२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

डाक्टर पढाउँदै नगरपालिका

राजबहादुर शाही

मुगु — छायानाथ नगरपालिकाले ढुम गाउँका देवीकृष्ण विकलाई दन्त चिकित्सा अध्ययन गराउने भएको छ । नगरपालिकाको सहयोगमा उनलाई बंगलादेशको रंगपुर डेन्टल एन्ड सिटी हस्पिटलमा अध्ययनको व्यवस्था मिलाएको हो ।

डाक्टर पढाउँदै नगरपालिका

विकको अध्ययनका लागि नगरपालिकाले ५ लाख रुपैयाँ दिइसकेको छ । दोस्रो वर्षका लागि थप ५ लाख रुपैयाँ दिने भएको छ ।


नगरपालिकाले अध्ययन गराउने भएपछि उनी बंगलादेश गएका छन् । विकले फेब्रुअरीमा इन्ट्रान्स दिएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण उनले पूरै शुल्क तिरेर अध्ययन गर्ने अवस्था थिएन । आमा काली विकले नगरपालिकाले सहयोग गरेपछि छोरालाई डाक्टर बनाउने आफ्नो चाहना पूरा भएको बताइन् ।


छोराले इन्ट्रान्स दिन्छु भनेर कर गरेपछि कर्जा गरी त्यहाँ पठाएको उनको भनाइ छ । ‘गरिबका छोराछोरी पनि डाक्टर बन्ने दिन आए,’ उनले भनिन्, ‘गाउँमै सरकार आएपछि त्यो पूरा भयो, उसले पढाइ सकेपछि जिल्लामै सेवा गर्ने वचनसमेत दिएको छ ।’


काली भारी बोकेर जीविकोपार्जन गर्दै आएकी छन् । उनका अनुसार ६ वर्षे पढाइका लागि २४ लाख रुपैयाँ खर्च हुने अनुमान छ । घरखर्च धान्नै धौ–धौ भइरहेको अवस्थामा त्यत्रो रकम बुझाउन आफूहरूले नसक्ने भन्दै नगरको सहयोग मागेको उनले बताइन् ।


‘मेरो छोरा पनि डाक्टर बन्ने भयो, नगरले दिएको केही रकमले पहिलाको ऋण तिर्‍यौं,’ उनले भनिन्, ‘हाम्रै कमाइले छोरालाई डाक्टर पढाउन असम्भव थियो, नगरले ठूलो गुन लगायो ।’


खाना खर्च र शुल्कबापत विकलाई ५ लाख दिएको नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार दोस्रो वर्षका लागि थप ५ लाख रुपैयाँ दिइनेछ ।


विपन्न अभिभावकका छोराछोरीले इन्ट्रान्स उत्तीर्ण गरेपछि उनीहरूको पढाइ खर्च व्यहोर्ने नगरपालिकाको नीति रहेको शाहीले जनाए ।


‘बढी खर्च लाग्ने डाक्टर, पाइलट, इन्जिनियरलगायत विषयमा विद्यार्थीले नाम निकालेपछि नगरले आवश्यक खर्चको व्यवस्था गर्नेछ,’ उनले भने, ‘२ वर्षका लागि आवश्यक रकमको व्यवस्था मिलाइसकेका छौं, कोर्स पूरा नहुन्जेल आवश्यक रकमको प्रबन्ध गरिनेछ ।’


उनका अनुसार नगरपालिकाले यसका लागि यस वर्ष ९ लाख रुपैयाँ छुटयाएको छ । नगरपालिकाका अनुसार चिकित्सा शिक्षा अध्ययन गर्ने उनी पहिलो दलित विद्यार्थी पनि हुन् । जिल्लामा गैरदलितबाट ३ जनाले एमबीबीएस उत्तीर्ण गरिसकेका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?