कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अपराध घटाउन प्रविधि प्रयोग

अपराधीलाई तत्काल पक्राउ गर्न सहयोगी हुने गरी बिहीबारबाट मोबाइल एप

मोरङ — जिल्ला प्रहरी कार्यालय मोरङले अपराध कम गर्दै अपराधीलाई तत्काल पक्राउ गर्न सहयोगी हुने गरी बिहीबारबाट मोबाइल एप प्रयोगमा ल्याएको छ । एपको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरे । 

अपराध घटाउन प्रविधि प्रयोग

‘हाम्रो सूचना हाम्रो सुरक्षा’ मोबाइल एपमा कुनै शंकास्पद वा आपराधिक घटनाबारे तत्काल सर्वसाधारणले क्लिक गर्ने बित्तिकै प्रहरीलाई घटनास्थलको जीपीएस लोकेसनसहितको सूचना प्राप्त हुने जनाइएको छ ।


प्रहरीले तत्काल उक्त लोकेशनमा पुगेर अपराध हुनबाट रोक्ने उल्लेख गरेको छ । प्रहरी उपरीक्षक मनोजकुमार केसीले डाटा वा वाइफाइबाट मोबाइलमा एपको इमर्जेन्सी बटम थिच्नेबित्तिकै प्रहरी कन्ट्रोल रूपमा साइरन बजेर जिपिएस लोकेशन प्राप्त हुने बताए ।


कन्ट्रोल रूममा प्राप्त सूचनाको आधारमा नजिकको प्रहरी इकाईलाई तत्काल घटनास्थलमा खटाएर सम्भावित अपराधिक घटना रोक्न वा अपराधी समात्न यो एपले मद्दत गर्ने उनले बताए ।


‘सर्वसाधारण र प्रहरीका लागि छुट्टाछुट्टै मोबाइल एप छ,’ उनले भने, ‘नयाँ एप चलाउन केही चुनौती रहे पनि अपराध नियन्त्रणमा प्रभावकारी हुन्छ ।’ उनले यसअघि आपराधिक घटनाको सूचना आए पनि लोकेशन पत्ता लगाउन समय लाग्दा प्रहरी घटनास्थलमा ढिलो पुग्ने बाध्यता अब समाप्त भएको बताए । जिल्लास्थित प्रत्येक प्रहरी इकाईमा एप प्रयोगमा ल्याइसकिएको उनले बताए ।


प्रहरीले पनि अब डयुटीमा खटेको वा घटनास्थलमा नगइकनै गएको भनेर ढाँट्न पाउँदैनन् । एपको जिपिएस लोकेशनले प्रहरी टोली कहाँ पुगेको जाँच्न सने भएको छ । केसीले प्रहरीलाई सूचना आदान प्रदान गर्न एपले गर्दा सहज भएको बताए । घटनास्थलमा रहेको प्रहरीले कार्यालयमा सूचना दिनुपर्दा एप्ममा नै क्लिक गरेर गर्न सकिने उनको भनाइ थियो ।


प्रदेश १ प्रहरी प्रमुख डीआइजी केदार रिजालले यो प्रविधि प्रणालीलाई प्रदेशभरका १४ जिल्लामै लागू गर्ने बताए । ‘मोरङमा लागू भएपछिको प्रभावकारीतालाई हेरेर यो प्रविधिलाई विस्तार गर्दै १४ वटै जिल्लामा पुर्‍याउँछौं,’ उनले भने, ‘यो प्रविधिले अब प्रहरी घटनाको सूचना पाउने बित्तिकै नआइदिएको जनगुनासो कम हुन्छ ।’

प्रकाशित : आश्विन ४, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?