शोभायात्र निस्केर लाखेहरु बजार घुमे । 

लोक संस्कृति तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले प्रतियोगिता आयोजना गरेको हो । भोलिसम्म चल्ने प्रतियोगितामा २५ जिल्लाका ४६ टोलीले भाग लिएको आयोजक संस्थाका अध्यक्ष निर्जनलाल श्रेष्ठले जानकारी दिए । निवर्तमान अध्यक्ष राजेन्द्र पियाले विसं २०६४ सालदेखि नारायणगढमा लाखेनाच प्रतियोगिता हुने गरेको बताए । 

पहिला नाराणगढ बसपार्क टोल सुधार समितिले प्रतियोगिता आयोजना गर्दथ्यो । टोल सुधार समितिको सक्रियतामा नै लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान गठन भएको हो । टोल सुधार समितिको आयोजनामा चार पटकसम्म प्रतियोगिता भएको छ । प्रतिष्ठानले गर्न लागेको अहिलेको प्रतियोगिता छैठौं हो । प्रतियोगितामा पुर्व इलाम र संखुवासभा तथा पश्चिममा पाल्पा र जाजरकोटका समूहले भाग लिँदै छन् ।

विजयी समूहले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउने छ । त्यसै गरी चारवटा समूहले सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ पाउने पियाले बताए । झप्ल्याङ्गको कपाल, दाह्रा निस्केको ठुलो डर लाग्दो मुखौटा र अनौठो भेषभुषा लगाएर ढोलक र झ्यालीको तालमा लाखे नाच्ने गर्छ । 

नेवार समुदायमा जन्माष्टमी वा गठेमंगलदेखि इन्द्रजात्रासम्म लाखे नाच्ने परम्परा छ । मल्ल राजाका पालमा नै लाखे लाचको चलन सुरु भएको पियाले बताए । ‘नेवार समुदायहरु देशका जुन भागमा छन त्यहाँ लाखे नाँच्ने चलन छ । विधि र समय केही फरक होला तर लाखे नाँच्ने गर्छन्,’ अध्यक्ष निर्जनलाल श्रेष्ठले भने । 

प्रकाशित : आश्विन ३, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्