कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

रासस/याेन्हाप

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि सुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए ।

सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्ने छ ।


दर्ता गराउने समयसीमा बिहान ११ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशन गर्नेछ ।


शुक्रबार बिहान ११ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।


सचिवालयले एकभन्दा बढी समितिमा सदस्य रहनुभएका प्रधानमन्त्री, मन्त्रीहरुले आफू कुन समितिको मतदानमा सहभागी हुने लिखितरुपमा सभामुखलाई उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।


प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन् ।


यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य र सार्वजनिक लेखा समिति रहेका छन् । यसअघि राष्ट्रियसभाअन्तर्गतका चारवटा विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

प्रकाशित : आश्विन ३, २०७५ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?