कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१० लाखबराबरको मरिच गायब !

लक्ष्मी साह

बारा — सर्लाही परवानीपुर १ का चन्द्रबहादुर थापा गत आइतबार कलैयाबाट ना४च २२६१ नम्बरको पिकअप भ्यान लिएर वीरगन्ज गए । ५ हजार भाडा कबुल गरेर गएका थापाले वीरगन्जको स्वीमिङ पुल नजिकको एक गोदामबाट २० क्वीन्टल कालो मरिच लोड गरे ।

१० लाखबराबरको मरिच गायब !

उक्त गोदाम सिम्रौनगढका ‘सुभाष’ भन्ने व्यापारीको नाममा थियो । पिकअप भरिएपछि उनी दिउँसो साढे २ बजे सिम्रौनगढ बजारतर्फ हिँडे । सिम्रौनगढ बजार जान कलैया हुँदै जानुपर्ने । थापाले पिकअप अगाडि बढाउँदै गर्दा मुर्लीचोक नपुग्दै मोटरसाइकलमा आएका दुई जनाले पिकअप रोक्न लगाए ।


‘क्राइम ब्रान्च’ (अपराध शाखा) को प्रहरी हुँ भन्दै दुबैले चालक थापासित पिकअपको साँचो, मरिचको भ्याट बिल, ५ हजार नगद, ब्लुबुक खोस्यो । र, थापालाई जबरजस्ती बाइकमा बसाएर ५/६ किमि पश्चिममा पर्ने ड्राइपोर्टतर्फ लग्यो । पिकअप त्यही मुर्लीचोकमै छाडे । ड्राइपोर्टको व्यस्त सडक छेउ लगेर थापालाई केहीबेर राखे । एकैछिनमा 'गाडी लिएर छिटो भाग, नभए खतरा हुन्छ' भने । ती समूहले पिकअप ड्राइपोर्ट पुऱ्याएर पार्किङ गरिसकेका थिए । दुवैले चालक थापालाई पिकअप देखाए । थापाले गाडी त पाए तर लोड गरिएको मरिच गायब । चालक थापालाई नियन्त्रणमा लिएर मरिच गायब गरेको रहेछ । ती व्यक्तिहरुको धम्कीबाट डराएका चालक थापा रित्तोहात सोझै पिकअप धनीको कलैयास्थित घरमा पुगे । र, घटना विवरण सुनाए ।


घटनाबारे बुझेपछि पिकअप धनीले व्यापारी सुभाषलाई फोन गरे र पछि उनीसहित १० जना जिल्ला प्रहरी कार्यालय वीरगन्ज पुगे । एसपी रेवती ढकाल र क्राइम ब्रान्चको इन्सेक्टरलाई भेटे । प्रहरीले त्यही बेला चालक थापालाई नियन्त्रणमा लियो । दुईदिन हिरासतमा राखेर तेस्रो दिन ३० असोजमा उनलाई छाड्यो । तर, मरिच अझै गायब नै छ । व्यापारी र प्रहरीले चालकमाथि शंका गरिरहेको छ । चालकले आफ्नो संलग्नता इन्कार गरिरहेका छन् । चालकको इन्कारीमाथि पिकअप भ्यान धनी कलैया उपमहानगरपालिका १ का रामबालक साह तेली पनि सहमत छन् ।


प्रहरी उपरिक्षक रेवती ढकालले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरेका छन् । घटनास्थलमा सीसी क्यामराले कैद गरेको फुटेजमा भीडभाड देखाएकोले व्यक्ति चिन्न नसकिए पनि मरिच गायब गर्ने दुबै चढेको बाइकको नम्बर भने पहिचानमा आएको प्रहरी स्रोतले बतायो । यसरी नाटकीय शैलीमा गायब भएको १० लाख मूल्य बराबरको २५ बोरा (२० क्वीन्टल) मरिचबारे न त प्रहरीले जिम्मा लिएको छ, न त अरु कसैले । यो घटना रहस्मय बनेको छ ।


घटना भएको चार दिन बितिसक्दा मरिचको अतोपतो छैन । पिकअप धनीसित व्यापारीले मरिचको मूल्य तिर्नुपर्ने दाबी गरिरहँदा भाडामा पिकअप दिएका धनीलाई अक्क न बक्क भएको छ । ‘व्यस्त बजारबाट दिनदहाडै नाटकीय शैलीमा गायब भएको मरिचबारे अनुसन्धान हुनुपर्छ,’ पिकअप धनी रामबालकले भने, ‘चालकलाई प्रहरीले अनाहकमा थुने, व्यापारीले कुटे । यो अन्याय हो ।’

एसपी ढकालले पीडित पक्षका चालक र पिकअप धनीले प्रहरी हुँ भन्दै मरिच गायब गरेको विषय आफूलाई नसुनाएको प्रतिक्रिया दिएका छन् । ‘अनुसन्धान गर्दै छु । अनुसन्धान भइसकेपछि पुरै बताउँछु,’ उनले भने, ‘प्रहरी संलग्नता पाइए बर्खास्त गर्छु ।’

प्रकाशित : आश्विन ३१, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?